फेसबुकमा राम्रो अनुहार परेकी केटी देख्नासाथ साथी बनाउने र च्याट गर्न तम्सिइहाल्ने युवाहरु धेरै छन् । च्याट त हो नि भन्दै सुरु गरेको मित्रता कतिपयले बिहेमै परिणतपनि गरेका छन् । राजीखुसीले भए त ठिकै हो, तर तपाईले एकदुईपटक च्याट गरेकी यस्तै फेसबुक साथी तिम्री पत्नी हुँ भन्दै घरमै पुगे के गर्नु ? यस्तै परिबन्दमा परेका छन धनकुटाका हेमकर्ण कोइराला । चार बर्ष अघि रोजगारीका सिलसिलामा कतार पुगेका मौनाबुधुक—८ धनकुटाका हेमकर्ण अहिले सामाजिक फन्दामा परेका छन् ।
चार महिनाअघि फेसबुकमा भेटिएकी २२ बर्षीया सविता अधिकारी आफू कोइरालाको पत्नी भएको दावी गर्दै उनको घर आएर बसेपछि हेमकर्ण अनौठो संकटमा परेका छन् । काठमाडांैमा टेम्पोचालक रहेकी अधिकारीले कोइरालासंग फेसबुकबाटै लभ परेको र आफुलाई पत्नी बनाउने आश्वासन दिएको दावी गरेकी छन् । पछिल्लो समय कोइराला बेपत्ता भएकाले सोधखोज गर्दै उनको घरमै आइपुगेको अधिकारीको भनाइ छ । महिलाहरुको भावनामा खेलवाड गरेको भन्दै उनले श्रीमती नबनाएसम्म घर नफर्किने अडान लिइरहेकी छिन् । कोइरालाले बाचाअनुसार सिन्दुर नहालेसम्म आफ्नो ठेगानासमेत नबताउने अड्डी लिएकी छन् ।सविताले धनकुटा प्रहरी र मानवअधिकारकर्मीलाई सुनाइरहँदा तीन दिन अघिमात्र घर आइपुगेका हेमकर्ण सवितासंग लभ नपरेको र बिहे गर्छु भनेर आश्वासनपनि नदिएको दावी गर्दै थिए । आफू कतारमा रहँदै सविता नामकी केटी घर आएर बसेको थाहा पाएपछि हतार हतार फर्किएको बताए । हेमकर्णले भने,
‘मैले बिहे गर्ने कुरा त परै जाओस्, चिनेको समेत छैन । अनि कसरी श्रीमती बनाउनु ?’ फेसबुकमा सविताले नै रिक्वेष्ट पठाएको र सामान्य परिचयमात्र भएको हेमकर्ण बताउँछन् । आफू
र आफ्नो परिवारलाई बदनाम गर्न मात्र सबिताले यस्तो हर्कत गरेको कोइरालाले बताए । हेमकर्णले श्रीमतीका रुपमा स्वीकार नगरेपछि उनले सदरमुकाम आएर प्रहरी र मानवअधिकारकर्मी गुहारेकी छन् । महिला मानवअधिकार संजालले सोमबार कोइरालाको परिवारलाई बोलाएर छलफलसमेत गर्यो । हेमकर्णको दाजु टीकाले महिलाले सबिताको पक्ष लिएर झुक्याउन खोजेको गुनासो गरे । अहिले सबिता मानवअधिकार संजालको संरक्षणमा छिन् ।
No comments:
Post a Comment