सहकारीले चलायो ‘सुरक्षित घर’

सुर्खेतपत्र संवाददाता 
दाङ, १८ माघ ।
    दाङको टरिगाउँ गाविसमा स्थापना  गरिएको एक सहकारी संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाका  लागि सरक्षित घर (सेफ हाउस) संचालन गरेको छ । पश्चिम दाङको टरिगाउँ गाविस–१ टरिगाउँमा रहेको सिर्जना महिला तथा ऋण सहकारी संस्थाले हिंसापीडितका लागि आकस्मिक राहत दिलाउने उद्देश्यले सो घर संचालनमा ल्याएको हो । २०६३ सालमा  उक्त सहकारी संस्था स्थापना गर्दा स्थानीय २५ जना महिलाले जनही रु. २५ संकलन गरेर जन्माएको सस्थामा  हाल रु. ५ लाख  बचत भएको छभने ४ सय ५२ जना महिला आवद्ध भएका छन् ।
    सो सेफ हाउसले अलपत्र परेका, पतिबाट पीडित भएका, बहुविवाहको पीडा सहनुपरेका, बालविवाह, बलात्कार पीडित, बोक्सीको आरोप लागेका महिलाको सवालमा वकालत गरी तिनीहरू को उद्धार  गरिरहेको संस्थाकी कोषाध्यक्ष रमा आचार्यले बताइन् । उनका अनुसार सेफ हाउसमा पुगेका पीडित महिला तथा बालबालिकालाई संस्थाले एक हप्तासम्म त्यही राख्ने गरेको छ । ‘सुरुसुरुमा महिला दिदीबहिनीलाई संस्थामा आवद्ध गराउन हात जोड्नुपर्‍यो, संस्थामा आवद्ध भएपनि कुनै कार्यक्रम राख्दा उपस्थिति गराउन एकदमै कठिन भयो, चुलोचौकोभन्दा बाहिर निस्कन महिलाहरूले मान्दैनथे तर अहिले कसैलाई केही आपत्ति पर्‍यो वा कोही सुरक्षित घरमा दु:ख लिएर आयो भने सम्पूर्ण महिलाको सहयोग रहन्छ,’ कोषाध्यक्ष आचार्यले भनिन् ।
    रुकुमकी एक महिलाको समस्या समाधान गरेको प्रति ज्यादै सन्तुष्ट भएको उनले स्मरण गर्दै भनिन्, ‘रुकुमकी एक मानसिक सन्तुलन गुमाएकी महिला सेफ हाउसको शरणमा आइन् । उनलाई एक हप्ता सेफ हाउसमै राख्यौं त्यसपछि जिल्लामा लग्यौं रुकुमका संघसंस्थासंग सम्पर्क गर्‍यौं अनि उनका आफन्त आए र उनलाई सहजै स्वीकारे, यो घटनाले मलाई हामी पनि केही गर्न सक्ने रहेछौं भन्ने जस्तो लाग्यो ।’
    सेफ हाउसले महिलाका मात्रै समस्या नहेरेर पुरुषका समस्या पनि हेर्ने गरेको
छ । तर पुरुषलाई भने सेफ हाउसमा राख्नुपर्ने स्थिति नआएको आचार्यले बताइन् । एकजना पुरुष विदेश गएको, विदेशबाट पैसा पठाएको तर आउँदा पैसाको कुनै टुंगो नलागेको र श्रीमतीलाई परपुरुषसंग रंगेहात पक्राउ गरेपछि त्यो समस्याको समाधान पनि सेफ हाउसले गरेको आचार्यले जानकारी दिइन् ।
    सेफ हाउसले आजसम्म १ सय २४ घरेलु हिंसासम्बन्धी मुद्दा मिलाएको छभने यो वर्षको हालसम्म १८  मुद्दा मिलाएको छ । आजसम्म सेफ हाउसमा आएका समस्यामध्ये २ वटा मात्रै समस्यालाई जिल्ला सेवा केन्द्रमा पठाइएको सो संस्थाले जनाएको छ । सहकारी संस्थाले स्थानीय व्यावसायी प्रभात शाहको सहयोगमा टरिगाउँमा तीनकोठे भवन निर्माण गरेको छ । त्यही भवनमा सहकारी र सेफ हाउस बनाइएको छ ।
    अहिले ४ सय ५२ जना आवद्ध भएको संस्थामा आव २०६९/०७० मा ६ सय पुर्‍याउने लक्ष्य संस्थाले राखेको छ । साथै टरिगाउँ गाविसलाई हिंसामुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेको पनि कोषाध्यक्ष आचार्यले बताएकी छिन् । हिंसामुक्त गाविस निर्माण गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन पनि उनले सबैलाई अनुरोध गरेकी छिन् ।

 

No comments:

Post a Comment