सल्यानमा एकसातादेखि झाडापखाला

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सल्यान, २५ जेठ ।
    सल्यान जिल्लामा एक सातादेखि फैलिएको झाडापखालाको प्रकोपका कारण दुई सयभन्दा बढी विरामी परेका छन् । लामो समयसम्म परेको खडेरीका कारण स्थानीयबासिन्दा झाडापखालाको प्रकोपबाट प्रभावित भएका हुन् । झाडापखालाको प्रकोपका कारण जिल्लाका दुई दर्जन गाविसका सर्वसाधारण प्रभावित भएका छन् ।
    झाडापखालाको प्रकोप बढेपछि विभिन्न स्वास्थ्य संस्थाहरूमा विरामीको संख्या ह्वात्तै बढेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले बताएको छ । दैनिक ८/१० जना मात्र विरामी  आउने स्वास्थ्य संस्थाहरूमा अहिले दैनिक २५/३० जनासम्म पुग्ने जिल्ला स्वास्थ्य प्रमुख डा. विकास देवकोटाले बताए । जिल्लाका थारमारे, कोटबारा, कोटमौला, कजेरी, चादेकरेन्जी, मार्के, बडागाउँ माझकाँडा, निगालचुला, त्रिवेणी, काभ्राका स्थानीयवासी बढी प्रभावित छन् ।
     जिल्ला स्वास्थ्य प्रमुख डा. देवकोटाका अनुसार ‘बढ्दो खडेरीसंगै खानेपानीको अभावका कारण झाडापखाला बढेको हो,’ झाडापखालाको प्रकोप बढ्दै गएपनि अहिलेसम्म कसैको ज्यान भने गएको छैन । कुनैपनि गाविसहरूमा झाडापखाला महामारीको रूपमा फैलिन नदिनका लागि उच्च सर्तकता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
    लामो खडेरी परेपछि झाडापखालासंगै अन्य रोगहरूका विरामी समेत बढ्न थालेका छन् । अहिले दैनिकजसो स्वास्थ्य संस्थाहरूमा टाइफाइड, जन्डिस, ज्वरोलगायतका विरामीको चाप बढेको स्वास्थ्य संस्थाहरूले बताएका छन् । 

No comments:

Post a Comment