चौकीमा पिठो लिन आउनेको भिड

सुर्खेतपत्र संवाददाता 
कालिकोट, २६ मंसिर ।
    जिल्लाको दक्षिण क्षेत्र फुकोट गाविसको इलाका स्वास्थ्य चौकीबाट सर्वाेत्तम पिठो लिन आउनेको हिजोआज भिड लागेको छ । लामो समयको अन्तरालपछि वितरण गर्न लागिएको सर्वाेत्तम पिठो बाँड्न सुरु गरेपछि ग्रामीण इलाकाका स्थानीय महिला आ–आफ्ना बालबालिका बोकेर स्वास्थ्य चौकीमा आउने गरेका छन् ।
    ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई वितरण गरिने पौष्टिक तत्वका रूपमा विगत वर्ष झैं यसवर्ष पनि जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले वितरण सुरु गरेको हो । विगत वर्षमा वितरण गरिने सर्वाेत्तम पिठो समयमा जिल्लामा ढुवानी नभएका कारण म्याद समाप्त हुने समयमा पुग्ने गरेको भएपनि यसवर्ष म्याद समाप्त हुन एक महिनाअघि स्थानीय स्वास्थ्य चौकीमा आइपुगेको बताइएको छ ।
    इलाका स्वास्थ्य चौकी फुकोटका अनुसार फुकोटमा मात्रै ९ क्वीन्टल कोटामा ८ क्वीन्टल आइपुगेको र अरू भरिया लगाएर छिट्टै ल्याउने तयारी भइरहेको छ ।
    पिठो बाँड्न सुरु गरेको थाहा पाएर बालबालिका बोकेर स्थानीय महिला दिनहुँ ५० देखि १०० बढीको लाइन लाग्ने गरिएको छ । कालिकोटमा अघिल्लो वर्ष स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य महाशाखामार्फत सर्वाेत्तम पिठो ६६ हजार ५४ केजी आएको र केन्द्रबाट सोहीअनुसार ढुवानी रकम नआउँदा समस्या भएको थियो । सर्वाेत्तम पिठो म्याद समाप्त हुनै लाग्दा गतवर्ष दामासाहीका दरले वितरण गरिएको थियो ।
    यति गर्दापनि कालिकोटमा २२ हजार किलो सर्वाेत्तम पिठो जगेडा रहन पुग्दा गाई गोरुलाई खुवाउनु पर्ने अवस्था आएको थियो । यसवर्ष पनि कालिकोटमा २८ हजार ४०० केजी सर्वाेत्तम पिठो आएको र वितरण हुन ४०० केजी बाँकी रहेको जिल्ला अस्पताल कालिकोटका वरिष्ठ अहेव कटकबहादुर
महतले बताएका छन् । गतवर्ष कालिकोटका ग्रामीण इलाकामा सर्वाेत्तम पिठोका बारेमा बच्चालाई के कसरी खुवाउने अभिमुखीकरण समेत थाहा नपाएर चिसो पानीमा घुलेर खाने गरेको कारण कयौं बिरामी परेका थिए । ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई डेढ केजी र एक वर्षदेखि दुई वर्षसम्मका बालबालिका लागि दुई केजीका दरले वितरण गरिंदै आएको छ । कालिकोटका स्युना, सिप्खाना, मेहलमुडि, मुम्रा, भर्ता र चिलखाया गाविसमा वितरण हुन बाँकी रहेको बताइएको छ । कालिकोटका लागि बाल स्वास्थ्य महाशाखाले माग नगरेर धमाधम पठाएकाले अझै कति आउँछ जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा जानकारी नभएको बताइएको छ ।
 
 

No comments:

Post a Comment