३५ हजारका लागि साथीको हत्या

घटना मिलाउन १३ लाखको अफर, परिवारद्वारा अस्वीकार
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ माघ ।
    सानैदेखिका एकै ठाउँका मिल्ने साथीहरु पैसाका लागि शत्रु भए । त्यही पैसा बन्यो  एकजना मिल्ने साथीको हत्याको कारण । सुर्खेतको लाटिकोइली गाविस–५ का ३० बर्षीय शंकरबहादुर खड्कालाई गत पुस ७ गते उनकै साथीहरु शनिराम चौधरी र अमरबहादुर प्याकुरेलले हत्या गरे । चौधरी र प्याकुरेललाई प्रहरीले पक्राउ गरी अनुसन्धानमा राखेको छ ।
    शंकरबहादुरले खसी बेचेको ३५ हजार रुपैयाँ पाउनका लागि शनिराम र अमरबहादुरले हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीनै जना साथीहरु बहिरा हुन् । शंकरबहादुरको शव पुस ८ गते नजिकैको गेरुवा नालामा गाडिएको अवस्थामा फेला परेको सुर्खेतका प्रहरी प्रमुख एसपी विश्वनिरन्जन प्रधानले बताए ।
    शंकरका भाइ भीमबहादुरले पुस ११ गते चौधरी र प्याकुरेलको नाममा किटानी जाहेरी दिएपछि चौधरीलाई घरबाटै र प्याकुरेललाई प्युठानबाट पक्राउ गरिएको उनले बताए । अभियुक्तमध्ये चौधरीले घटना स्वीकार गरिसकेको तर प्याकुरेलले बयान उल्टो दिएको तर घटना र प्रमाणहरुले भने ऊ पनि संलग्न रहेको पुष्टि भएको जानकारी एसपी प्रधानले दिए ।
    घटना विवरण अनुसार पुस ७ गते अपांग समाजको बैठक बसेर घर फर्कने क्रममा बाटोमै खड्का, प्याकुरेल र चौधरीको भेट भइ मदिरा सेवन गरेको र राती पैसाका लागि हानाहान भएको थियो । लछारपछार गरिएको स्थानबाट करिव एक सय मिटर परको नालामा शंकरलाई पानी मुनि गाडेर माथिबाट ढुंगाले च्यापिएको अवस्थामा शव पाइएको एसपी प्रधानले बताए । शंकरको अनुहार र शरीरभरी निलडाम भएकोले दुवैजनाले कुटेर हत्या गरिएको देखिएको उनको भनाइ छ । एसपी प्रधानका अनुसार पैसाको लिने लोभमा सुनियोजित तरिकाले शंकरको हत्या भएको हो । त्यस्तै पोष्टमार्टम रिपोर्टले पनि कुटपिट गरेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।
    हत्यापछि प्याकुरेल प्युठान ससुराली गएका थिए । तर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी परेपछि यहाँ झिकाइएको प्रहरीले जनाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्दा चौधरीले घटना स्वीकारेको साविती बयान दिएपनि प्याकुरेलले भने स्वीकार नगरेको एसपी प्रधानले बताए । उनले प्याकुरेलले बयान नै उल्टै दिएको तर घटनाक्रम र प्रमाणले उसको संलग्नता रहेको प्रष्टै देखिने उल्लेख गरे । ससुराली जानका लागि पैसाको आवश्यकता प्याकुरेललाई परेकोले त्यही पैसा देखेपछि त्यसैका लागि हत्या भएको प्रहरीको
अनुमान छ ।
    उनीहरु दुवैलाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान थालिएको छ । शंकरको हत्या भएकोले कर्तव्य ज्यानमा जन्मकैद माग दावी गरिएको छ । मृतकका भाइ भीमबहादुरले सहकारी संस्थामा राख्न आएको पैसा संस्था बन्द भएपछि नलिएको र घर फर्कने क्रममा उनीहरुले देखेपछि हत्या गरेर लिएको दावी गरे ।
    यता उक्त घटना पैसामा मिलाउन पीडकका पक्षबाट चलखेल आएको मृतक शंकरका दाजु कृष्णबहादुर खड्काले बताए । उनले घटना मिलापत्र गराउन १२ देखि १३ लाख रुपैयाँसम्मको अफर भएको बताउँदै तर आफूलाई पैसा नभइ न्याय चाहिएको जनाए । आफ्नो अपांग भाइको हत्यामा संलग्नहरुलाई कारबाही भएको देख्न चाहेको खड्काले बताए ।
 

No comments:

Post a Comment