असक्तलाई पनि छोड्दैनन् प्रहरीहरु

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १२ बैशाख ।
    राजेन्द्रकुमार हरिजन ४ किमी टाढाबाट ह्विलचेयरमा नेपालगन्ज पुगे । दायाँ खुट्टले टेक्न नसक्ने उनी बिहीबार लोकतन्त्र दिवस मनाउन ठूलो आशाका साथ आइपुगेका थिए । ‘बुबा पनि अपांग हुनुहुन्छ, परिवार पाल्न कठिन छ,’ सीमावर्ती जयसपुरका राजेन्द्रले भने, ‘रुपैडिहाबाट भेली, चिनी ल्याएर जीविका चलाउन प्रहरीले दिंदैन ।’ अपांग सरोकार केन्द्रद्वारा आयोजित कार्यक्रममा उनले ४ जनाको परिवार पाल्न प्रहरी बाधक बनेको बताए ।
    ‘४/५ किलो गुण (भेली) ल्याउँदा पनि प्रहरीले घुस माग्छन्, नदिए कुट्छन्,’ उनले भने । १० किमी पूर्व बेतहनीस्थित बाबुगाउँबाट बैसाखीको सहारमा आएका वंशीरामले सोही समस्याका कारण काम गरेर खान नपाएको गुनासो गरे । ‘अंग्रेज
(भारतका) प्रहरीले असक्त भनेर केही गर्दैनन्,’ बायाँ खुट्टाले टेक्न नसक्ने वंशीरामले भने, ‘नेपाली प्रहरीले पैसा नलिई छाड्दैनन् ।’ सीमापारि रुपैडिहाबाट ह्विलचियरमा चिनी, भेली, पिठो, चामल र दाल ल्याएर बजारमा बिक्री गरी जीविका चलाउन बाध्य शारीरिक अपांगता भएका व्यक्तिहरुले लोकतन्त्र आफ्ना लागि आकाशको फल भएको बताए । नेपालगन्ज–रुपैडिहा नाकामा शारीरिक अपांगता भएका एक दर्जनभन्दा बढीले यसरी नै जीविका चलाउँदै आएका छन् । उनीहरुले प्रधानमन्त्री सुशील कोइरालाका भाइ अरुणलाई समस्या समाधानको पहल गर्न आग्रह पनि गरेका छन् ।
    उनले पनि पहल गर्ने आश्वासन दिए । लोकतन्त्रको निर्दिष्ट लक्ष्य भोक र रोग पीडितसम्म नपुगेको उनीहरुको भनाइ थियो । ‘हाम्रा लागि दिने भनिएको सरकारी सुविधा कागजमै सीमित छ,’ हरिकला थापाले भनिन्, ‘पैसा तिरेर गाडी चढ्न खोज्दापनि अपांग देखेपछि रोक्दैनन् ।’ आफूहरुले परिचय पत्रसमेत नपाएको उनले बताइन् । वागेश्वरी–१ का अछेन्द्रकुमार मिश्राले शारीरिक अशक्तता भएका धेरैले भत्ता समेत नपाएको बताए । ‘सडकमा नारा लगाउँदै र भाषण गर्दैमा लोकतन्त्रको प्रतिफल पाउन सकिंदैन,’ मिश्राले भने ।
    अपांग सरोकार केन्द्रले नाकामा शारीरिक अपांगता भएकाहरुमाथि प्रहरीबाट हुँदै आएको दुव्र्यवहार रोक्न आग्रह गरेको छ । ‘बाँच्नका लागि ५/१० किलो दाल, चामल ल्याउनेलाई दु:ख दिन्छन्,’ केन्द्रका अध्यक्ष राजेश क्षेत्रीले भने, ‘भन्सारले छुट दिन्छ तर प्रहरीले कुट्छन् ।’
 

No comments:

Post a Comment