डेढ बर्षमा एउटापनि उजुरी परेन

‘चियापानी’देखि सुरु भएको भ्रष्टाचार ‘लोभ लालच’ हुँदै ‘बानी’मा परिणत
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ माघ ।
    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आवद्ध नागरिक सरोकार संघ सुर्खेतमा एउटापनि लिखित उजुरी परेको छैन । स्थापना भएको करिव साढे १ बर्षको अवधिमा एउटापनि उजुरी नपरेको स्वयं अभियानकर्ताहरु बताउँछन् । संघका अध्यक्ष पीताम्बर ढकालले भ्रष्टाचार, अनियमितता विरुद्धको उजुरी लिनका लागि फोन, पत्र मन्जुषाको व्यवस्था गरेपनि अहिलेसम्म एउटा पनि लिखित उजुरी नपरेको जनाउँछन् ।
    बुधवार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले फोनबाट मौखिक उजुरीहरु परेपनि लिखितरुपमा ल्याउन आग्रह गर्दा नआएको जनाए । लिखितरुपमा नआउँदा मौखिक उजुरीहरु व्यक्ति रिसिवीलगायत अन्य पनि हुनसक्ने भएको बताउँदै उनले लिखितरुपमा आएको उजुरीले काम गर्न सहज हुनेबताए । उनले उजुरी पर्न वित्तिक्कै ट्रान्सपरेन्सीको पहलमा तत्काल कारबाही प्रक्रिया अघि बढ्ने जनाउँदै अव भने लिखित उजुरी दिन आग्रह गरे ।
    भ्रष्टाचार कर्मचारीतन्त्रमा मात्रै संलग्न छैन भन्दै अध्यक्ष ढकालले पछिल्लो समयमा राजनीति, प्रशासनिक, सामाजिक काममा पनि भ्रष्टाचार हुने गरेको दावी गरे । अझ विशेषगरी आर्थिक लाभका कार्यालयहरु भन्सार, विमानस्थल, मालपोत, नापी लगायतमा बढी भ्रष्टाचार हुने गरेको पाइएको उनको भनाइ छ । भ्रष्टाचार आर्थिकसंग मात्र सम्वन्ध नभइ काम ढिला गर्नु, झन्झट सास्ती दिनुपनि रहेको ढकालले जनाए ।
    यस्तै बासका अध्यक्ष राजु लामिछानेले चियापानीबाट सुरु भएको भ्रष्टाचार लोभ लालच हुँदै अहिले वानीमा परिणत भएको टिप्पणी गरे । विद्यमान कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न सकेमा भ्रष्टाचार कमी हुने उनको भनाइ छ । निजामित कर्मचारी युनियनका अध्यक्ष नृपजंग शाहीले भ्रष्टाचार कर्मचारीहरुले मात्रै गर्ने नभइ अरुले पनि गर्ने तर्क राखे । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले संवैधानिक रिक्तता भएपछि भ्रष्टाचार अझ मौलाएको जनाए । उनले धेरै पैसा कमाउनेलाई प्रतिष्ठित मान्ने प्रवृत्ति भएकोले अव कसरी पैसा कमायो भन्ने कुराको खोजीनिति गर्नुपर्ने धारणा राखे ।
    जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विनोद घिमिरेले भ्रष्टाचार अपराधको जननी भएको बताए । उनले नयाँ नेपाल भ्रष्टाचार मुक्त बनाउन सके सार्थक हुने जनाए । प्रहरीमा पनि व्यापक भ्रष्टाचार हुने गरेको विगतले देखाइसकेको बताउँदै सुडान काण्डदेखि प्रहरी पनि चेतिएको उनले बताए । भ्रष्टाचार न्यूनीकरण माथिबाटै गर्न आवश्यक रहेको उनको भनाइ छ ।
    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुबहादुर केसीले नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा पर्ने गरेको बताए । उनले विश्वका ९७ वटा मुलुकमा गरिएको  सर्वेक्षणमा नेपाल ८३ औं स्थानमा परेको बताउँदै उनले हरेक क्षेत्रमा पनि भ्रष्टाचार मौलाएको दावी गरे । उनले राजनीतिक अस्थिरताले भ्रष्टाचारलाई मलजल गर्ने काम गरेको बताए । भ्रष्टाचार न्यूनीकरणका लागि कानुन कार्यान्वयनमा कडाइ गर्न आवश्यक रहेको उनको भनाइ छ । 
 

No comments:

Post a Comment