वनको स्वीकृति विना ल्याण्डफिल्ड साइट निर्माण सुरु

वनद्वारा नगरपालिकालाई पत्राचार
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ फागुन ।
    सुर्खेत उपत्यकामा उत्पादन हुने फोहोरमैलालाई विर्सजन गर्न वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगर–१ तारेभीरमा बनाउन लागेको ल्याण्डफिल्ड साइटमाथि जिल्ला वन कार्यालय सुर्खेतले चासो व्यक्त गरेको छ । साइटको निर्माणका लागि स्वीकृति नलिएको भन्दै वन कार्यालयले नगरपालिकालाई पत्राचारसमेत गरेको छ ।
    वन कार्यालयले ल्याण्डफिल्ड साइट निर्माणको चरणमा स्वीकृति लिएको वा नलिएको के हो भन्दै फागुन १ गते नगरपालिकालाई पत्र पठाएको छ । तर नगर पालिकाले भने पहिलो चरणको छलफल तथा प्रारम्भिक वातावरणीय परीक्षण गरी तीन वर्षदेखि निर्माण कार्य सुरु गरिसकेको छ ।
    वन क्षेत्रमा नगरको फोहर फाल्न ल्याण्डफिल्ड साइट निर्माण सुरु भएको बारेमा कृष्ण सामुदायिक वनले जिल्ला वन कार्यालयलाई जानकारी गराएपछि मात्र समस्याका बारेमा थाहा पाएको जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासियाले बताए । उनले वनको स्वीकृति विना नै ल्याण्डफिल्ड साइट निर्माण गर्न नमिल्ने भएकाले स्वीकृत लिए वा नलिएको बारेमा नगरपालिकालाई सोधिएको जानकारी गराए ।
    पूर्व स्वीकृति वेगर वन क्षेत्रको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने वन ऐन २०४९ तथा वन नियमावली २०५१ मा कानुनी व्यवस्था भएको हुनाले कृष्ण सामुदायिक वन क्षेत्रको तारेभीर क्षेत्रमा निर्माणाधीन डम्पिङ साइट निर्माण गर्ने इजाजत छ वा छैन भनी वीरन्द्रनगर नगरपालिकालाई पत्राचार गरेको जिल्ला वन अधिकृत चौरसियाले बताए । उनले वन क्षेत्रमा काम गर्न मन्त्रिपरिषदको स्वीकृति लिएर मात्र काम गर्न पाउने कानुनी व्यवस्था भएको जनाए ।
    गुरुयोजनाले निर्देशित गरेको सम्भावित क्षेत्र नगरपालिकाको वडा नं. १ अन्तर्गत पर्ने तारेभीर गोठेरी भन्ने ठाउँमा ल्याण्डफिल्ड साइट निर्माण गर्न २०६४ साल माघ १८ गते स्थानीय वासिन्दा र कृष्ण सामुदायिक वन उपभोक्ता समितिसंग पहिलो पटक छलफल गरिएको थियो ।
    संशोधित वातवारण संरक्षण नियमावली २०६४ को अनुसूची १ तथा २ अनुसार प्रति वर्ष १ सयदेखि ५ हजार टनसम्म फोहोर उत्पादन गर्ने नगरपालिकाले स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्दा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने भएकाले नगरपालिकाले उक्त परीक्षण गराएको थियो । स्थानीय विकास मन्त्रालयको फोहोरमैला तथा
 स्रोत परिचालन केन्द्रले आइईइ गरेको थियो । स्थानीय विकास मन्त्रालयद्वारा स्वीकृत आइईइ प्रतिवेदन बारेमा २०६६ साल बैशाख २५ गते स्थानीय पत्रपत्रिकामा राय सुझावका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको वीरेन्द्रनगर नगर पालिकाले जनाएको छ । प्रतिवेदन अनुसार उक्त स्थानमा ल्याण्डफिल्ड साइट निर्माण गर्न सहमतिका लागि जिल्ला वन कार्यालयलाई परिपत्र समेत गरेको थियो । नगरपालिकाले २०६६ बैशाख २४ गते ४३४० चलानी नम्बरको पत्रद्वारा ल्याण्डफिल्ड साइट निर्माणको सहमति दिन वन कार्यालयलाई पत्राचार गरेपनि जिल्ला वन कार्यालयले नगरपालिकालाई जवाफ नपठाएको योजना तथा अनुगमन अधिकृत प्रकाश पौडेलले बताए ।
    नगरपालिकाले ल्याण्डफिल्ड साइट निर्माणका लागि सडक पूर्वाधार र हेरालु बस्ने भवन समेत निर्माण गरिएको उक्त स्थानमा साढे २ विगाह जग्गा आवश्यक भएको उल्लेख गरेको छ । ल्याण्डफिल्ड साइट निर्माण गर्दा उक्त स्थानमा रहेका २ वटा मात्र रुख नोक्सान हुने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनले देखाएको अधिकृत पौडेलले बताए । उनले ल्याण्डफिल्ड साइट निर्माण गर्ने स्थानको जग्गा आफ्नो नाममा बनाउन जिल्ला परिषद्बाट पास गरी स्वीकृतिका लागि केन्द्र पठाउने तयारी भएको जानकारी गराए ।
    दैनिक उत्पादन हुने ३ टन बढी फोहोरको व्यवस्थापन गर्न वीरेन्द्रनगर–१ को बांगेसिमलस्थित टेम्पोपार्क देखि ४ किलोमिटर २ सय मिटर टाढाको उक्त स्थानमा जाने सडक पूर्वाधार तथा ढल र भवन लगायतको संरचना निर्माणमा ३८ लाख रुपैयाँ खर्च गरिसकेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । तीन वर्षदेखि सुरु गरेको निर्माण कार्यका लागि पहिलो वर्ष १ लाख, दोस्रो वर्ष ३७ लाख र तेस्रो पटक चालु वर्षमा वर्ष ६० लाख रुपैयाँ बजेट छुट्याएको जनाएको छ । चालु वर्षको काम गर्न उपभोक्ता समिति समेत गठन गरिएको नगरपालिकाले जनाएको छ ।
 

No comments:

Post a Comment