हिमपातले जनजीवन प्रभावित

सुर्खेतपत्र संवाददाता 
जुम्ला, ७ माघ ।
    कर्णाली अञ्चलका डोल्पा, हुम्ला, मुगु र जुम्ला जिल्लामा यतिबेला भारी हिमपात भएको छ । हिमपातले सबै जिल्लाको लेकदेखि बेंसीसम्म सेताम्य भएको छ । कालीकोट जिल्लाको माथिल्लो भेगमा मात्र हिउा परेको छ भने तल्लो भेगमा पानी मात्र परेको छ । हिमपातले गर्दा स्थानीय जनताको दैनिक जीवनयापनमा कठिनाइ भएको छ । हिमपातले गर्दा सवारीसाधान तथा आवतजावत ठप्प भएको छ ।
    जिल्लाका तल्लो भागमा डेढ फिटसम्म हिउा परेको छ भने माथिल्लो भागमा चार फिट परेको छ । अकस्मात शनिवार राती सुरु भएको हिमपातले बिजुलीका तार चुँडाल्ने, खम्बा ढाल्ने गरेको छभने चिसो माइनस ८.५ डिग्री सेल्सियस भएपछि टेलिफोन, फ्याक्स, ग्यास चुल्होले पनि काम गर्न छाडेपछि स्थानीय जनतालाई समस्या भएको छ ।
    सरकारी तथा गैरसरकारी कार्यालय राम्रोसंग सुचारु हुन सकेका छैनन् । सेवाग्राही पनि कतै भेटिएका छैनन् । तर हिमपात भएपछि भने स्थानीय किसानलाई अब बाली उत्पादनमा सुधार आउने भयो भन्नेमा खुसीको लहर छाएको छ ।
    यद्यपि वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीेले भने यति नै हिउँले मात्र बाली उत्पादनमा सहयोग नपुर्‍याउने र फेरि पनि हिउँ आउन सकेमा मात्र किसानको आशा अनुसार बाली उत्पादन हुनसक्ने बताए ।
    यसैवीच हुम्ला जिल्लामा विगत तीन/चार दिनदेखि  लगातार आएको हिमपातले यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । सदरमुकाम सिमीकोटमा पाँच फिटसम्म हिउँ जमेपछि हवाई सेवा अवरुद्ध भएको छ । हिमपातले मानिसहरूलाई मात्र नभई पशुपालनमा पनि समस्या आएको छ ।
    ठूलो हिमपातले गर्दा सदरमुकाममा मानिसहरूको आवतजावत निकै कम भएको छ भने विद्युत् तथा मोबाइल सेवासमेत बन्द भएका छन् । माघ ६ गते चलेको हावा
हुरीले मानसरोवर बहुमुखी क्याम्पसको छात्रावासको छानासमेत उडाएको छ  ।
 

No comments:

Post a Comment