एमाओवादीले पुरानै नेपालपनि सिध्याउन लाग्यो : के.सी.

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १७ माघ ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विपक्षी दलहरुसंग सत्ता ढाल्ने अरु कुनै बाटो नभएपछि आन्दोलनको बाटो रोजेको बताएका छन् । उनले बाबुराम नेतृत्वको सरकार सजिलैसंग नढल्ने भएपछि आन्दोलन रोजिएको जनाए ।
    दैलेखको दुल्लुमा माघ १९ गते हुने विरोध सभामा जान सुर्खेत आएका अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा सुर्खेतले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा देशको विद्यमान संकटलाई निकास दिनका लागि बाबुराम सरकार ढल्नुपर्ने भएपनि नढलेपछि आन्दोलनबाटै ढलाउने दावी गरे ।

    जसको फलस्वरुप आन्दोलन सुरु भइसकेको उनको भनाइ छ । प्रतिपक्ष दलहरुले सुरु गरेको आन्दोलन सत्ताप्राप्तिको लागि नभइ देशको आवश्यकता भएको दावी उनले गरे । सत्ता पक्षले मुलुकलाई सहमतिमा नलगेर देशको सार्वभौम सत्ता र अखण्डताको बदनाम गर्दै हिंडेको आरोप अध्यक्ष केसीले लगाए ।
    उनले बाबुराम भट्टराई नेतृत्वको सरकार काम चलाउमात्रै भएकोले अव केही दिनको लागि मात्रै टिक्ने जिकिर गरे । उनले पछिल्लो समय अपराधका घटनाहरु बढ्दै जानुको मुख्य कारणपनि अहिलेकै सरकार भएको ठोकुवा गरे । सरकारले नै अपराधीलाई संरक्षण दिने गर्नाले अपराध घट्नुको साटो बढ्दै गएको उनको भनाइ छ । अपराधीलाई सजाय नदिएसम्म अपराधका घटनाहरुमा कमी नआउने भन्दै उनले द्वन्द्वकालमा अपराध गरेका अपराधीहरुलाई छानबिन गरेर कारवाही गर्नैपर्नेमा जोड दिए ।
    उनले प्रतिपक्षहरुको थालेको आन्दोलन सत्ता प्राप्तिका लागि नभएको दावी गर्दै देशको लोकतन्त्र, सार्वभौम सत्ताको रक्षाको लागि भएको जिकिर गरे । उनले माओवादीले नेपाललाई नयाँ नेपाल बनाउन होइन भएको पुरानो नेपालपनि सिध्याउन लागेको बताए ।
    उनले संविधानको नाममा विदेशी भाइरसहरु नेपालमा पसिरहेको भन्दै नेपालप्रेमी सबैले ती विदेशी भाइरसहरुलाइ फाल्नुर्पेमा जोड दिए । उनले सत्ता पक्षले संविधान नेपाल र नेपालीको हितमा भन्दा विदेशीको हितमा बनाउन खाजेको आरोप लगाए ।
    अध्यक्ष केसीले अहिलेको नालायक सरकारले नै गर्दा वेरोजगारीका कारण लाखौं युवाहरु विदेशिन बाध्य पारेको आरोप लगाए । साथै महिला सहभागिताको कुरा गर्दै हिंड्ने एमाओवादीकै मन्त्रालय पदमा कोहीपनि महिला नरहेको व्यंग्य गरे ।
 

No comments:

Post a Comment