सत्ता त्यसै छाडिन्न: महरा

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ९ माघ ।
    एकीकृत नेकपा माओवादीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य एवं पूर्व गृहमन्त्री कृष्णबहादुर महराले पहिचानसहितको संघीयता र जनताले बनाउने संविधानको ग्यारेन्टी नभएसम्म सत्ता नछाड्ने अडान दोहोर्‍याएका छन् ।  उनले बरु पार्टी त्यसका लागि हस्तक्षेपकारी भूमिकाबाट अघि बढ्ने तर यी मुद्दा नछाड्ने बताए ।
    एकीकृत नेकपा माओवादी सुर्खेतको प्रथम जिल्ला सम्मेलनको मंगलवार उद्घाटन गर्दै नेता महराले आफ्नो पार्टी पहिचानसहितको संघीयता र जनताले बनाउने संविधानको मुद्दाप्रति अडिग रहेको जनाए । आफूहरु सत्तामा टाँस्सिरहन नचाहेपनि माथि उल्लेखित मुद्दामा सहमति नभएसम्म त्यसै सत्ता नछाड्ने उनले बताए । नेता महराले एमाओवादी क्रान्तिको बाटोबाट विचल्लित नभएको तर फरक ढंगले अगाडि बढिरहेको जिकिर गरे ।

    नेकपा–माओवादी पार्टीप्रति लक्षित गर्दै उनले पार्टी छोडेर गएका नेता कार्यकर्ताहरुलाई मूलघरमा फर्कन आग्रह गरे । उनले भने, ‘अस्ति भर्खरै महाधिवेशन गरेपनि उक्त पार्टीका कार्यकर्ताहरुमा कुनै जोश जांगर र उमंग छैन, पलायनवादी सोच देखिएको छ, त्यसैले मूलघरमै फर्कनुस् ।’ केही समय लागेपनि घर छोडेर गएका नेता कार्यकर्ताहरु एमाओवादीमै फर्कने विश्वास उनले गरेका छन् ।
    दैलेखका पत्रकार डेकेन्द्र थापा र कर्णेल कुमार लामाको घटना उचालेर विपक्षीहरुले माओवादीलाई सिध्याउने षड्यन्त्रमा लागेको आरोप महराले लगाए । उनले ती घटनाहरु शान्तिप्रक्रिया भाँड्ने षड्यन्त्र भएको र योजनाबद्ध तरिकाले साथीहरुलाई फसाइएको दावी गरे ।
    एमाओवादी पार्टीभित्र पनि गुट उपगुट रहेको स्वीकार गर्दै उनले आगामी महाधिवेशनले गुट उपगुट हटाएर एकीकृत गराउने दावी गरे । उनले गुट उपगुटले क्रान्ति सफल नहुने तर्क राख्दै महाधिवेशनले त्यसलाई चिरेर एकताको महाधिवशेन बनाउने बताए । उनले आफ्नो पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी भइ लोभीपापीहरु बढेको जिकिरसमेत गरे । उनले भने, ‘पछिल्लो समय हाम्रो पार्टीभित्र पनि लोभीपापीहरु बढेका छन्, त्यसै सवै व्यक्तिग स्वार्थले गर्दा भएको हो ।’
    एकीकृत नेकपा माओवादी सुर्खेत जिल्ला सम्मेलन आयोजक समितिका संयोजक भीमबहादुर मल्लको सभापतित्वमा भएको उद्घाटन सत्रमा नेताहरु लेखराज भट्ट, शक्ति बस्नेत, डीआर पौडेल, अखिल क्रान्तिकारीका महासचिव विन्दमान विष्ट, पार्टीका सुर्खेत इन्चार्ज सीता नेपालीलगायत ले विपक्षी दलहरुको आन्दोलन बेमौसमको बाजा भएको टिप्पणी गरे । उनीहरुले झिनामसिना कुरा उठाएर एमाओवादीलाई भड्काउने काम गरिएकोले विपक्षीहरुले दैलेखबाट थालेको आन्दोलन लोहोरे खोला यता नआउने दावी गरे । आज बुधवारसम्म संचालन हुने अधिवेशनमा साढे ४ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


प्रधानमन्त्रीलाई दैलेख प्रवेश निषेध गर्ने
दैलेख, ९ माघ । (सुस)
    आन्दोलनरत विपक्षी दलले प्रधानमन्त्री बाबुराम भट्टराईलाई दैलेख जिल्ला प्रवेशबाट रोक लगाउने तयारी गरेका छन् । मंगलबार बिहान बसेको जिल्लास्थित सात विपक्षी दलको बैठकले मंगलबार २ बजेदेखि बुधवार बुधबार साँझ ४ बजेसम्म यातायात बन्द, दिनभर सदरमुकाम बन्द गरी सरकारविरुद्ध व्यापक जनप्रदर्शनको कार्यक्रम घोषणा गरेका हुन । विपक्षी सम्बद्ध कार्यकर्ताहरुले सदरमुकाम आउने चारैतिरका नाकामा रुख ढालेर यातायात अवरुद्ध गर्न थालेका छन्।
    यस्तै, मंगलवार साँझ ६ बजे असंवैधानिक सरकार विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् । ‘यदि प्रधानमन्त्री जबर्जस्ती दैलेख प्रवेश गर्छन्भने सशक्त प्रतिकार गर्न तयार छौं,’ एमाले अध्यक्ष अम्मरबहादुर थापाले भने, ‘यसका लागि सदरमुकामबासी न्यायप्रेमी जनताको साथ पाउनेछौं ।’ यता प्रशासनले सुर्खेतबाट दुई सय सशस्त्र प्रहरी झिकाएको र जिल्लको सुरक्षा व्यवस्था कडा पार्ने जनाएको छ । विपक्षी दलले गत माघ ६ देखि दैलेखबाट सरकारविरोधी आन्दोलनको सुरुवात गरेका थिए । आज बुधबार एमाओवादीको प्रथम जिल्ला सम्मेलन उद्घाटनका लागि प्रधानमन्त्री भट्टरईका साथै पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु दैलेख आउने कार्यक्रम छ ।  

No comments:

Post a Comment