केही कम्पनीहरुले दिने सेवा वा ल्याउने अफर पनि अचम्मका हुन्छन् । चीनको एउटा अनलाइनमार्फत वस्तु तथा सेवा बिक्री गर्ने कम्पनीले यस्तै अनौठो सेवा सुरु गरेको छ । ताओबाओ डटकम नामको अनलाइन कम्पनीले एक्ला तरुनीका लागि भाडामा तन्नेरी खोजिदिने सेवा सुरु गरेको हो । घरमा बाउआमाले बिहेको कुरा गरेर कचकच गरिरहेको तर आफूलाई अहिल्यै बिहे गर्ने मन नभएका तरुनीहरुका लागि यो सेवा लक्षित छ । साथै व्वायफ्रेण्ड पनि खोज्न नसकेको भनेर साथीहरुले होच्याउने खतरा टार्ने चाहने कामकाजी ठिटीहरुका लागि पनि यो सेवा लाभदायी हुनेछ ।
आउँदो चिनिया नयाँ वर्षको समयमा जतिबेला त्यहाँ लगनको मौसम तथा पारिवारिक पुनर्मिलन हुन्छ त्यसबेला यो सेवा निकै चल्ने आशा कम्पनीका रहेको छ । त्यसबेला धेरै तरुनीहरुले आफूमार्फत भाडामा ब्वायफ्रेण्ड लिएर आफ्ना बाबुआमालाई आफ्नो केटा साथी रहेको देखाउँदै तत्कालको लागि बिहे टार्न सफल हुनेछन् । यसरी भाडामा लिइने तन्नेरीहरुलाई केटीहरुले आफूखुसी प्रयोग गर्न पाउनेछन् । भाडाका ठिटाहरु साहु तरुनीको नक्कली ब्वायफ्रेण्ड बनेर तरुनीले जसो भन्छे उसै गर्नुपर्नेछ, संगै सपिड जानुपर्नेछ, खाना खानुपर्नेछ, युवतीका आफन्त, साथीभाई तथा बाबुआमासंग भेटघाट गर्दै डिच्च दाँत देखाउनु पर्नेछ र तरुनीले चाहेको बेला चुम्बन पनि गर्नेपर्नेछ । यी भाडाका तन्नेरीहरुले यसरी दुई दिनको प्रेमी बनेबापत मोटो रकम पाउनेछन् । यिनीहरुलाई घन्टाको आधारमा भाडामा लिने युवतीहरुले रकम भुक्तानी गर्नुपर्नेछ ।

No comments:
Post a Comment