घरेलु हिंसापीडित दीपाको जीवन कहालीलाग्दो मोडमा

सुर्खेतपत्र संवाददाता 
जुम्ला, १७ माघ ।
    चार वर्षअघि बोतामालिका–८ जुम्लाका गोविन्द रावतसंग बाध्यकारी विवाह गर्न पुगेकी दीपा रावतको जीवन घरेलु हिंसाका कारण अहिले कहालीलाग्दो मोडमा पुगेको छ । डाँडाखाली–५ सुर्खेत जन्मघर भएकी दीपाको घरमा बाबुको मृत्यु र आमाको मानसिक अवस्था बिग्रिएपछि पारिवारिक वातावरणमा ग्रहण लागेको थियो । आफ्नै घरमा दाजु भाउजु भएपनि बस्ने वातावरण सहज नभएपछि आफू सुर्खेत इत्राममा फुपु भीमकला थापासंग बस्दै आएको उनी बताउँछिन् । यही क्रममा सुर्खेतमा होटेल व्यवसाय गर्दै आएकी जुम्ला शनिगाउँ निवासी रूपक्यौडा थापासंग भेट हुँदा उनले आफूलाई जुम्लाका एक धनी र असल केटासंग विवाह गराइदिन्छु भनेपछि आफू आश्वस्त भएको उनको भनाइ छ ।
    पछि होटेल व्यवसायी थापाले जुम्लाबाट केटा मगाइ सो केटासंग कुनै परिचय नै नगराइ सुर्खेतबाट हवाई जहाजद्वारा सोझै जुम्ला भगाइ कोही कसैलाई नभन्नु भनी सल्लाह दिएको उनी बताउँछिन् । जुम्ला पुगेको धेरै समयपछि मात्र आफ्नो पति भनिएको व्यक्ति आंशिक दृष्टिविहीन रहेको थाहा पाएको बताउने दीपाको डेढ वर्ष पतिसंग टकरावमै वित्यो ।
    जब दीपाको गर्भमा बच्चा रहेको पति गोविन्द रावतलाई थाहा भयो, त्यसपछि दीपाका दु:खका दिनहरू सुरु भए । केही समयपछि दीपाबाट एक छोरी जन्मिइन्, तर रावतले ‘यो छोरी मेरो होइन, जसको हो त्यसै कहाँ लग, म तँलाइ श्रीमती बनाएर राख्न सक्दिन’ भन्दै गाली र कुटपिट गर्दा पनि दुई वर्षसम्म सहेर बसेको उनी बताउँछिन् । घरमा सासु र समाजका अन्य भद्रभलाद्मीले आफूलाई धेरै सहयोग गर्दापनि पतिबाटै पीडा सहन नसकेर दुई वर्षकी छोरी छोडी करिब एक महिना अगाडि घर छोडेर इलाका प्रहरी चौकी हाडसिंजाको सम्पर्कमा आएको दीपाले बनाइन् ।
    त्यसपछि हाडसिंजा प्रहरी चौकीमा पीडक पक्षका मान्छेहरू कसैलेपनि पीडित दीपाको जिम्मा नलिएपछि प्रहरीले पुस २१ गते विराट–९ सिंजामा रहेको सामुदायिक सेवा केन्द्रकी अध्यक्ष संजु उपाध्यायको जिम्मामा दीपालाई सुम्पेको थियो । उनको जीवनको रक्षा र भविष्यको सुनिश्चितताका लागि अध्यक्ष उपाध्यायले पीडित दीपालाई सदरमुकाम ल्याएपछि महिला तथा बालबालिका कार्यालयले कुनै वास्ता नगर्दा झन् पीडा थपिएको अध्यक्ष उपाध्यायले बताइन् ।
    प्रहरीको महिला तथा बालबालिका निकायले पनि दीपालाई जिल्ला सेवा केन्द्र जान सिफारिस गर्‍यो । स्यानीय विकास अधिकारी अर्जुनकुमार थापाले पनि कुनै ठोस निर्णय दिन नसकेपछि जिल्ला सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठले आश्रयको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालय जुम्लामा लगिन् । त्यहाँ प्रजिअ हरि प्याकुरेलले अल्पकालीन आश्रयका लागि सेवा केन्द्रकी अध्यक्ष श्रेष्ठलाई राख्न सल्लाह दिंदै पीडित दीपालाई न्याय दिलाउन यथासिघ्र कारबाही अगाडि बढाउन सरोकारवालाहरूसंग तत्काल छलफल गरिने बताएका छन् । पीडित दीपालाई केही समयका लागि घरेलु हिंसा तथा यौनजन्य दुव्र्यवहारबाट प्रभावित महिलाका लागि आश्रयसहितको जिल्ला सेवा केन्द्रमा राखिएको छ ।
 

No comments:

Post a Comment