सरकारी उदासीनताले पर्यटकको संंख्या बढ्न सकेन

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १३ माघ ।
    सम्भावना हुँदाहुँदै पनि मध्यपश्चिमको पर्यटन विकासका लागि सरकारले केही नगरेपछि नेपालगन्ज नाका हुँदै भित्रिने पर्यटकको संख्या बढ्न सकेको छैन् । यो नाकाबाट भित्रिने भन्दा बाहिरिने पर्यटकको संख्या धेरै हुने गरेको छ । अध्यागमन कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष २०६८/०६९ मा नेपालगन्ज नाका भएर २ सय ८४ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिएभने ४ सय १० जना पर्यटक पूर्वी जिल्लाहरु घुमेर भारततर्फ गएका थिए ।
यस बर्षको नोभेम्बर महिनासम्म २ सय १७ जना पर्यटक जमुनाहा नाका भएर भित्रिएका छन्भने २ सय ६८ जना पर्यटक बाहिरिएका छन् ।  अध्यागमन कार्यालय नेपालगन्जका प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठले विगत ४ बर्षदेखि पर्यटक भित्रिने क्रम घट्दै गएको बताए ।
    अध्यागमन कार्यालय नेपालगन्जको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६६/०६७ मा ४ सय ५५ पर्यटक जमुनाहा नाका हुँदै नेपाल भित्रिएका थिए । आर्थिक वर्ष २०६७/०६८ मा ३ सय ३४ पर्यटकले मात्र यो नाका प्रयोग गरी नेपाल आएका थिए । आर्थिक वर्ष २०६५/०६६ भन्दा २०६६/०६७ मा यो नाका प्रयोग गर्ने पर्यटकको संख्या थोरै मात्र बढेको थियो । २०६५/०६६ मा ४ सय २२ जना पर्यटक भित्रिएका थिए । अध्यागमन कार्यालय नेपालगन्जका प्रमुख श्रेष्ठले पर्यटक भित्रिने क्रम बर्षेनी बढ्नुको सट्टा घट्नुको कारण यस क्षेत्रको पर्यटकीय बिकास नहुनुपनि रहेको बताए । ‘हुन त रारा ताल, डोल्पाको से–फोक्सुण्डो ताल जस्ता पर्यटकीय स्थल छन् । तर त्यहाँ नत होटल छन् नत त्यहाँसम्म जानका लागि भरपर्दो यातायायतको सुविधा नै,’ श्रेष्ठले भने ।
    नेपालगन्ज नाका हँुदै भित्रिएका पर्यटकहरु पनि धेरै जसो चितवन, पोखरा, काठमाडौं जस्ता पूर्वका पर्यटकस्थलमा रमाउन उतै जाने गरेको श्रेष्ठले बताए । केही बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेका छन् । धेरै भारतीय पर्यटकहरु नेपाल भित्रिएपनि मानसरोवर जानेहरुले मात्र ‘इन्ट्रि’ गर्ने हँुदा उनीहरुको वास्तविक तथ्यांक थाहा हुँदैन । नेपाल घुम्नका लागि उनीहरुलाई अध्यागमनमा ‘इन्ट्री’ गर्न बाध्य छैन । पैदल मार्ग हँुदै जमुनाहा आउने पर्यटकहरुमा अमेरिका, युके जस्ता पश्चिमा देशका छन् ।
    पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि मध्य तथा सुदूरपश्चिम हेर्ने सरकारी निकाय पर्यटन कार्यालय नेपालगन्जले मध्यपश्चिमको पर्यटकीय विकासका लागि दीर्घकालीन योजना नबनेसम्म जमुनाहा नाकाबाट आउने पर्यटकको संख्या नबढ्ने जनाएको छ । सुदूरपश्चिमको खप्तड आश्रम, मध्य पश्चिमको रारा ताल जस्ता चर्चित पर्यटकीय स्थलको अन्तर्राष्ट्रिय प्रचारप्रसार र पहाडी क्षेत्रमा यातायातको व्यवस्था नभएसम्म पर्यटक तान्न नसकिने सो कार्यालयले जनाएको छ । पश्चिमका पर्यटकीय विकासका लागि दुई वर्ष पहिले चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति गठन गरिएपनि उसले खास काम गर्न सकेको छैन ।
    होटेल अर्गनाइजेशन बाँकेका पूर्व अध्यक्ष भाष्कर काफ्लेले पश्चिमको पर्यटकीय विकासका लागि सरकारसंग स्पष्ट नीति नभएको बताए । नेपालगन्ज, सुर्खेत र दैलेखमा तारे होटेलहरु समेत संचालन भइरहेका छन् । तर पर्यटकको संख्या बढ्नुको साटो घट्दै गएपछि करोडौंको लगानी लगाएर होटेल खोलेका व्यवसायीहरुलाई निरास बनाएको पूर्व अध्यक्ष काफ्लेले बताए ।
 

No comments:

Post a Comment