सुर्खेतमा एचआईभीबाट ३४ को मृत्यु, ४५९ जना संक्रमित

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    सुर्खेतमा दश बर्षमा एचआईभी एड्सबाट साढे ४ सय जना संक्रमित भएका छन् । सन् २००४ देखि सुर्खेतमा एचआईभीको क्षेत्रमा काम गर्न लागिएको हो । सोही अवधिमा एचआइभीबाट ३४ जनाको मृत्यु भइसकेको छ ।
    जिल्ला एड्स समन्वय समिति (ड्याक) सुर्खेतका अनुसार सन् २००४ देखि २०१४ सम्म ४ सय ५९ जना संक्रमित भएको र ३४ जनाको मृत्यु भएको छ । संक्रमितहरु मध्ये २ सय ५१ जना पुरुष र २ सय ८ जना महिला रहेका छन् । त्यसमा पनि सुर्खेत जिल्लाका मात्रै ३ सय १७ जना र १ सय ४२ जना अन्यत्र जिल्लाका छन् ।
    यसैगरी सुर्खेतमा नयाँ एचआईभी संक्रमितहरुको संख्या प्रति बर्ष घट्दै गएको छ । ड्याकका संयोजक भानुभक्त बस्यालका अनुसार आव ०६८/०६९ मा ४८ जना नयाँ संक्रमित पत्ता लागेकोमा आव ०६९/७० मा घटेर ३९ जना र आव २०७०/७१ मा त्योपनि घटेर २८ जनामा झरेको छ । गाउँगाउँमा व्यापक जनचेतना, एचआईभीको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको समन्वयात्मक कामका कारणले एचआईभीविरुद्ध सचेतना जाग्दै गएको अनुभव उनले सुनाए ।
    कामको सिलसिलामा बसाई सर्ने परिवारहरु एचआईभीको बढी जोखिम मा रहेका छन् । त्यतिमात्र होइन ऊर्जा शील उमेर भएकाहरु नै संक्रमित बन्न पुगेका छन् । ड्याकको तथ्यांक अनुसार सुर्खेतमा २० देखि ५० बर्ष उमेरका ३८८ जना संक्रमित बन्न पुगेका छन् । संयोजक बस्यालले काम गर्नुपर्ने उमेर समूह नै संक्रमित हुनु घरपरिवार, समाज र मुलुकका लागि ठूलो क्षति भएको बताए ।
    सुर्खेतबाट धेरैजसो कामका सिलसिलामा भारततिर काम गर्न जाने र उतै असुरक्षित यौन व्यहारबाट संक्रमित हुने गरेको पाइएको उनको भनाइ छ । सुर्खेतमा संक्रमित भएका ४ सय ५९ जनामध्ये २ सय १३ जना त रोजगारीका लागि बाहिर काममा गएकाहरु नै हुन् ।
    एचआईभीबाट सुर्खेतमा ३४ जनाको मृत्यु भएको, ४५ जनाले स्थानान्तरण गरेको र २८ जना सम्पर्कमै नरहेको संयोजक बस्यालले बताए । धेरैजसो मानिसहरु कामका लागि भारत जाने गर्नाले संक्रमित हुने गरेको पाइएकोले आफ्नै गाउँघरमै रोजगारीको अवसर सिर्जना गर्न सके संक्रमित हुने दरमा पनि कमी आउने उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लोकबहादुर शाहीले एड्सका विरुद्ध सवैको हातेमालो अपरिहार्य भएको बताए ।
    यसैवीच आगामी आइतवार एचआईभी विरुद्धको अभियान संचालनको सम्झनामा सुर्खेतमा पनि दीप प्रज्ज्वल कार्यक्रम गरी मनाइने भएको छ । एचआइभी एड्ससंग काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वयमा सो कार्यक्रम मनाइने भएको हो ।

No comments:

Post a Comment