एमाओवादीसंग कति छ पैसा ?

समाचार एजेन्सी
काठमाडौं, १५ माघ ।
    आगामी साता हेटांैडामा हुने महाधिवेशनमा ५ देखि ८ करोड रुपैयाँ खर्चहुने बताइ रहेका एमाओवादी नेताहरु दिनहुँ भाडाको हेलिकोप्टरमा उडिरहेका छन् । कार्यकर्ताहरु देशैभरि चन्दा उठाइरहेका छन् । बिपक्षीले ‘एसियाकै धनी पार्टी’को आरोप लगाइ रहेका बेला माओवादीसंग कति होला पैसा ? वि.सं. ०६२/०६३ मा एमाओवादी जंगलबाट खुल्ला राजनीतिमा आउँदा सो पार्टीको वार्षिक बचत १५ हजार ४ सय ६० रुपैयाँ मात्र थियो । तर, ६ वर्षपछि सो पार्टीको बचत ४३ लाख ४१ हजार ७ सय ११ रुपैयाँ मात्र देखाइएको छ । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेलामा एमाओवादी शान्तिकालको सबैभन्दा धनी बन्न पुगेको थियो । १५ हजारबाट बढेर यो वर्ष एमाओवादीको बचत मात्रै ७७ लाख ७३ हजार ८ सय ५१ पुगेको थियो ।
    ६ वर्षको आर्थिक उतार चढाव निर्वाचन आयोगका अनुसार जंगलबाट आउँदा १५ हजारमात्रै बचत रहेको एमाओवादीको कन्तुरमा अर्काे वर्ष ह्वात्तै १४ लाख ९७ हजार ५ सय २२ रुपैयाँ बचत भएको थियो । शान्ति प्रक्रियामा आएको तेस्रो वर्ष माओवादीको वचत १४ लाखबाट तेब्रिएर ४३ लाख ७७ हजार ९ सय ६१ रुपैयाँ पुग्यो । २०६५/०६६ मा ७७ लाख बचत गरेको एमाओवादीले सरकारबाट ओर्लिएर सडकमा झरेपछि ठूलो घाटा खायो । यद्यपि पार्टी ऋणात्मक अवस्थामा चाहिँ गएन, ७७ लाखबाट झरेर २०६६/०७ को बचत रकम २३ लाख ३८ हजार ९३ सय ४२ मा सीमित भयो । तर, फेरि सरकारमा आएपछि एमाओवादीको बचत २० लाख बढेर ४३ लाख ४१ हजार ७ सय ११ रुपैयाँ पुगेको निर्वाचन आयोगमा देखाइएको छ ।
आम्दानी १३ करोड, खर्च १२ करोड
आयोगमा पार्टीले बुझाएको विवरण अनुसार पछिल्लो आर्थिक वर्ष एमाओवादीको वार्षिक आम्दानी १३ करोड २६ लाख ३८ हजार ४ सय ६ रुपैयाँ देखिएको छभने वार्षिक खर्च १२ करोड ८२ लाख ९६ हजार ६ सय ९५ रुपैयाँ देखिन्छ । जंगलबाट शान्ति प्रक्रियामा आएको वर्ष उसको वार्षिक खर्च १ करोड ४५ लाख ५१ हजार ५ सय ८० रुपैयाँमात्रै थियो । महाधिवेशनका लागि ५/८ करोड खर्च लाग्ने भन्दै देशव्यापी चन्दा उठाइरहेको एमाओवादीले २०६७/०६८ मा आफ्नै पार्टी सदस्य, समर्थन र जनवर्गीय संगठनबाट ६ करोड ८७ लाख ९४ हजार ३० रुपैयाँ आन्तरिक आम्दानी गरेको देखिन्छ ।
जति कमाएपनि कार्यकर्तालाई देखाउनु नपर्ने : 
दुई दशकसम्म महाधिवेशन नगरेको एमाओवादीले अहिलेसम्म आफ्ना कार्यकर्तालाई आर्थिक प्रतिवेदन बुझाएको छैन । प्रत्येक सम्मेलनमा राजनीतिक प्रतिवेदन पढेर सुनाउने गरिएपनि पैसाको मामिलामा नेताहरु अपारदर्शी रहने गरेका छन् । यही कारणले गर्दा ६ महिनाअघि भृकुटीमण्डपमा लडाकूबाट उठाएको पैसा खोइ भन्दै कार्यकर्ताले प्रचण्ड बाबुरामलाई कुर्सीले हान्ने प्रयास गरेका थिए । त्यसबेला लडाकूको पैसाबारे छानविन गर्ने बताएपछि स्थिति साम्य भएको थियो । यो विषयमा हेटौंडा महाधिवेशनमा पनि छलफल हुने स्रोत बताउँछ ।
आयोगमा वचत देखाइयो, पार्टीमा ऋण:
    निर्वाचन आयोगले हिसाब नबुझाउने दलको दर्ता खारेज गरिने गतवर्ष सूचना निकालेपछि अन्य दलहरुले जस्तै एमाओवादीले पनि बाध्य भएर ६ वर्षको हिसाब–किताब एकमुष्ट रुपमा आयोगमा बुझाएको हो । आयोगलाई देखाउनै पर्ने भएकाले आय–व्यय विवरण पेश गरिएपनि एमाओवादीको भित्री आम्दानी अझै पारदर्शी हुन सकेको छैन । एमाओवादीले निर्वाचन आयोगमा ४३ लाख बचत रहेको हिसाब बुझाएपनि हालै सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकमा भने लाखौं रुपैयाँ ऋण रहेको विवरण सदस्यहरु समक्ष सुनाएको छ । केन्द्रीय समितिमा जस्तै महाधिवेशनमा पनि केन्द्रीय कार्यालयले यसैगरी हिसाब–किताब पेश गर्ने एक एमाओवादी नेताले बताए ।
    सम्भवत: यो आर्थिक मुद्दाले यसपालिको हेटौंडा महाधिवेशनमा पनि भाँडभैलो हुने सम्भावना रहेको एमाओवादीकै कतिपय नेताहरुको बुझाइ छ । लडाकूका नाममा राज्यकोषको दुरुपयोगको मुद्दा कचल्टिएको अवस्थामा छ । जनमुक्ति सेनाबाट उठाएको करोडौं रुपैयाँ निर्वाचन आयोगमा बुझाइएको विवरणमा समावेश छैन । विधानत: पार्टीको केन्द्रदेखि तल्लो इकाईसम्म कोषाध्यक्षको व्यवस्था छैन ।
 

No comments:

Post a Comment