संक्रमित बालबालिका सहाराको खोजीमा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कैलाली, २५ जेठ ।
कैलालीको बलिया गाविस–८ भुरुवाका १३ वर्षीय भीम टमट्टा, ६ वर्षीय जीवन टमट्टा र ४ वर्षीय लक्ष्मी टमट्टा सहारा विहीन बन्न पुगेका छन् । एचआईभी संक्रमित आमाबुबाको मृत्युपछि ती बालबालिका सहाराविहीन बन्न पुगेका हुन् । तीन वर्षअघि बुबा र एक महिना अघि आमा गुमाएका उनीहरू अहिले सहाराको खोजीमा छन् । बुबा र आमाको मृत्युपछि भीमका भाइ जीवनपनि थला परेपछि उनीहरूको उपचारका लागि टीकापुर अस्पतालमा ल्याइएको छ ।
तर उनीहरूको उपचार खर्च नभएपछि टीकापुर अस्पतालका केही कर्मचारीले आर्थिक सहयोग गरेर उपचार गराइरहेका छन् । उनीहरूको रगत जाँच गराउँदा एचआईभी पोजिटिभ देखिएको टीकापुर अस्पतालका डा. नरेन्द्रकुमार खनालले बताए । उनका अनुसार उनीहरूलाई औषधोपचार खर्चको समस्यासंगै साँझविहान खानको पनि समस्या छ । आमाको मृत्युपछि घरमा थला परेका उनीहरूलाई एचआईभी संक्रमितको सेवामा समर्पित जगत भण्डारीको पहलमा जेठ ४ गते टीकापुर अस्पताल ल्याइएको थियो । यस क्षेत्रबाट रोजगारीका लागि भारत जाने भएकाले उतैबाट एचआईभी बोकेर ल्याउने र श्रीमतीलाई सार्ने गरेका कारण एचआईभी सार्ने गरेको पाइएको एचआईभी एड्सका क्षेत्रमा काम गर्ने संघसंस्थाको भनाइ छ । कैलालीमा मात्र २ हजारभन्दा बढी एचआईभी पोजिटिभमध्ये महिला र बालबालिका नै बढी भएको बताइएको छ ।

No comments:

Post a Comment