ग्राहक ठग्ने होटलहरुलाई कारबाही गर्ने तयारी

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १७ माघ ।
    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर क्षेत्रका बसपार्क, चप्परगौडी, दशविगाह क्षेत्रमा संचालित होटलहरुले यात्रु तथा सर्वसाधारणबाट मनपरी मूल्य लिने, मिसावट र अखाद्य पदार्थको विक्री गर्ने गुनासो आइरहेका बेला स्थानीय होटल संचालकहरु उपभोक्ता ठगी नियन्त्रणको प्रयास सुरु गरेका छन् । यहाँका होटल संचालकहरु विकृति रोक्न आफूहरु प्रतिबद्ध रहेको भन्दै होटल मेचीमहाकालीका संचालक चन्द्र भुषालको संयोजकत्वमा ११ सदस्यीय होटल अनुगमन समिति गठन गरेका छन् । गठित अनुगमन समितिमा यस क्षेत्रका होटल व्यवसायी, सरकारी निकायका प्रतिनिधि, प्रहरी प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
    अनुगमन समितिले राजमार्गमा यात्रु तथा सर्वसाधारणको ठगी र अखाद्य वस्तुको मिसावट नियन्त्रणमा सक्रियरुपमा लाग्ने संयोजक चन्द्र भुषाले बताए । राजमार्ग संचालित होटल तथा नास्ता पसलहरुबाट ठगी, अखाद्य, गुणस्तरहीनको कारोवार भएका घटना र गुनासा समाधानका लागि सरकारी निकायमात्र नसक्ने हुँदा स्थानीय नागरिकको सहभागिता र समन्वयमा विकृति रोक्न समिति निर्माण गरिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय नेपाल गन्जका प्रमुख वेदनाथ गौतमले बताए ।
    रागमार्ग क्षेत्रमा ठगी, मिसावट, अखाद्य वस्तुको व्यापार भइरहेको गुनासो आइ
रहेकोले स्थानीय होटल संचालकहरुकै अगुवाइमा अनुगमन समिति गठन गरिइएको हो । अनुगमन समितिले राजमार्ग क्षेत्रका होटलमा हुने ठगी र अखाद्य मिसावटको अनुगमन र कारवाहीका लागि सिफारिस गर्नेछ । केही होटल तथा नास्ता पसल संचालकहरुका कारण अन्यको पनि वेइजत र आरोप खेपिरहेकोले यात्रु ठगी नियन्त्रणमा समिति लाग्ने संयोजक भुषालले बताए । अनुगमन समितिले अव यस क्षेत्रका होटल, नास्ता पसलहरुमा सरसफाई, मूल्य सूची, खाद्य वस्तु,मापदण्ड पूरा भए नभएको लगायतको अनुगमन, निरीक्षण गर्ने र उपभोक्ता ठगी गरेको पाइएमा प्रहरीलाई जानकारी गराइ कारवाहीका लागि सिफारिस गर्नसक्ने छ ।
    मध्य र सुदूरपश्चिममा अखाद्य, मिसावट र कालो बजारी नियन्त्रणको जिम्मा पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय नेपालगन्जले यस्ता समस्या र विकृति नियन्त्रण गर्न राजमार्गमा पर्ने दाङको लमही, बाँकेको कोहलपुर, बर्दियाको बासगडी, कैलालीको कर्णाली पुल, सुर्खेतको छिन्चुमा स्थानीय होटल संचालकको अगुवाइमा अनुगमन समिति गठन गरेको छ ।

 

No comments:

Post a Comment