समायोजन नभएको भन्दै तालावन्दी
सुर्खेतपत्र संवाददाता
सुर्खेत, ८ माघ ।
सुर्खेतीहरुको डेढ दशकको अथक प्रयासपछि स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय अहिले आन्दोलन गर्ने मैदान बनेको छ । कहिले विद्यार्थी संघसंगठनहरु त केहिले प्राध्यापक तथा कर्मचारीहरुले पालैपालो आन्दोलन गरिरहेका छन् ।
केही समय अघि विद्यार्थीको शुल्क बृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले केन्द्रीय कार्यालयमा लगाएको ताला एक महिना वित्दापनि खुलेको छैन । चार विद्यार्थी संगठनहरु अझैपनि सडकमै छन् । यतिकैमा यहाँ रहेको वीरेन्द्रनगर बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरु पनि सोमवारदेखि आन्दोलनमा उत्रिएका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा वीरेन्द्रनगर बहुमुखी क्याम्पसलाई समायोजन नगरेको आक्रोशमा उनीहरुले विहान ८ बजे बहुमुखी क्याम्पसको मूलगेटमा ताला लगाइ मप विश्वविद्यालयले संचालन गरेको सम्पूर्ण कक्षाहरु अनिश्चितका लागि बन्द गरिदिएका छन् । तालावन्दीले पढाइ अव पूर्णरुपमा ठप्प भएको छ ।
प्राध्यापक तथा आंशिक प्राध्यापक र कर्मचारीहरुले मप विश्वविद्यालयमा बहुमुखी क्याम्पसलाई समायोजन गर्ने भनिएपनि हालसम्म नगरेको, समायोजन प्रक्रियामा आलटाल गरेको आरोप लगाइ तालावन्दी गरिएको जनाएका छन् । क्याम्पसका उपप्रशासक पूर्णबहादुर विसीले अहिलेसम्म पनि समायोजन प्रक्रिया नथाल्दा आन्दोलन गर्नुपरेको बताए । उनले मप विश्वविद्यालयले अविलम्ब समायोजन र हस्तान्तरण प्रक्रिया अघि बढाउनुपर्ने माग गरे ।
बीरेन्द्रनगर बहुमुखी क्याम्पस प्रमुख लिलाधर तिवारीले पनि समायोजन प्रक्रिया नथाल्दा तालावन्दीको अवस्था आएको बताए । उनले मप विश्वविद्यालयको ढिलाइले गर्दा बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी आन्दोलना उत्रिएको आरोप लगाए । त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विद्यालयको आपसी लडाईंले बहुमुखी क्याम्पसका कर्मचारी, प्राध्यापक चेपुवामा परेको उनको भनाइ छ ।
तर यता मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा.डा. पद्मलाल देवकोटाले भने तालावन्दी नगर्न आग्रह गर्दापनि प्राध्यापकहरु आफैले तालावन्दी गर्नु दु:खद रहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयले नै समस्या खडा गरेको आरोप लगाउँदै तर पनि अवको दुई/चार दिनभित्र समायोजन प्रक्रिया थालिने बताए ।
ऐन, विनियम, सर्वदलीय बैठकमा मप विश्वविद्यालयमा वीरेन्द्रनगर बहुमुखी क्याम्पस, पव्लिक साइन्स क्याम्पस र शिक्षा क्याम्पसलाई समायोजन गर्ने भनिएकोले प्रक्रियाहरु थाल्दा केही ढिलाइ हुन गएको बताउँदै उपकूलपति प्रा.डा. देवकोटाले मुख्य समस्या त्रिभुवन विश्वविद्यालयले नै खडा गरेको आरोप लगाए ।
उता वीरेन्द्रनगर बहुमुखी क्याम्पस व्यवस्थापन समितिले भने भदौ २८ गते नै क्याम्पस समायोजन गर्ने निर्णय गरिसकेकोलगायतका आवश्यक कागजातहरु संलग्न गराई त्रिभुवन विश्वविद्यालयको उपकूलपतिको बुझाइसकेको जनाएको छ । समितिले सोमवार नै पत्रकार सम्मेलन गरी क्याम्प्समा रहेको चल अचल सम्पत्ति, अध्ययनरत विद्यार्थीहरुलाई मप विश्वविद्यालयमा समायोजन तथा हस्तान्तरणको व्यवस्था मिलाउन आग्रह गरेको छ । समितिका अध्यक्ष भूषणकुमार मानन्धरले समायोजन र हस्तान्तरण प्रक्रिया छिटो मिलाउन जोड दिए ।
कर्मचारी नियुक्तिमा भागवण्डा
यता मप विश्वविद्यालयको कर्मचारी नियुक्ति भागबण्डाको आधारमा भएको बताइएको छ । गत पुसको अन्तिम सातामा विश्वविद्यालयले नियुक्ति गरेको २६ जना कर्मचारीमा एमाओवादी, कांग्रेस र एमालेको कोटाको आधारमा नियुक्ति भएको जनाइएको छ । सवैभन्दा धेरै एमाओवादीका कर्मचारी नियुक्ति गरिएको स्रोतले जनाएको छ । २६ जना नयाँ कर्मचारीमध्ये एमाओवादीबाट मात्रै १६ जना, एमालेबाट ६ जना र कांग्रेसबाट ४ जना नियुक्ति भएको स्रोतले जनाएको छ । त्यतिमात्र होइन राम्रा भन्दा हाम्रालाई नियुक्ति गरिएको, थेसिस नै पूरा नगरेको, अधिकांश तेस्रो डिभिजनका भएकोलाई नियुक्ति दिइएको बताइन्छ । यसैगरी बीरेन्द्रनगर बहुमुखी क्याम्पसमा पनि एमालेबाट ४ जना, कांग्रेस र एमाआवादीबाट एक/एक जना कर्मचारी नियुक्ति गरिएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।
विद्यालयमा धमाधम कर्मचारी नियुक्ति गरिनु समस्याको वीऊ रोपिएको राष्ट्रिय जनमोर्चा निकटको अखिल छैठौंका विद्यार्थी नेता तुलाराम विष्टले जनाए । उनले सेवा आयोगबाट कर्मचारी राख्नुपर्नेमा धमाधम आफूखुसी नियुक्ति गरिएपछि विद्यार्थी संगठनहरु थप आक्रोशित भएको बताए ।
कर्मचारी नियुक्ति भागवण्डाका वारेमा भने आफूलाई केही थाहा नभएको मप विश्वविद्यालयका उपकूलपति प्रा.डा. पदमलाल देवकोटाले बताए । उनले कर्मचारी, प्राध्यापक नियुक्ति गर्ने काम डीनहरुको भएकोले त्यसबारेमा आफूलाई केही थाहा नभएको जिकिर गरे । डीनहरुलाई नै कस्तो कर्मचारी नियुक्ति गर्ने, के आधारमा गर्नेजस्ता थुप्रै अधिकार दिइएकोले डीनहरुले नै योग्यता पुगेकालाई नियुक्ति गर्नुपर्ने उनको भनाइ छ ।
No comments:
Post a Comment