उत्तरी गाविसहरु जोड्ने रिङ रोडको ट्रयाक खोलिने

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १० बैशाख ।
    सुर्खेतको उत्तरी गाविसहरुलाई जोड्ने रिङ रोडको तयारी सुरु भएको छ । क्षेत्र नं. २ अन्तर्गत पर्ने गाविसहरुलाई जोड्नका लागि ट्रयाक खोल्ने काम एक महिनाभित्र हुने सभासद हृदयराम थानीले बताए । आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने गाविसहरु घुम्दै उनले भने, ‘अवको एक महिनाभित्र उत्तरी गाविसहरु जोड्ने रिङ रोडको ट्रयाक खोल्ने काम सुरु हुनेछ ।’ रिङरोडको ट्रयाक खोलिएपछि सवै गाविसहरुका सडकले एकले अर्कोलाई छुनेछन् ।
    क्षेत्र नं. २ का १५ वटै गाविसि पुगेर सभासद थानीले विकास निर्माणको लागि जनताको राय सुझाव लिएको बताए । उनले विभिन्न गाविसहरुमा पुगी आफूले तोकिएको समयमै संविधान बनाउन पहल गर्ने र विकास निर्माणको लागि सक्दो पहल गर्ने बचनसमेत दिए । मंगलवार रझेना र नेटामा पुगेर उनले आफ्नो गाउँ घुम्ने अभियान सम्पन्न भएको जनाए ।
    रझेनामा भएको कार्यक्रममा थानीले दुई दशकदेखि सुर्खेतको विकास र जनताको सेवामा इमानदारीका साथ लागिरहेको भन्दै आगामी दिनमा जनताको चाहना अनुसार नै अघि बढने वताए । निर्धारित समयमै लोकतान्त्रिक संविधान निर्माण हुने दावी गर्दै उनले संविधान निर्माण पछि मुलुकमा स्थायी शान्ति,
राजनीतिक स्थिरता र विकासले गति लिने दावी गरे । क्षेत्र न २ का क्षेत्रीय सभापति कमलराज रेग्मीले पार्टी संगठनलाई मजबुद वनाउँदै विकासका गतिविधीलाई पनि अघि बढाउन कार्यकर्तालाई निर्देशन दिएभने  क्षेत्रीय उपसभापति नारायणकुमार कोइरालाले विकास निर्माण र संगठन विस्तारको कामलाई संगसंगै अघि वढाउन सके कांग्रेस अझ वलियो भएर जाने बताए ।
    कार्यक्रममा क्षेत्रीय सदस्य वीरवहादुर वलीले सभासद थानीको परिकल्पना अनुसार रिङ रोड निर्माणको काम भैरहेको वताउँदै रिङ रोडले उत्तरी क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउने दावी गरे ।
    कांग्रेस रझेनाका सभापति ललितमान खत्रीको सभापतित्वमा भएको कार्यक्रममा मानवहादुर खत्री, ध्वजवहादुर खड्का लगायतले आफनो भनाइ राखेका थिए । नेटामा पनि कार्यकर्ता भेटघाट गरिएको थियो । यसैवीच सभासद हृदयराम थानीले नेटा गाविस वडा न ३ र ४ जोडने मजुवा खोलाको बेलीव्रिज पुल उदघाटन गरेका छन् । गाविस र स्थानीय उपभोक्ताको ५०/५० हजार रुपैयाँसहित जिल्ला विकास समितिको १७ लाख रुपैयाँमा निर्माण भएको वेलीव्रिजको उदघाटन गरेको सहायक इन्जिनियर बिष्णुवहादुर शाहीले वताए । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष डिलवहादुर शाहीले पुल निर्माण भएपछि यस क्षेत्रका जनता खुशी भएको जनाए । उनले अव एक ठाउँदेखि अर्कोमा आवतजावत गर्नपनि सहज हुने बताए ।  

No comments:

Post a Comment