बाहुन धारामा छाउपडी प्रतिवन्ध

सुर्खेतपत्र संवाददाता 
दैलेख, १२ बैशाख ।
     पश्चिमका केही गाविसमा अझैपनि छाउपडी वा सुत्केरी बसेका महिलाले सार्वजनिक धारा छुन पाउँदैनन् । धारा नछुन भन्नको लागि कतिपय गाउँमा मन्दिरमा चढाएको घण्टी समेत ल्याएर धारामा झुण्डाउने गरिन्छ । पुरानो अन्धविश्वासका कारण अधिकांश महिला नराम्रो हुने भन्दै घण्टी लगाएको धारामा छुन मान्दैन ।
    महिनावारी र सुत्केरी भएको बेला धेरै टाढा खोला खोल्सामा गएर नुहाउने, कपडा धुने काम गर्छन् । त्यसैको उदाहरण हो, जम्बुकाँध–७ स्थित बाहुनधारामा सुत्केरी वा महिनावारी महिलालाई अझैपनि धारा प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । छोएमा सुनपानी छर्केर चोख्याइन्छ ।
    त्यहाँ परापूर्वक कालदेखि चार धारा रहेका छन् । आजभोलि बाहुन धारा भनेपनि पहिले त्यसलाई मुग्राह भन्ने गरेको स्थानीयबासी बताउँछन् । त्यतिवेला दमाई कामी, सार्की, बाहुनका बेग्लाबेग्लै चारवटा धारा विभाजन गरिएको थियो ।
    ती चार जातिका चार धारा अझै पनि कायमै छन् तर आजभोली पहिलेको जसो जातीय छुवाछुत गरिएको पाइदंैन । गाउँका कोही बुढापाका भने अझैपनि दलितबाट छोएको खादंैनन् । २०६९ मा गाउँ विकास समितिको अनुदानबाट दुईवटा दलित धारा मर्मत गरिएपछि गैरदलितले पनि दलित धारामा पानी पिउने गरेको गाविस खरिदार लक्ष्मी विष्टले बताए ।
    चार धारा एकै ठाउँमा भएपनि दलित गैरदलित समुदायले छुट्टाछुट्टै प्रयोग गर्दै आएको गाउँले बताउँछन् । ती धारालाई बाहुन धारा भनेर चिनिन्छ । गाउँघरमा छुवाछुतको भावना कायमै रहेकाले छाउपडी र सुत्केरीलाई अझैपनि बाहुन धारामा छुन दिदैंनन् । ‘धारा नजिकै खापरको मन्दिर भएकाले महिलाहरु आफै छुन मान्दैनन्,हामीले त्यस्तो प्रतिवन्ध गरेका छैनौं,’ उमेश कार्कीले भने । ती धारा कहिले निर्माण गरिएका हुन् भन्ने बारे बुढापाका समेत वेखवर छन् । बस्तकोटमा दमाई,कामी, सार्की र बाहुन गरी चार जातिको बसोबास छ ।
 

No comments:

Post a Comment