बाँकेमा प्रशोधित पानी उद्योग फस्टाउँदै

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, ३ माघ ।
    बाँकेमा प्रशोधित पानी उद्योग फस्टाउँदै गएको छ । हेन्डपम्पको पानी अशुद्ध हुने भएका कारण प्रशोधित पानीको माग बढेको उद्योगीहरुले बताएका छन् । पानी उद्योग संघ बाँकेका अनुसार, नेपालगन्जमा १४ र कोहलपुर क्षेत्रमा ४ गरी १८ वटा पानी उद्योग अहिले संचालनमा छन् । २७ वटा पानी उद्योग दर्ता प्रक्रियामा रहेको पानी उद्योग संघका अध्यक्ष मिस बाहुल अन्सारीले बताए ।
    बैशाख र जेठ महिनामा उपभोक्ताको माग अनुसार पानी पुर्‍याउनै समस्या हुने संचालकहरू जिकिर गर्छन् । तर जाडोयाममा भने उत्पादन घटाउनुपर्ने बाध्यता छ । ‘१२ महिना मध्ये तीन महिना (मंसिर,पुस र माघ) अफ सिजन नै हो । गर्मी सिजनमा मेसिन चलाउन विद्युतले साथ दिएको खण्डमा खपत राम्रो हुन्छ,’ एक जना उद्योगीले भने ।
    गर्मी सिजनमा यहाँका उद्योगीले बाँके लगायत सुर्खेत, बर्दिया, कैलालीसम्म पानी खपत गर्छन् । अक्वारियो पानी उद्योग नेपालगन्जका संचालक रचना श्रेष्ठले गर्मीयाममा दैनिक ८ हजार लिटर पानी खपत गर्दै आएको बताइन् ।
    तर जाडो मौसम भएका कारण अहिले भने मुस्किलले १५ सय लिटर मात्रै खपत भएको उनले बताइन् । ‘दिनदिनै चिसो बढेकाले मानिसहरू कम मात्रामा पानी पिउन थाले,’ उनले भनिन्, ‘आवश्यकता भन्दा बढी संख्यामा पानी उद्योग संचालन हुनुपनि उत्पादन घट्नुको अर्को कारण हो । तर गर्मीमा यसको माग धेरै छ ।’
    नेपालगन्जस्थित औद्योगिक क्षेत्रमा संचालित क्रिष्टलो वाटर इन्डष्ट्रिजका संचालक कविन्द्र मास्केले मेसिन चलेपछि गर्मी महिनामा दैनिक ६ हजार लिटरसम्म पानी प्रशोधन गर्ने गरेको बताए ।
    अफ सिजनमा उत्पादन घटेपनि गर्मी महिनामा भने उत्पादन ज्यादै बढाउनुपर्ने बताए ।
 

No comments:

Post a Comment