बृद्ध भत्ताले शौचालय

सुर्खेतपत्र संवाददाता 
बाजुरा, १७ माघ ।
    सदरमुकाम नजिकैको एउटा गाउँ जहाँ वरिपरि डाँडाकाँडाले घेरिएको छ । कच्ची सडकवाटोले छोएको छ । गाउँको वीचमा एउटा झुपुडी छ त्यही झुपडीमा बुढी बज्यैको बास छ । अरुको साहरामा बाँच्नुपर्ने अवस्थामा एउटा अपांगको साहारा बन्नु परेको छ । स्वास्थ्य अवस्था होस या आर्थिक अवस्थाले उनले शौचालय बनाउने अवस्था नै थिएन गाउँले गरेको निर्णय मान्नैपर्ने गाउँलाई खुला दिसामुक्त बनाउने अभियानले उनलाई छुट दिएन ।
    आफूले पाउने भत्ताबाट उनले शौचालय बनाएकी छन् । हुनपनि गाविस समेतले कार्यालयबाट दिने सेवामा रोक दिने तथा गाउँमा समेत वन लगायत अन्य सेवामा रोक लगाउने भएपछि उनले शौचालय नबनाइ नहुने भएपछि उनले विहान वेलुका छाक टारेर पनि शौचालय निर्माण गरेकी छन् । यसरी शौचालय निर्माण गर्ने उनी हुन् मार्तडी–१ रजातोलीकी ७५ बर्षीया सुर्जा उपाध्याय । उनका छोराछोरी कोही छैनन् साथमा छोरीबाट जन्मेका एक अपांगमात्र छन् । साहराविहीन अवस्थाकी वृद्ध बज्यैले सामाजिक सुरक्षा भत्ताबाट घरको छाप्रो सरह नै शौचालय बनाएकी छन् ।
    तर सिमेन्ट खरिद र ढुवानी गर्न नसक्दा शौचालयको पेन राख्न सकेकी छैनन् । उनी त एक पात्र मात्र हुन जिल्ला अधिकांश एकल महिला, वृद्ध, बालबालिका समेत अहिले जिल्लालाई खुला दिसामुक्त बनाउन लागि परेका छन् । तर धेरैजसो हुने खानेले समेत शौचालय बनाउन पर्छभन्ने थाहा भएपनि कसैबाट राहतको अपेक्षा गरेर पर्खि बसेका छन् तर यी बज्यैले भने अरुलाई उदाहरण दिएकी छन् शौचालय बनाउन कुनै राहतको पखाईमा नै पर्खनु पर्छ भन्नेमा । बाजुरा जिल्लालाई विस. २०७१ सम्म खुला दिसामुक्त जिल्ला बनाउने कार्यक्रम अनुसार हालसम्म ६ वटा गाविस खुला दिसामुक्त गाविस घोषणा भइसकेका छन् । खुलादिसा मुक्त बनाउन छतारा गाविसले सुरुवात गरेपछि हाल जिल्लाका सवैजसो गाउँटोलमा यो अभियान सुरु भएको छ । स्थानीयवासीले शौचालय नभएका परिवारलाई समाजबाट बहिष्कार अभियान चलाएका छन् । निश्चित समयमा शौचालय नबनाए स्थानीय निकायबाट पाउने सुविधाबाट वञ्चित गर्ने घोषणाले पनि अहिले धेरैलाई प्रभाव पारेको छ । गाउँलाई खुला दिसामुक्त बनाउने अभियानमा स्थानीय राजनीतिक दल र सर्वपक्षीय अगुवाले समेत सहजीकरण गरिरहेका छन् । सरसफाईको अभियानमा जुटेका सेवक नेपालका अभियान कर्ता तेजराज उपाध्यायले भने जिल्लामा यो अभियान सफल पार्न घरदैलोमै गएर समुदायलाई सचेत पार्न लागेका छौ, धेरैले यसमा साथ दिएका छन् । शौचालय नहुनेलाई बनाउन दबाब दिएका पनि छौं भने ।
    उनी मात्र होइनन् हाल सरकारी, सहकारी वन उपभोक्ता समिति, आमा समूहलगायतको पहलमा अन्य दर्जनौ गाउँहरुमा धमाधम शौचालय निर्माण गर्नेक्रम दिनप्रति दिन बढिरहेको छ । यही कार्यको उदाहरणयीय पात्र सुर्जा उपाध्याय हुन् । उनी भन्छिन्, ‘म एकलपनि हुँ साहराविहीन पनि छु, भत्ताको पैसाले भएपनि शौचालय बनाइसके तर सिमेन्ट बोक्ने मान्छे नहुँदा काम अधुरै गरेर पनि काम चलाएकी छु ।’ यस्तै हाल यही अभियानलाई सफल पार्न बस्ती र बजार क्षेत्रमा र्‍याली एवं चेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।
    युएन हेविटेट सेवक नेपालको सहयोगमा जिल्लामा असक्त र गरीव परिवारलाई शौचालय समेत प्यान उपलब्ध गराइएका छन् । तर जिल्लाभर यो अभियान संचालन भएपनि जिल्ला सदरमुकामलाई भने यसले छुन सकेको छैन । यहाँ सवै सचेत व्यक्तिहरु बस्ने भएपनि यसको कुनै असर पर्न भने सकेको देखिदंैन । सहयोग नपाएका कतिपय परिवारलाई शौचालय बनाउने पैसा नभएकाले पनि गाविसले सुरु गरेको अभियानलाई पूरा गर्न सकिएको छैन । खुला दिसा गर्न नहुने र सरसफाईमा ध्यान दिने भन्ने थाहा पाएपनि गरिवीले सफल हुन नदिएका पनि उदाहरण यस जिल्लामा छन् ।
    शौचालय बनेका ठाउँमा पनि पानीको समस्याले पनि यो अभियानमा कतिपय गाउँहरुमा समस्या उब्जेको छ । यदि साँच्चै नै यो अभियान यसरी नै अघि बढ्ने होभने जिल्लाले बनाएको कार्यक्रम अगावै जिल्ला खुला दिसामुक्त हुने निश्चित छ । जिल्लाभर यो कार्यक्रम सार्थक भएमा बाजुरा साँच्चिकै प्राकृतिक सौन्दर्यमा मात्र होइन यहाँका वातावरण समेत मनमोहक हुने छभने बाजुरा अन्य जिल्ला भन्दा नमूना बन्नसक्ने देखिन्छ । यसका लागि सरसफाईसंगै खानेपानी निर्माण र वातावरणलाई हराभरा बनाउन वृक्षारोपण अभियान पनि थाल्नुपर्नेछ ।
 

No comments:

Post a Comment