बस व्यवसायीबीच विवाद

सुर्खेतपत्र संवाददाता 
धनगढी, १५ माघ ।
    कैलालीमा मालिका यातायात व्यवसायी समिति नामको नयाँ संस्था दर्ताको प्रयास थालिएसंगै व्यवसायीबीच विवाद उत्पन्न भएको छ । यो विवादसंगै प्रस्तावित मालिका यातायातमा आबद्ध व्यवसायीका करिब रु. ७ करोड मूल्य वरावरका वातानुकूलित  बसमा गरिएको लगानी अन्यौलमा परेको छ । समितिमा आबद्ध ८० जनाले यातायातमा लगानी गरेर व्यवसाय गर्ने योजनास्वरुप तत्काल २८/३० वटा बस ल्याइसकेको  भएपनि अन्य बस व्यवसायीले समिति दर्ता गर्न नदिएर बखेडा गरेकाले अन्योल देखिएको प्रस्तावित मालिका यातायातका अध्यक्ष वीरेन्द्र खड्काले गुनासो गरे ।
    ‘जिल्ला प्रशासनमा बस समिति दर्ताका लागि प्रक्रिया पुर्‍याएर निवेदन दिएको लामो समय भइसक्दा पनि अहिलेसम्म दर्ता हुन नसकेकाले व्यवसायीमा थप अन्यौल बढेको छ,’ खड्काले गुनासो गरे । कानुन बमोजिम समिति दर्ता गरी रुट इजाजत लिन भने पछि नपर्ने खड्का बताउँछन् । यता सुदूरपश्चिमाञ्चल बस तथा मिनीबस व्यवसायी समिति भने छुट्टैरूपमा नयाँ बस व्यवसायी समिति दर्ता गर्दा त्यसले व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुने भइ सबै व्यवसायीको व्यवसायमा प्रतिकूल असर पुग्ने दाबी गर्दै आएको छ ।
    ‘सबै व्यवसायीको हितको लागि हामी नयाँ बस समिति दर्तावाहेकको अन्य सम्पूर्ण विकल्पमा जान तयार छौं,’ सुदूरपश्चिम बस व्यवसायी समितिका उपाध्यक्ष गणेश पाण्डेयले भने, ‘सबैले संस्थाभित्र आएर यसको मापदण्डअनुसार व्यवसाय गर्नसके व्यवसायी, मजदुर र उपभोक्ता सबैको हित हुने देखिन्छ ।’ सुदूरपश्चिमाञ्चल बस व्यवसायी समितिअन्तर्गत हाल संचालनमा रहेका ४ सय ५० बसमा करिब रु. ५ अर्ब लगानी रहेको छ । खासगरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिले नयाँ संस्था दर्ताको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि यातायात व्यवसायीबीच विवाद चर्किएको हो । महासंघले हाल पर्याप्त संख्यामा माइक्रोबस, मिनीबस, जीप, बसहरू संचालनमा रहेकाले नयाँ संस्था दर्ता गर्दा अस्वस्थ प्रतिस्पर्धा बढ्ने तथा मजदुरहरूबीच अनावश्यकरूपमा प्रतिस्पर्धा बढ्न गइ दुर्घटना बढ्नसक्ने दाबी गर्दै संस्था दर्ता नगर्न माग गरेको छ ।
 

No comments:

Post a Comment