स्थानीय विकास अधिकारी नहुँदा काममा अवरोध

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ वैशाख ।
    स्थानीय विकास अधिकारी नहुँदा जिल्ला विकास समिति सुर्खेतको काममा अवरोध भएको छ । स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीको सरुवा भएपछि विकासका योजना, गाविसको निकासा लगायतका काममा अवरोध भएको हो ।
    मंगलवार पर्यटन विकास मञ्चले गरेको स्थानीय विकास अधिकारी सुर्खेत नभएकाले विकासमा परेको बाधा विषयक अन्तरक्रिया कार्यक्रममा तत्कालीन स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले जिल्ला परिषदको नाममा पुस मसान्तदेखि नै कामहरु थाँती राखेपछि विकासका काम पछाडि परेको सरोकारवालाहरुले बताएका छन् । जिविसका योजना अधिकृत कृष्ण खरेलले पुस महिनादेखि नै कार्यालयका काम रोकिएको जानकारी दिए ।
    केही दिनमा आउने गरी काठमाडौं गएका स्थानीय विकास अधिकारी फर्केर नआएपछि काममा वाधा पुगेको उनको जिकिर छ । अख्तियारी पत्र नदिएरका कारण निकासा समेत गर्न नसकिएको उनको भनाइ छ । गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष तिलकराम अधिकारीले स्थानीय विकास अधिकारीको लापरवाहीले गर्दा गाविस सचिवहरुलाई मर्का परेको बताए । पर्यटन विकास मञ्चका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।
 

No comments:

Post a Comment