पहिले हातमा बन्दुक, अहिले दानापानी

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, ६ माघ ।
     १६ वर्षको उमेरदेखि अछाम रामरोशनबाट जनयुद्धमा होमिएर हतियारसंग दिन बिताएका मानबहादुर रोकाय अहिले बाँकेको कचनापुर–७ टीकुलीपुरमा गाईको गोबर सोहोर्दै, घाँसपात, दाना पानीदेखि गाई फर्मको सरसरफाइ गर्नमा व्यस्त देखिन्छन् । करिब १२ वर्ष जनमुक्ति सेनामा लागेका रोकाय ब्रिगेड भिसी पदसम्म रहेर चौथो डिभिजन नवलपरासीबाट स्वेच्छिक अवकाश लिए । अवकासपछि अब के गर्ने भन्ने विषयमा सहकर्मीसहित दुई महिना छलफल गरेपछि पश्चिम नेपालमा गाई फर्म नरहेको र बजार व्यवसायको सम्भावना रहेको र जग बसालेपछि परिवारले पनि संचालन गर्नसक्ने सम्भावना देखिपछि रोकायले गाई फर्म उचित ठाने र भूपू पिएलए नमूना गाईपालन फर्म संचालन गरेका छन् ।
    नौवटा माउ र छ वटा कोरेली बाछीसहित १७ वटा गाई  सुरुमा चितवन र भारतको गोरखपुरबाट ल्याइ तीनजना पूर्व लडाकूले यो व्यवसाय सुरु गरेका हुन् । करिब रु. २५ लाख बढी लगानीबाट सुरु यो व्यवसायले अहिले जिल्लामै चर्चा पाएको छ । गाउँलेको आग्रहमा छवटा बिक्री गरी पुन: चारवटा भारतबाट ल्याइएको छ ।
    विसं २०५८ बाट माओवादी लडाकूमा लागेका कालिकोट लालुका नरेन्द्र बोहोरा पनि अवकासपछि अहिले गाई फर्ममा बिहान ५ बजे उठेदेखि राति अबेरसम्म गोबर फाल्ने, गाई दुहुने, घाँस काट्ने र दानापानी गर्दैमा दिन बित्ने गर्छ । गाउँमै पूर्व लडाकूले व्यावसायिक गाईपालन सुरु गरेपछि गाउँलेहरूले समेत उत्साहित हुँदै गाई बिक्री गर्न आग्रह गर्ने गरेका छन् ।
    कृषि पेशामा समर्पित भएर समाजमा शिक्षामुखी र उदाहरणीय काम गर्ने योजनाका साथ गाई फर्ममा लागेको बोहारा बताउँछन् ।  फर्ममा रहेका गाईहरू करिब रु. ६५ हजारदेखि रु. १ लाख १० हजारमा चितवन र भारतबाट ल्याइएको छ  । एउटा गाईले दैनिक १० लिटर बढी दूध दिने गरेको र फर्मबाट दैनिक ५० लिटर दूध बिक्री हुने गरेको पूर्व लडाकू रामबहादुर केसीले बताए ।
    देश जनताको परिवर्तनका लागि युद्धमा लागेर कम्पनी कमाण्डरसम्म रही चौथो डिभिजन नवपपरासीबाट स्वेच्छिक अवकास लिएका केसीले भने, ‘कृषिप्रधान देशमा कृषिमा आत्मनिर्भर नरहेका कारण व्यवसायमुखी कृषि प्रणाली विकास गर्न र विदेशिएका लाखौं युवालाई राम्रो पाठ सिकाउन गाई फर्म सुरु गरेको हो ।’
    युद्धपछि शान्ति प्रक्रियामा आएको पार्टी नेतृत्वले सेना समायोजनका नाममा आत्मसमर्पण गरेको भन्दै स्वेच्छिक अवकास लिएका पूर्व लडाकूले गरेको गाई फर्म यतिबेला युवाका लागि गतिलो उदाहरण बनेको छ । यसरी स्वदेशमै बसेर पेशा व्यवसाय गर्न चाहने युवा वर्गलाई सरकारी तबरबाट समेत प्रोत्साहन, सम्मान र सहयोग गर्ने हो देशको कृषि निर्वाहमुखी मात्र नभई रोजगारीकै राम्रो सम्भावना क्षेत्र बन्ने उनीहरूको भनाइ छ ।
 

No comments:

Post a Comment