देश बचाउन अन्तिम विद्रोह

दानसिंह सुनार
    नेकपा–माओवादीको एतिहासिक सातौं महाधिवेशन हालै सकिएको छ । यो सातौं महाधिवेशनको राजनीतिक, सांगठनिक र बैचारिक झन्झावात र चीन, कोरिया, टर्की, क्यानडा, भारत, अमेरिका लगायतका ठूलाठूला देशका कम्युनिष्ट पार्टीको गरिमामय उपस्थितिले संसारका भीमकाय शासकहरु पनि कांपेका छन् । हाम्रो महाधिवेशन यस्तो अवस्थामा सम्पन्न भयो कि जतिखेर देश अग्रगमन र पश्चगमन को चक्रव्यूहमा फनफनी घुमिरहेको छ । प्रशासनिक संयन्त्र पैतालादेखि टुप्पीसम्म भ्रष्ट बन्दै गएको छ । न्याय दिने न्यायालयहरुमा न्यायधीशहरु रिक्त बन्दै गएका छन् । महँगीले आकाश छोएको छभने लोडसेडिङले पाताल पुर्‍याएको छ । व्यापारी उद्योगपति दिनप्रतिदिन परनिर्भर बन्दै छन् । विदेशी हस्तक्षेपले नेपाली जीवन र राजनीति असिम आक्रान्त भैसक्यो कि विदेशी विशेषत भारतीय आदेशविना हाम्रो सरकारको डिनर र लन्चको परिकार पनि  बदलिन पाउँदैन ।
    यस्तो कहालीलाग्दो अवस्थामा हामीले २०४८ मंसिरको चितवनको माडीमा छैठौं महाधिवेशन भएको २१ वर्षपछि महाधिवेशन को महायज्ञ सम्पन्न गरेका छौं । नेपाली जनताको भाग्य र भविष्यको फैसला निर्धारण गर्ने हाम्रो गौरवशाली पार्टी यतिखेर असिम चुनौती र अनुपम सम्भावनाहरुलाई केलाउँदै अघि बढ्नु परिरहेको छ । नव संशोधनवादसंग निर्णायक सम्बन्धविच्छेद गरिसकेपछि यसको पुष्टि व्यवहारत: गर्नसक्नु पर्छ । किनकि विगतमा क्रान्ति असफल हुनुमा मुख्यत: पचण्ड, बाबुराम मण्डलीको आत्मसमर्पणवादी सोच र विचारले कार्य गर्‍यो तर लामो समय यिनीहरुको सहकार्यले त्यस्ता विचार र प्रवृत्ति हामीभित्र पनि प्रशस्तै छन् । तसर्थ व्यक्ति होइन क्रान्तिकारीहरुले प्रवृत्तिसंग सम्बन्ध विच्छेद गर्नुपर्छ तबमात्र क्रान्ति निश्चल कञ्चन पानी जस्तै लक्ष्यतिर बग्छ । यतिखेर हाम्रो मुख्य कार्यभार भनेको कार्यदिशा निर्माण र त्यसपछि कार्यदिशालाई व्यवहारत पुष्टि गर्ने, लागू गर्ने शक्ति भनेको फलामे अनुशासनले पूर्ण भएको संगठन हो जो हामीले जनयुद्धको जगमा जनविद्रोह भन्यौ र ४३ जनाको केन्द्रीय कमिटी र ८ जना पछि थपिने गरी चुस्त र स्पात कमिटी निर्माण गर्‍यौं । संशोधनवादीको आँखाबाट हेर्दा केन्द्रीय कमिटी जम्बो बनाउन नसकेको जस्तो देखिएपनि त्यो सोच भने होइन अपितु हामीलाई थाहा छ । प्रचण्डकालीन ठूलाठूला कमिटीले न बैठक बस्न सके न क्रान्ति गर्नसके त्यसैले बरु सानै होस् तर गर्ने हुनुपर्‍यो ।
