प्रचण्ड र भट्टराईवीचका १२ विवादहरु

विवाद नं. १
    नेकपा (माओवादी) ले जनयुद्ध थाल्नु एक वर्षअघि अर्थात २०५१ सालमा बाबुराम भट्टराईलाई संयुक्त जनमोर्चा नेपालको अध्यक्ष पदबाट हटाएर उक्त स्थानमा पम्फा भुसाललाई ल्याइयो । मुख्य नेतृत्व भूमिगत जानुपर्छ त्यसका निम्ति अहिलेबाट नै अभ्यास गर्नुपर्छ भन्ने नीतिगत निर्णय गरी भुसाललाई बाहिरी मोर्चाको रुपमा रहेको जनमोर्चाको जिम्मेवारी दिइयो । जनमोर्चाको अध्यक्षका रुपमा भट्टराई स्थापित भएकाले भोलि भूमिगत बस्न गाह्रो हुनसक्छ भन्ने पार्टीको निर्णय थियो । त्यसको भित्री राजनीति भने बेग्लै थियो । जनमोर्चाको अध्यक्ष हुँदा जहाँ तहीं भट्टराईको मात्र चर्चा छायो, पार्टीका तत्कालीन महामन्त्री प्रचण्ड चाहिं गुमनाम रहे । त्यो कुरा प्रचण्डलाई मन परेको थिएन । आफूलाई जिम्मेवारीबाट हटाइएकामा भट्टराईले विरोध जनाइहाले । चार महिनापछि फेरि उक्त जिम्मेवारी भट्टराईलाई नै दिइयो । यो परिघटनाबाट प्रचण्डले भट्टराईलाई नेतृत्वको भोक कत्तिको रहेछ भन्ने पहिलो परीक्षण गरेको रुपमा बुझिन्छ ।
विवाद नं. २
    २०४८ सालमा पार्टी एकीकरण भएर भट्टराई आउनुअघि नै आफूहरुले जनयुद्धको तयारी गरिसकेको प्रचण्ड पक्षको दाबी थियो । यद्यपि, भट्टराई आफू मिसिएपछि २०५१ सालमा जनयुद्धको खाका कोरिएको जिकिर गर्थे । यो कुरामा दुई वटाले अडान लिएनन् । जब जनयुद्धको उद्गमविन्दु कहाँ बनाउने भन्ने प्रश्न उठ्यो, प्रचण्ड–राम बहादुर थापाले रुकुम रोल्पालाई बनाउनु पर्छ भनेर प्रस्ताव गरे । भट्टराईले पुरानो राज्यसत्ताको उद्गम विन्दु गोरखा भएकाले त्यहींबाट ध्वंसको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने तर्क अघि सारे । त्यो कुरामा राजनीतिक वहस भएन । किनभने यो कुनै लेनदेनको विषय थिएन । दुवै पक्षले खासै अत्तो थापेनन् । आखिर रुकुम, रोल्पा, गोरखा, सिन्धुलीलगायत देशैभरिबाट एकै पटक जनयुद्ध थाल्ने निचोडमा उनीहरु पुगे ।
विवाद नं. ३
    जनयुद्ध थालेको दुई वर्षमा संचार माध्यमले भट्टराईलाई जनयुद्धकै पर्यायवाची शब्दका रुपमा चित्रित गर्न थाले । अन्तर्राष्ट्रिय जगतमा पनि भट्टराईकै चर्चा/ परिचर्चा हुन थाल्यो । यो कुरा प्रचण्डले फिटिक्कै रुचाएका थिएनन् । २०५५ को भारतको फरिदावादमा सम्पन्न चौथो विस्तारित बैठकमा नेतृत्व केन्द्रिकरणको प्रश्न, महामन्त्री प्रचण्डलाई स्थापित गर्ने र तस्विर सार्वजनिक गर्ने तथा महामन्त्रीको भनाइ उक्तिका रुपमा प्रयोग गर्ने प्रस्ताव आयो । यो प्रचण्ड आफैले भन्दा पनि अन्य सदस्यहरुबाट अघि सार्न लगाए । भट्टराईले यसो गर्दा स्टालिनको ३० प्रतिशत कमजोरी पुनरावृत्ति हुने र पार्टीभित्र नोकरशाहीतन्त्र हावी भइ जनयुद्ध समाप्त हुने जिकिर गरे । अन्तत: प्रचण्डले ‘व्यक्ति स्थापित गर्ने भनेको होइन, सबैलाई स्थापित गर्ने कुरा हो’ भनेपछि उक्त बैठकमा भट्टराई एकाएक लचिलो भए । बैठकमा भट्टराईले आँसु झार्दै भनेका थिए, ‘मैले जी.एस.
