अर्को वर्ष भारतले २ सय मेगावाट विद्युत दिने

सुर्खेतपत्र संवाददाता 
काठमाडौं, १५ माघ ।
    भारतले अर्को वर्ष नेपाललाई २ सय मेगावाट बिजुली दिने भएको छ । भारतीय राजदूत जयन्त प्रसादले बिहारमा ब्रिड कनेक्टिभिटी बढाउन लागिएकाले यसबाट नेपाललाई २ सय मेगावाटसम्म बिजुली दिनसक्ने जानकारी दिएका हुन् । अहिले भारतले १ सय देखि १ सय ४० मेगावाट विजुली दिंदै आएको छ ।
    भारतमा जुन क्षेत्रमा बिजुली अभाव छ, त्यहीबाट नेपाललाई बिजुली दिइरहेकाले आफूहरुलाई पनि सजिलो नभएको उनको भनाइ छ । ‘यति हुँदाहुँदै पनि भारतले विहारमा ब्रिड कनेक्टीभिटी बढाएर नेपालको लोडसेडिङ घटाउन सघाउ पुर्‍याउने छ,’ उनले भने, ‘यसबाट आगामी वर्षमा नेपालमा हुने लोडसेडिङ १० घण्टाभन्दा कम समयमा झर्ने आशा छ ।’
    तर नेपालले आफूसंग भएको जलस्रोतको सदुपयोग गरी भारतलाई समेत निर्यात गर्ने गरी बिजुली उत्पादन गर्न आवश्यक रहेको उनको जोड थियो । ‘खोलाका पानी यत्तिकै बगेर गइरहेको छ,’ उनले भने, ‘यसको सदुपयोग गरी नेपालले आफ्नो लागि प्रयोग गर्नपुग्ने र भारतलाई निर्यात गर्नसक्ने बिजुली उत्पादन गर्न जरुरी छ ।’ विद्युत उत्पादनले नेपालको व्यापार घाटालाई न्यून बनाइदिने पनि उनले उल्लेख गरे । ‘अहिले नेपालमा सबैभन्दा बढी तेल आयात भइरहेको छ । यसले अन्य वस्तुहरुमा पनि प्रभाव पार्ने भएकाले बिजुली उत्पादन नै यहाँको लागि सबैभन्दा ठूलो कुरा हो,’ उनले भने ‘जलविद्युतमा आत्मनिर्भर भए नेपाल एशियाकै धनी मुलुकमा पर्नेछ ।’
    कार्यक्रममा नेपालको व्यापार क्षेत्रलाई विस्तार गर्न भारतले नयाँ ठाउँ खुला गर्न पहल गरिदिन व्यवसायीहरुले माग गरेका थिए । राजदुत प्रसादले ३ वर्षअघि नै नेपाल सरकारलाई विषाखा–पटनमलाई प्रयोगमा ल्याउन भारतले पत्र पठाइसकेको बताए । ‘पहिले नै खुला गरिएको ठाउँ प्रयोगमा आएको छैन,’ उनले भने ।
 

No comments:

Post a Comment