संवैधानिक रिक्तताले मुलुक असामान्य: महत

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ माघ ।
    नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथ पूर्व अर्थमन्त्री रामशरण महतले संबैधानिक रिक्तताले मुलुकमा असामान्य स्थिति पैदा भएको बताए । उनले अहिलेको समस्याको समाधान राष्ट्रपतिले नै समाधान गर्नुपर्ने पनि जनाए ।
    नेपाली कांग्रेस सुर्खेतद्वारा आइतवार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य महतले संबैधानिक निकास दिन बहुमत राजनीतिक दलहरुको परामर्शमा राष्ट्रपतिले पहलकदमी लिनु बाहेक अर्को विकल्प नभएको बताए । उनले भने, ‘संविधानलाई क्रियाशील गराउन राष्ट्रपतिले पहल गर्नुपर्छ’ ।
    कांग्रेस केन्द्रीय सदस्य महतले बहुमत दलको समर्थन काँग्रेस सभापति कोइरालाका पक्षमा भएको हुनाले लोकतान्त्रिक पद्धतिको पुनस्र्थापनाका लागि निर्वाचन गर्ने राष्ट्रिय सरकारको नेतृत्व कोइरालाले नै पाउने पर्ने बताए ।
    पत्रकार डेकेन्द्र थापा हत्या अनुसन्धान प्रक्रिया राजनीतिक नभई विशुद्ध मानवीय कुरा भएको बताउँदै कांग्रेस केन्द्रीय सदस्य महतले भने, ‘डेकेन्द्र हत्या छानविन प्रक्रियाले शान्ति प्रक्रिया भाँड्ने विषय होइन ।’ घटनाको छानविन कार्यलाई रोक्ने प्रयास गरी सरकारले जघन्य अपराध गरेको उनको आरोप थियो ।
    विपक्षी दलहरुले दैलेखबाट उद्घोष गरेको राजनीतिक आन्दोलन दण्डहीनता, अराजकता, सर्वसत्तावादको विरुद्ध निर्वाचनका लागि राष्ट्रिय सरकार गठन गर्ने दवावमूलक आन्दोलन भएको उनको भनाइ छ । सकारात्मक एजेण्डाका साथ एकता गरेर जनता सामू गए काँग्रेको शक्तिलाई कसैले हल्लाउन नसक्ने उनको दावी थियो । उनले भने, ‘एकता र सकारात्मक एजेण्डा नै कांग्रेसको शक्ति हो, आफ्नो एजेण्डालाई जनता माझ लगे पुग्छ ।’
    कार्यक्रममा कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टले कांग्रेसको एजेण्डालाई गाउँगाउँसम्म पुर्‍याउन निर्देशन दिए । सो अवसरमा कांग्रेसका जिल्ला तह तथा भातृ संस्थाहरु लगायत कार्यकर्ता र शुभचिन्तकहरुको उपस्थिति थियो । नेता महत शनिवार दैलेखबाट सुरु गरिएको विपक्षी दलको आन्दोलनका वक्ताका रुपमा गएका थिए ।

No comments:

Post a Comment