खडेरीका कारण हिउँदे बाली नष्ट

सुर्खेतपत्र संवाददाता 
कालिकोट, ६ माघ ।
    लामो समयसम्म वर्षा नभएका कारण कालिकोटको पलांता क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट हुँदा स्थानीयवासी चिन्तित भएका छन् । आकासे पानीको भर पर्नुपर्ने जिल्लाका पश्चिम क्षेत्रका गाविसमा लगाइएको गहुँ तथा जौबाली सुक्दै गएपछि समस्या भएको हो । वर्षाको समयमा लगाएको धान बालीमा पनि खडेरी र गवारो रोग लागेर उत्पादन घटेपछि यस क्षेत्रमा भोकमरीको समस्या बढेको स्थानीयवासी बताउँछन् ।
    बर्खे बालीमा पनि उत्पादन भएन, अहिले हिउँदे बालीमा पनि समस्या आउँदा बाँच्न गाह्रो भएको धौलागोहका स्थानीय छत्रबहादुर कार्कीले गुनासो गरे । बर्खे बाली नभए पनि हिउँदे बाली त होला भन्ने आशामा लगाएको गहुँको बीऊसमेत उत्पादन नहुने भएपछि ८० घरधुरी रहेको पुलांहा गाउँका स्थानीयवासी चिन्तित भएका कार्कीले बताए ।
     त्यसैगरी सदरमुकाम मान्मस्थित ताडी गाउँमा लगाएको गहुँ तथा तोरीको बोट फुल्न नपाउँदै सुकेपछि स्थानीयवासीको तोरी फल्ने आशा पनि निरासामा परिणत भएको छ । यसरी उत्पादननै नहुने भएपछि कसरी घरपरिवार धान्ने समस्या आएको मान्म ताडीका कृष्णप्रसाद धिताल बताउँछन् ।
    गत वर्ष पुस मसान्तमा भारी वर्षा भएर हिउँदे बालीको राम्रो उत्पादनले खुसी छाए पनि यस वर्षको खडेरीले समस्या बढाएको उनी बताउँछन् । कालिकोटका पलांता क्षेत्रका धौलागोह, खिन, नानीकोट, राम्नाकोट, थिर्पु, बदालकोट र पूर्वी क्षेत्रका भर्ता, सुकाटिया, मुग्राहालगायतका गाविसमा स्थानीयवासीले आकासे पानीको भरमा हिउँदे बाली लगाउने गरेका छन् । गतवर्ष भित्र्याउन लागेको अवस्थामा असिना पानीले जौ र गहुा बालीमा क्षति पुर्‍याएका कारण पनि जिल्लाका केही गाविसमा समस्या आएको थियो ।
 

No comments:

Post a Comment