सिंचाई असुविधाले बीऊ उत्पादनमा समस्या

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    सिंचाइ अभावले गर्दा बीऊ उत्पादनमा समस्या हुने गरेको सार्वजनिक सुनुवाईका सहभागीहरुले बताएका छन् । साना किसान कृषि संस्था लि. उत्तरगंगा–९ सुर्खेतले व्यावसायिक कृषि तथा व्यापार आयोजनाको सहयोगमा आयोजना गरेको साना किसान वीऊ  उत्पादन तथा ट्रेडिङ सेन्टरको सार्वजनिक सुनुवाईमा आएका सहभागीहरुले सिंचाइको अभावले गर्दा वीऊ उत्पादनमा घाटा हुने गरेको बताए ।
    पर्याप्त सिंचाइ नभएर लगाएका गहुँ, धान, तोरीलगायतका र तरकारीका वीऊहरु मर्ने गरेको गुनासो कृषकहरुले गरे । वीऊ लगाएर फल राख्ने समयमा किरा, रोग लाग्ने जस्ता समस्या देखिने गरेको कृषक धनकला वुढाले जनाइन् । गर्मी समयमा पानीको समस्या हुने र जसले गर्दा वीऊ फस्टाउन नपाउने उनको भनाइ
छ । वीऊ उत्पादन राम्रो नभएपछि वीऊ उत्पादनमा घाटा देखिएको अनुभव उनको छ ।
    सार्वजनिक सुनवाइमा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका चित्रप्रसाद रेग्मीले सिंचाईं अभावले लक्षित क्षेत्रफलमा गहँु उत्पादन गर्न नसकिएको, रोग र किराले उत्पादनमा कमी आएको, वाहिरका गाविसहरुमा उत्पादन गरिएका वीऊ खरिदमा यातायातको समस्या, वीऊ उत्पादनमा वजेट नभएकोलगायतका समस्याहरु देखिएको जानकारी उनले दिए ।
    प्रतिवेदनमा वीऊ उत्पादन वढाउनका लागि प्राविधिकहरुलाई नयाँ प्रविधिवारे दक्ष वनाउनुपर्ने, वीऊ उत्पादनमा कृषकहरुलाई अनुदानमा उन्नत वीऊको व्यवस्था हुनुपर्ने, भण्डारण सामग्री पर्याप्त हुनुपर्ने लगायतका सुझावहरु उल्लेख गरिएको छ ।
    कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका यमबहादुर रानाले कृषिमा सहज बनाउनु नै आफ्नो कार्यालयको लक्ष्य भएकाले कृषकहरुलाई भरपुर सहयोग गर्ने बताए । वीऊ उत्पादन वढाउनका लागि सिंचाइ आवश्यक भएकाले यसका लागि सबैले पहल गर्नुपर्ने सुझाव उनले दिए ।
    संस्थाका उपाध्यक्ष वृन्दा थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा नेपाली कांग्रेसका चुँडामणि थानी, नेकपा एमालेका महेश तिवारी, पीआरटीएसटीका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत वेदप्रसाद चौलागाईं, आरटीएसजीका वित्त विज्ञ भरत ढकाल, उपआयोजना व्यवस्थापक पुष्पा देवकोटालगायतको सहभागिता रहेको थियो । 
 

No comments:

Post a Comment