    हामीभित्र अझैपनि सजीव चित्रहरु छन् । विगतका वालाजु विस्तारित बैठकदेखि पालुङ्टार विस्तारित बैठकसम्म हरेक पटक महान वहसहरु पछि क्रान्तिकारी कार्यदिशा अर्थात विद्रोहको कार्यदिशा पारित भएका थिए तर सबै कार्यदिशाहरु लाजिम्पाट महलका डंगुरमा थुप्रिए । हरेक पटक निर्णय हुने तर लागू नगरेर आफ्नै मनोमानी र निर्णय लागू गर्नु नै पार्टी फुटका थुप्रै कारणहरु मध्ये एक हो तर अझैं पनि नेपाली जनतालाई नवसंशोधनवादीहरुले विद्रोहको हवाला दिंदै अझैंपनि आलिशान महलमा बसेर भ्रम र झुटको खेतीमा सिंचाइ गरिरहेका छन् तर नेपाली क्रान्तिकारी जनताले भ्रमको खेतीबाट उम्रेको बोटलाई अवश्यपनि कीटनाशक औषधि हाल्ने छन् । नेपाली जनयुद्ध र विविध जनआन्दोलनले नेपाली जनताको चेतनालाई फराकिलो बनाइदिएको छ कि नेपाली जनता पूर्ण प्रशिक्षित भैसकेका छन् कि प्रचण्डले जति ठूलो स्वरमा क्रान्ति, विद्रोश वा समाजवाद भनेर चिच्चाएपनि जनताले कुनै हालतमा विश्वास गर्नेवाला छैनन् । तर क. किरणले क्रान्ति गर्दिन भनेपनि जनता मान्नेवाला छैनन् । किनकि प्रचण्डले अन्तिम चरणमा जनतालाई ठूलो धोका दिए ।
    हजारौं शहीदहरुको सपनाहरुको हत्या
गरे । अन्तत भारतीय दलालको रुपमा आफू एक नम्बर सावित गरे तर क. किरण अर्थात नेकपा–माओवादी पार्टी जसले सत्ताका सबै प्रकारका अवसरहरुको स्वाद चाखेन । अवसर पाउँदापाउँदै पनि त्यसलाई तिलाञ्जली दिंदै फेरि जनताको वीचमा निस्वार्थ फर्केको छ । सुगम बाटो छोडेर अगमतिर लम्किन खोज्नु के त्यो
पदलोलुप्ता हो ? आफ्नो विचार र सिद्धान्त मा उभिनुलाई फुटवाद भन्न मिल्छ र ?
    कदापि होइन बरु त्यो निभ्न लागेको क्रान्तिको दियो बचाउनु हो जो संसारका क्रान्तिकारीहरुको आस्थाको दियो हो । नवसंशोधनवाद र गद्दार विरुद्धको युद्धको उद्घोष हो । देशको चरम संकटले जरुर पनि विद्रोहको शिशुलाई जन्म दिनेछ । २००७ सालदेखि बाबुराम सरकारसम्म ४० पटक सरकार वदली सके । पञ्चायत, बहुदल, लोकतान्त्रिक व्यवस्था आइसके तर यो देशमा राजनीतिक स्थिरता आउन सकेन ।
    अपितु झन्झन् अस्थिरता र विकृतिको दुखाइले नेपाली जनता आकुलव्याकुल भैसके ।
    त्यसैले यो अन्तिम युद्ध हो देशको अस्मिता जोखिममा पर्दै गरेको अवस्थामा राष्ट्रवादीहरु राष्ट्रियताको झण्डा बोकेर उठ्नुपर्छ । मेची र काली जनसंविधानको माग गरी जुर्मुराउनु पर्छ । जनजाति, दलित, महिला, मधेसीहरुले संघीयताको वत्ती बाल्नुपर्छ । सबै नेपाली सबैखाले विकृति, विसंगति दलाल तथा नोकरशाहका विरुद्ध एक चोटी अन्तिम विद्रोहको धावा बोल्नै पर्छ तबमात्र देश बच्नेछ । देश बचे हामी बच्ने छौं । सबैलाई चेतना भयो ।
(लेखक नेकपा–माओवादी भेक राज्यसमिति सदस्य हुन् ।)
 

No comments:

Post a Comment