मध्य र सुदूरपश्चिम जोड्ने छोटो सडक

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ बैशाख ।
   तराईको पूर्वपश्चिम राजमार्गसंग सडक यातायातले मध्य पहाड तथा सुदूर पहाडलाई जोड्ने छोटो मार्ग तयार हुने भएको छ । कर्णाली चिसापानी देखि सुर्खेतको गुटु हुँदै अछाम जोड्ने छोटो मार्ग निर्माण हुन लागेको हो ।
    सात वर्ष अघि गुटु गाउँ विकास समितिले ग्रामीण सडक अन्तर्गत निर्माण थालेको उक्त सडक तराईको राजमार्ग र पहाडी जिल्लालाई जोड्ने छोटो हुने भएपछि अहिले केन्द्रीय योजनामा समेत परेको छ ।        अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३ सय ९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दूरी पर्ने जिल्ला प्राविधिक कार्यालय सुर्खेतका इन्जिनियर ओमदत्त रेग्मी बताउँछन् । गुटु गाउँ विकास समितिले निर्माण सुरु गरेको घाटगाउँ जंगलाघाट सडकलाई जिल्ला विकास समितिले समेत बजेट छुट्याउन थालेपछि पछिल्लो पटक केन्द्रीय कार्यक्रममा परेको इन्जिनियर रेग्मीले बताए ।
    कर्णाली चिसापानी हुँदै मंगलसेन जोड्न छोटो भएकाले अछाम जिल्ला विकास समितिले समेत जंगलाघाट क्षेत्रमा सडक निर्माण गर्न चासो देखाएको इन्जिनियर रेग्मीले जानकारी दिए । उनले अछाम जिविसले सुर्खेत खण्डमा सडक निर्माण गर्न अनुमति माग गरे बताए ।
    तीन जिल्ला जोड्ने सडक निर्माणसंगै कर्णाली नदीमा फेरी निर्माणको काम समेत भइरहेको इन्जिनियर रेग्मीले बताएका छन् । कर्णाली चिसापानीदेखि मंगलसेन जोड्न कर्णाली नदीमा घाटगाउँ र जंगलाघाटमा गरी दुई स्थानमा पुल निर्माणको आवश्यकता पर्ने भएको छ ।
    केन्द्रीय योजनाको २१ लाख, गुटु गाविसको ९ लाख र जिल्ला विकास समितिको ५ लाख रुपैयाँ लागतमा काम भइरहेको उक्त सडकका १४ किलोमिटर ट्रर्‍याक खोल्ने काम पुरा भएको उपभोक्ता समितिका सदस्य बालाराम धमलाले जानकारी दिए ।
    कर्णाली चिसापानी घाटगाउू गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भएमा सुर्खेतको पश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने गुटु गाविसका पूर्व अध्यक्ष काशीराम देवकोटाले बताए । उनले सडकले चौकुने सिमेन्ट उद्योगका लागि समेत सहयोग पुग्ने जनाए ।
 

No comments:

Post a Comment