(जनरल सेक्रेटरी) लाई अनावश्यक शंका गरें । मैले लिडरसिपका बारेमा जे जे सोचेको थिएँ, जीएसले त्यही सोच्नु भएको रै’छ । म यो बैठकमा आत्मालोचित हुन्छु ।’ माओवादीको बैठकमा अन्य नेताहरु रुनु सामान्य नै मानिन्छ । तर भटराई रोएको त्यही एक मात्र घटना भएको पार्टीभित्र अहिले पनि चर्चा हुने गर्छ । चौथो विस्तारित बैठक लगत्तै भट्टराईले ‘कार्लमाक्सबारे सिकौं’ भनेर जनादेशमा लेख छपाए, जसमा कार्लमाक्सको प्रशंसा गर्दै भित्री रुपमा प्रचण्डलाई घुमाउरो पारामा नेतृत्व यसरी गर्नुपर्छ भनेर पाठ सिकाएका थिए ।
    २०५६ को सुरुतिर भारतको पन्जाबस्थित रोपड भन्ने ठाउँमा केन्द्रीय समिति बैठक बस्यो । त्यसमा भट्टराईको जनादेशमा प्रकाशित लेखबारे निकै आलोचना भयो । भट्टराई स्वयंले गल्ती गरें भन्दै आत्मालोचित भए र उक्त बैठकले भट्टराईलाई पार्टीको कुरा बाहिर ल्याएकोमा ‘अराजकतावादी कमजोरी’ भनेर किटानी र्गर्‍यो । यो पनि सम्झौतामै टुंगियो । त्यसलाई पनि महान् एकता कायम गरिएको घोषणा गरियो ।
विवाद नं. ४
    २०५७ मा भारतकै पन्जाब प्रान्तको भटिण्डामा दोस्रो राष्ट्रिय सम्मेलन भयो, जसले प्रचण्डपथ ल्यायो । यस सम्मेलनमा प्रचण्ड पक्षधरले विश्व कम्युनिस्ट आन्दोलनमा नौलो विचारधारा जन्मेको दाबी गर्दै प्रचण्ड विचार ल्याउने प्रयास समेत गरे । एकथरीले ‘एभरेस्ट थट’ राख्ने चर्चा चलाए । तर, भट्टराईले अहिले त्यस्तो विचार नजन्मेको दाबी गर्दै प्रचण्ड विचार नामाकरण गर्दा पूरै गलत हुने तर्क गरे । दुवैको झगडालाई मिलाउन रामबहादुर थापा र टोपबहादुर रायमाझीले संयुक्त रुपमा प्रचण्डपथको प्रस्ताव ल्याए । कम्युनिस्ट परिभाषामा पथ भन्नाले कार्यनीतिभन्दा अलि माथि, रणनीतिभन्दा एक तह तल भन्ने बुझिन्छ । प्रचण्ड ‘प्रचण्ड थट’ ल्याउन चाहन्थे । विचार पनि नबनेको अवस्था भनेर प्रचण्डले स्वीकारे । तर पार्टी कार्यदिशा भन्दा एक तहमाथि पुगेको भनेर भट्टराईले पनि स्वीकारे र दुवैबीच सम्झौता भयो ।
विवाद नं. ५
    तत्कालीन राजा ज्ञानेन्द्रले अप्रत्यक्ष रुपमा सत्ताको बागडोर हातमा लिएपछि माओवादीविरुद्ध व्यापक रुपमा सेना परिचालन भइरहेको थियो । त्यही बेला भारतमा मोहन वैद्य, सी.पी. गजुरेललगायत डेढ दर्जन माओवादी नेताहरु पक्राउ परे । यही परिवेशमा २०६१ साउनको रोल्पाको फुन्टिवाङमा केन्द्रीय समितिको पूर्ण बैठक बस्यो, जसमा रणनीतिक प्रत्याक्रमणको पहिलो चरण घोषणा गरियो । प्रत्याक्रमणको चरण भएकाले पार्टी, सेना र मोर्चा गरी तीन वटैको केन्द्रिकरण गर्नुपर्छ भन्ने प्रस्ताव प्रचण्डले अघि सारे । तर, भट्टराईले स्वीकारेनन् । उनको तर्क थियो, पार्टी र सेनाको केन्द्रीयकरण ठीकै छ । तर मोर्चाको हुनु हुँदैन । तर, बैठकमा भट्टराईले भने जस्तो नहुने भएपछि उनले स्थायी समितिबाट राजीनामा दिन्छु भनेर स्थायी समिति बस्ने व्यासबाट झरेपछि केन्द्रीय समिति (सीसीएम) र पोलिट्व्यूरो(पीबीएम) बस्ने फ्लोरमा एक घण्टा जति गएर बसे । लगत्तै चिया पिउने वेला प्रचण्ड र भट्टराईबीच वार्ता भयो । जनपरिषदको विषयमा केन्द्रिकरण पनि नगरौं । विकेन्द्रिकरण पनि नगरौं भन्नेमा सम्झौता भयो र भट्टराई पुरानै व्यासमा फर्किए । त्यो केन्द्रीय समितिलाई एकता र विजयको बैठक भनेर नामाकरण गर्दै एकमतले निर्णय पारित भयो ।
विवाद नं. ६
