माओवादीले दवाव दिएपछि वन कार्यालय हच्कियो

सुर्खेतपत्र संवाददाता 
जाजरकोट, ७ माघ ।
    जाजरकोट सदरमुकाम खलंगामा वन फँडानी गरेर घरटहरा बनाएका अतिक्रमणकारीलाई हटाउन थालेको जिल्ला वन कार्यालय माओवादी दवावले पछि हटेको छ । अतिक्रमणकारीले सदरमुकाम आसपासका जंगलमा वन फँडानी गरी धमाधम घरटहरा बनाइरहेता पनि सम्बन्धित निकाय मौन रहेको ब्यापक जनगुनासो बढेपछि कार्यालयले पुस १७ गते केही घरटहरा भत्काएर अतिक्रमणकारीलाई हटाउने प्रक्रिया थालेको थियो ।
    तर सत्तारुढ एकीकृत माओवादी र नेकपा–माओवादीले घरटहरा नभत्काउन दवाब दिएपछि कार्यालय अतिक्रमणकारीलाई हटाउने अभियानबाट पछि हटेको हो । स्थानीय बासिन्दा, नागरिक समाज र संचारमाध्यमको चर्को दवावपछि कार्यालयले अतिक्रमणकारीलाई हटाउन थालेपनि दुवै माओवादी दवाबले कार्यालय पछि हटेको नेकपा एमालेका नगेन्द्र शाहले बताए । अतिक्रमणकारीलाई नहटाउँदा दण्डहीनता बढ्ने र वन फँडानी गरेर घरटहरा बनाउने कार्य अझै बढ्ने शाहको भनाइ छ ।
    विगत तीन/चार बर्ष अघिदेखि वन अतिक्रमण हुँदै आएपनि संक्रमणकालको फाइदा उठाउँदै अहिले अतिक्रमकारी ह्वात्तै बढेको स्थानीय बासिन्दाको भनाइ छ । दुवै माओवादीको साथ पाएर हौसिएका अतिक्रमणकारी समेत आफ्ना घरटहरा हटाउनु हँुदैन भन्दै केही दिन प्रदर्शनमा समेत उत्रिएका थिए । हटाउने कार्य स्थगित भएपछि अहिले पुन: घरटहरा बनाउने कार्य सुरु भएको स्थानीय शिवप्रसाद शर्माले बताए ।
    केहीवर्ष अघिमात्र चारैतिर हरियाली देखिने जाजरकोटको जंगल अहिले बढ्दो वन फँडानी र अतिक्रमणका कारण उराठ वन्दै गएको छ । स्थानीय प्रशासन, वन कार्यालयको उदासिनता तथा राजनैतिक दलको संरक्षणका कारण अतिक्रमणकारीहरु बलियो भएपछि सदरमुकाम र अन्य ठाउँको वन क्षेत्रमा अतिक्रमण बढेको हो । राजनैतिक दलको आड र मुलुकको संक्रमणकालको फाइदा उठाउँदै  गैर सुकुम्वासीहरुले समेत सदरमुकाम क्षेत्रमा वन अतिक्रमण गरेर घरटहरा बनाउन थालेपछि समस्या परेको हो ।
    कार्यालयका अनुसार २०६८ सम्म १ सय २९ जनाको र हालसालै मात्र ३१ जनाको गरी १ सय ६० जनाको अवैध रुपमा घरटहरा बनिसकेको छ र  सदरमुकाम खलंगाको ठाँटीवजार, थाप्लेचौर गैरीखाली वाहुनवाडा, स्याला माथिल्लो थाप्ले लगायतका वजारको मुख्य क्षेत्रमा अत्यधिक वन फँडानी भइरहेको छ  ।
 

No comments:

Post a Comment