कालिकोटमा मासिक ४ करोड रेमिट्यान्स

सुर्खेतपत्र संवाददाता 
कालिकोट, ३ माघ ।
    वैदेशिक रोजगारबाट मासिक करिब रु. ४ करोड रेमिट्न्यान्स कालिकोट जिल्लामा भित्रिने गरेको छ । कालिकोटको मान्ममा संचालित विभिन्न मनी ट्रान्सफरको काम गर्ने निकायले मासिक रूपमा सो रकम भित्रिएको बताएका छन् । जिल्लामा पहिलो पटक स्थापना गरिएको हिमचुली कृषि सहकारी संस्थाको मनी ट्रान्सफरको कारोबार अहिले दिनानुदिन बढ्दै गएको छ ।
    रकम भारी मात्रामा भित्रिएपनि कालिकोटमा कुनैपनि ठाउँमा उद्योग तथा आम्दानी हुने खालका व्यवसाय स्थापना भने हुन सकेका छैनन् । मान्मका परेक शाहीले कुखुरापालन गर्नुबाहेक अरु कसैले व्यवसाय संचालन गर्नसकेका छैनन् । जिल्लामा भित्रिएको रकम घरजग्गा कारोबारका लागि जिल्लाबाट बाहिरिने गरेको छ । कालिकोट जिल्लामा अहिले ७ वटा मनी ट्रान्सफरसम्बन्धी काम गर्ने विभिन्न निकायले सेवा दिइराखेका छन् । एक वर्षअघि विदेशबाट आएको रकम भुक्तानी लिन सुर्खेत जानुपर्ने समस्या जिल्लामा अहिले टरेको छ ।
    राष्ट्रिय वाणिज्य बैंकले केही वर्ष अघिदेखि विप्रेषण (रेमिट्यान्स) को कारोबार गर्दै आएको र हालैमात्र हिमचुली कृषि सहकारी संस्थाले अत्याधुनिक प्रणालीबाट सेवा सुरु गरेको रेमिट्यान्समा मासिकरूपमा ४ करोड रकम भित्रिएको रेमिट्यान्स शाखा प्रबन्धक मनिका बोहराले बताए । उनका अनुसार कालिकोटको मान्म संस्थाले प्रभु, हिमाल, वेस्टर्न युनियन, आइएमइका साथै बैंक अफ काठमाडौंले रेमिट्यान्स कारोबार संचालनमा ल्याएको छभने अन्य निजी व्यापारीले समेत कारोबार सुरु गरेका छन् ।
    कुनै समयमा पाँच करोडसम्म पुग्ने गरेको भएपनि सरदरमा चार करोड रकम मासिक रूपमा आउने गरेको बताइएको छ । एउटा मात्र बंैक रहेको कालिकोटमा रकम पठाउन र पाउन लाइन लागेर पनि कठिन हुने अवस्थामा रेमिट्यान्स संचालनमा आएपछि आफूलाई सहज भएको स्थानीय सेवाग्राहीहरू बताउँछन् ।
    आइएमइ सुरुवात भएकामा कालिकोट का ग्रामीण इलाका फुकोटका सेवाग्राही कमल महतरा यसअघि आफू सुर्खेत गएर रकम ल्याउँदा खर्च दोब्बर लागेकामा अब आफूहरूलाई सहज भएको बताउँछन् । हाल कालिकोट जिल्लामा विदेश जान युवाहरूले घरखेत पनि बेच्ने गरेको पाइएको छ ।
 

No comments:

Post a Comment