कमलरी अवस्था बुझ्दै जर्मन नायिका

सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, ३ माघ ।
    कञ्चनपुरका मुक्त कमलरीहरूको अवस्थाबारे बुझ्न र थारु संस्कृतिबारे जानकारी लिन जर्मन नायिकासहितको तीन सदस्यीय टोली थारु बस्तीमा पुगेको छ । कमलरी प्रथा उन्मूलन कार्यक्रमअन्र्तगत मुक्त गरिएका कमलरी बालिकाले भोग्नु परेका पीडा र हालको अवस्थाबारे जानकारी लिन सो टोली यहाँ आएको हो । टोलीमा जर्मन नायिका क्यारजा रिमन, फोटोग्राफर सेन्ड्रा गेट्के र  प्लान इन्टरनेनल जर्मनीका कर्मचारी एन्टजे स्क्रुडर रहेका छन् । नायिका रिमन जर्मनीको चर्चित नायिका रहेको र उरुले दर्जनौं जर्मनी चलचित्रमा अभिनय गरिसकेको बताइएको छ ।
    टोलीले पिपलाडी गाविस–४ लक्ष्मीपुरका मुक्त कमलरी बालिकासंग छलफल गरेको छ । छलफलमा मुक्त कमलरी बालबालिकाले कमलरी बस्दाका पीडा र हाल आर्थिक विपन्नताका कारण भोग्नु परेका समस्याबारे टोलीका सदस्यलाई जानकारी गराएका थिए । नायिका रिमनले लक्ष्मीपुरका थारु समुदायले आयोजना गरेको मघौटा नाचसंगै थारु संस्कृतिबारे जानकारी लिएको प्लान नेपाल क्षेत्रीय कार्यालयका प्रमुख प्रेम पन्तले बताए ।
    ‘यहाँको थारु समुदाय संस्कृतिका हिसाबले धनी रहेछ’ नायिका रिमनले थारु मघौटा नाच हेरेपछि भनिन्, ‘आफ्नो देशमा फर्केपछि थारु संस्कृतबारे जानकारी दिन्छु ।’ मुक्त कमलरी बालिकाका लागि पुनस्र्थापनाका कार्यक्रमको अझै खाँचो रहेको प्लान इन्टरनेशनलकी कर्मचारी स्क्रुडरले बताइन् ।
    यसैगरी, सोही टोलीले झलारी गाविस–५ मा मुक्त कमलरीले संचालन गरेको सहकारीबारे जानकारी लिएका छन् । प्लान नेपालको निम्तोमा सो टोली यहाँ आएको हो ।

No comments:

Post a Comment