सुर्खेतका व्यापारीहरुमा सूचना प्रविधिको ज्ञान कम

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ९ माघ ।
    सुर्खेतका धेरैजसो व्यापारी तथा व्यवसायीलाई सूचना प्रविधिको ज्ञान कम भएको एक तथ्यांकले जनाएको छ । सुर्खेत उद्योग बाणिज्यले गरेको सर्वेक्षण अनुसार जिल्लामा व्यापार तथा व्यवसाय गरिरहेका मध्ये केवल २५ प्रतिशतले मात्रै सूचना प्रविधिको प्रयोग गरेको र बाँकीले प्रयोग नगरेको तथ्यांक मंगलवार सार्वजनिक गरेको छ ।
    तथ्यांक सार्वजनिक गर्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले अहिले सूचनाको युगमा सूचना र प्रविधिले व्यवसाय वृद्धि गर्न सघाउ पुगेपनि सुर्खेतमा भने ज्ञानको कमीका कारण प्रयोग हुन नसकेको बताए । उनले २५ प्रतिशत व्यवसायीले व्यवसायिक योजना बनाएको, २४ प्रतिशतले मात्रै कम्प्यूटर इमेल इन्टरनेट प्रयोग गर्ने गरेको र ६९ प्रतिशतले सामान्य लेखा प्रणालीमा काम गर्ने गरेको पाइएको जनाए ।
    यसैगरी यहाँको ५६ प्रतिशत व्यवसायीले आय कर तिर्ने गरेको, २१ प्रतिशतले भाडा कर र १३ प्रतिशतले भ्याट तिर्ने गरेका
छन् । पूँजीको अवस्था, जमीन र स्थानको अभावका कारण गतबर्ष यहाँका ४६ प्रतिशत व्यवसायीको कारोबार ५ लाखभन्दा कम भएको सर्वेक्षणमा उल्लेख छ । सुर्खेत जिल्लामा व्यवसाय गर्ने सम्भावना राम्रो भएपनि ऊर्जा संकट, बन्द हड्तालले गर्दा फस्टाउन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । तथ्यांक सार्वजनिक कार्यक्रममा सुर्खेतका स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले व्यवसायीहरुको हकहितका लागि व्यवसायिक एकतामा जोड दिए ।
 

No comments:

Post a Comment