नेपाल र भारतबीच भाषिक, सांस्कृतिक र सामाजिक समानता छ । दुई देशबीचको खुला सीमानाले पनि सम्बन्धमा सहजता र समानता पैदा गरेको छ । जसले गर्दा दुई देशका नागरिकबीच अन्य सम्बन्धका साथै पारिवारिक सम्बन्धसमेत छ । त्यस्तै, चलचित्र क्षेत्रमा पनि नेपाल र भारतको निकै पुरानो र नजिकको सम्बन्ध छ । यो सम्बन्धको एउटा प्रमाण हो, नेपाली चलचित्रमा देखिएका भारतीय अनुहार । नेपाली चलचित्रमा शालीन नायिकाको रुपमा परिचय बनाएकी निरुता सिंहलाई कमैले मात्रै भारतीय अनुहार भनेर चिनेका छन् । उनले नेपाली चलचित्र उद्योगलाई नै आफ्नो कर्मभूमि मानेकी छिन् । उनको बसोबास पनि नेपालमै छ । तर, उनको जन्म भारतीय भूमि दार्जिलिङमा भएको हो । चलचित्र ‘दक्षिणा’बाट नेपाली चलचित्रमा अभिनय यात्रा थालेकी निरुता निरन्तर नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।
धेरै नेपाली चलचित्रमा अभिनय गर्ने अर्की भारतीय अनुहार हुन् नायिका तृप्ति नाडकर । तुलसी घिमिरे निर्देशित चलचित्र ‘कुसुमे रुमाल’ बाट नेपाली चलचित्रमा अभिनय थालेकी यी भारतीय नायिकाको ‘साइनो’, ‘कोसेली’, ‘लाहुरे’जस्ता पुराना चलचित्र निकै चर्चित छन् । नाडकरले नेपाली चलचित्रमा अभिनय सुरु गर्नुअघि नै ‘चाँदनी सिम्पित जा’ नामको मराठी र ‘गोदाम’ नामक हिन्दी चलचित्रमा अभिनय गरिसकेकी थिइन् । उनी पछिल्लो समयसम्म पनि नेपाली चलचित्रमा अभिनय गरी नै रहेकी छिन् । ‘सपनाको नौलो संसार’, ‘पल’, ‘कोही मेरो’ आदि उनी अभिनित पछिल्ला नेपाली चलचित्र हुन् । नेपाली चलचित्रमा अभिनय गर्ने पहिलो भारतीय अनुहारको श्रेय पाएकी नायिका हुन् माला सिन्हा । उनले निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ मा नायिकाको भूमिका निर्वाह गरेकी थिइन् । यस चलचित्रमा भारतका चर्चित कलाकार सुनिल दत्त र राजेन्द्रनाथले पनि अतिथि कलाकारको भूमिका निभाएका थिए । सिन्हा त्यतिवेला नै भारतीय चलचित्र जगतमा समेत चर्चित भइसकेकी थिइन् । २०२३ सालमा प्रदर्शन गरिएको यो चलचित्रको अभिनयकै क्रममा भेटिएका नायक सिपी लोहनीसित उनको विवाहसमेत भयो । चलचित्र ‘चिनो’, र ‘भाउजु’मा उनले अभिनय गर्ने भन्ने चर्चा मात्रै भयो । तर ‘माइतीघर’पछि उनी नेपाली चलचित्रमा देखा परिनन् । भारतमा निकै लोकप्रियता पाएर पनि नेपाली चलचित्रमा अभिनय गर्ने भारतीय अनुहारमा माला सिन्हापछि डेनी डेन्जोम्पाको नाम आउँछ । उनले निर्देशक प्रताप सुब्बाले बनाएको चलचित्र ‘मसाल’मा अभिनय गरेका छन् । त्यस्तै, उनले ‘साइनो’ चलचित्रमा पनि नायकको भूमिका निर्वाह गरेका छन् । ‘साइनो’का निर्देशक उगेन छोपेल डेनीका आफ्नै भान्जा पनि हुन् ।

No comments:
Post a Comment