१५४ विद्यालय दरबन्दी विनै संचालन

सुर्खेतपत्र संवाददाता 
जाजरकोट, ११ बैशाख ।
    जाजरकोटका १ सय ५४ वटा सामुदायिक विद्यालय दरबन्दी विनै संचालनमा रहेको पाइएको छ ।  जिल्ला शिक्षा कार्यालयबाट अस्थायी अनुमति लिएर संचालनमा रहेका ती विद्यालय लामो समयदेखि एउटा पनि दरबन्दी नभएरै निजी शिक्षकको भरमा संचालनमा रहेका छन् । विद्यालय संचालनको अनुमति हचुवाको भरमा दिने तर दरबन्दी नदिंदा विद्यालय संचालनको भार स्थानीय समुदायलाई परेको छ । जिल्लाका ६२ माध्यमिक विद्यालय मध्य २७ मावि, ९२ निम्न माध्यमिक विद्यालय मध्ये ४७ निमावि, र ३ सय ३२ प्राथमिक विद्यालय मध्य ८० प्रावि लामो समयदेखि दरबन्दी विनै संचालनमा रहेको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।     कार्यालयका अनुसार ती विद्यालयमा प्रति विद्यार्थी अनुदान बाहेक शिक्षकलाई तलब खुवाउनका लागि अन्य कुनै रकम जाँदैन जसका कारण समुदायलाई विद्यालय संचालन मा समेत समस्या परेको छ । विद्यालयले निजी स्रोतमा राखेका शिक्षकलाई तलब खुवाउन निकै समस्या परेको स्थानीयको भनाइ छ ।
    कतिपय विद्यालयले ५ जनासम्म शिक्षक निजीरुपमा राखेका छन् । माध्यमिक तहसम्म विद्यार्थीबाट कुनै किसिमको शुल्क लिन नपाइने सरकारी प्रावधानका कारण यस्ता विद्यालयलाई स्रोत जुटाउन समस्या परेको दरबन्दी विनै मावि तह संचालनमा गरी रहेका शिव ब्यवसायिक माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक जयबहादुर बस्नेतले बताए । उनले प्रावि तथा निमाविका केही शिक्षकले मावि तहमा पठनपाठनमा सहयोग गरेपनि ४ जना शिक्षक निजी स्रोतबाट ब्यहोर्ने गरी राखिएको बताए ।
    तर त्यस्ता शिक्षकलाई तलब खुवाउन समस्या परेको प्रअ बस्नेतको भनाइ छ । मासिक रुपमा ५० हजार रुपैयाँ निजी स्रोतका शिक्षकलाई दिनुपर्छ उनले भने, ‘शुरुमा दरबन्दी आइहाल्ला भनेर मावि तहको अनुमति लिइ हाल्यौं तर ५ बर्ष भैसक्यो राहत कोटा समेत नपाउँदा मावि चलाउन ज्यादै समस्या भयो ।’
    ४ सय २८ सामुदायिक विद्यालय रहेको यस जिल्लामा राहत र दरबन्दीका गरी करीव १२ शिक्षक कार्यरत छन् । विद्यार्थी संख्याको अनुपातमा जिल्लामा करीव ८ सय शिक्षक दरबन्दी अपुग रहेको जिल्ला शिक्षा अधिकारी गीरमान थापाले बताए । दरबन्दी विनै अनुमतिको आधारमा मात्र संचालनमा रहेका विद्यालयमा पठनपाठनमा समस्या आउनुका साथै शिक्षाको गुणस्तरमा समेत समस्या आएको शिक्षा अधिकारी थापाको भनाइ छ । 
 

No comments:

Post a Comment