    फुन्टिवाङ बैठकसम्म दुई शीर्ष नेताबीच कुरा त मिल्यो । तर त्यस बैठकमा पारित दस्तावेजले औंल्याएको पार्टीभित्र देखिएका अवसरवादका १४ चिन्तन भन्ने कुराले त्यसको दुई महिनामै फेरि समस्या बल्झायो । दस्तावेजमा पार्टीभित्र अवसरवादी चिन्तन हावी भएको उल्लेख थियो । तर, प्रचण्ड पक्षले तल्लो कमिटीमा प्रशिक्षणमा अवसरवादको प्रतिनिधि पात्र जे.बी. (भट्टराईको टेकनेम जीतवीरको संक्षिप्त रुप) हो भनेर प्रशिक्षण दियो । लगत्तै भट्टराईले पार्टीभित्र चिन्तन र प्रवृत्तिगत समस्या आएको ठोकुवा गर्दै ४ र १३ बुँदे फरक मत हेडक्वार्टरमा बुझाए । फरक मत राखेको चार महिनापछि अर्थात २०६१ माघमा रुकुमको लावाङमा भट्टराईको ४ र १३ बुँदे बारेमा व्यापक आलोचना भयो । भट्टराईमाथि विचारमा स्खलन आएको, संशोधनवादी विचार राखेको भनेर उनी सहित पत्नी हिसिला र निकटका नेता दिनानाथ शर्मामाथि कारवाही भयो । त्यसपछि त्यो झगडा चुनवाङ बैठकमा मिल्यो । त्यसबेला प्रचण्डले घुमाउरो तवरमा आफूलाई रविन्द्र श्रेष्ठले र भट्टराईलाई मणि थापाले उत्साएको अभिव्यक्ति दिए । चुनवाङ बैठकमा रविन्द्र श्रेष्ठ सहभागी थिएभने मणि थापा बैठकमै गएका थिएनन् । यस बेलासम्म आउञ्जेल भट्टराईले उठाउँदै आएको आन्तरिक जनवादको कुरा तिलाञ्जली दिए, उल्टै प्रचण्डलाई त्यसभन्दा प्राधिकार दिए । सबै अधिकार हेडक्वार्टरलाई सुम्पिए । त्यही चुनवाङ बैठककै आधारमा १२ बुँदे समझदारी हुँदै शान्ति प्रक्रियामा उनी शहर छिरे । अन्तरिम सदनमा गए र अन्तरिम सरकार हुँदा संविधानसभामा सहभागी समेत भए ।
विवाद नं. ७
    पहिलो संविधानसभामा नेकपा (माओवादी) सबैभन्दा  ठूलो दल भयो, प्रत्यक्षमा १ सय २० सिट जितेर । समानुपातिक गरी २ सय २६ सिट भयो उसको । प्रधानमन्त्रीको बन्नेबारेमा भट्टराईको आफ्नै तर्क थियो, युद्धकालीन अवस्थामा संयुक्त क्रान्तिकारी जनपरिषदको संयोजक आफू भएकाले सत्ता प्रमुख पनि आफैले पाउनुपर्छ भलै पार्टीभित्र उनको पक्षमा बोलिदिने खासै जमात थिएन । पार्टीभित्र र बाहिर प्रचण्डको पक्षमा वातावरण बन्यो र उनी प्रधानमन्त्री बने । भट्टराई अर्थमन्त्री भए, माओवादीकै उम्मेदवार सरला रेग्मीबाट पराजित भएका वामदेव गौतमलाई वरियता क्रममा उनीभन्दा माथि ल्याएर उप्रधान तथा गृहमन्त्री बनाइयो । त्यो कुरा भट्टराईलाई चित्त बुझेको थिएन । सेनापति प्रकरणले प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्‍यो र सडक आन्दोलनमा गयो माओवादी । छ दिने आम हड्तालबाट पनि तत्कालीन माधवकुमार नेपालको सरकारको डेग चलेन । उल्टै आन्दोलन तुहियो । लगत्तै ललितपुरको खन्ना गार्मेन्टमा प्रचण्डले सांस्कृतिक कलाकारको बैठकमा आफूलाई भारतले प्रधानमन्त्री हुन नदिएको तर भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको दावी गरे । त्यो घटनाले भट्टराई प्रचण्डप्रति निकै क्रुद्ध भए । लगत्तै बसेको केन्द्रीय समिति बैठकमा प्रचण्डले आफूले त्यो आसयका साथ नबोलेको भनेपछि विवाद एकाएक सामसुम भयो र बैठकले प्रचण्डलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्‍यो ।
विवाद नं. ८
    पार्टी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेपनि प्रचण्ड नेपाली कांग्रेसका रामचन्द्र पौडेलसंग छ पटकसम्म प्रतिस्पर्धा गरे । यद्यपि उनले बहुमत जुटाउन सकेनन् । यहीबीचमा पार्टीभित्र विवाद चर्कियो । प्रचण्डको व्यक्तिगति कार्यशैलीविरुद्ध मोहन वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठहरुको गोंगबुमा जमघट भयो, जो गोंगबु डिनर भनेर चिनिन्छ ।
गोंगबु डिनर लगत्तै प्रचण्डले छैटौं विस्तारित बैठकको आयोजना गरे । पालुङटारमा भएको उक्त विस्तारित बैठकमा प्रचण्ड, मोहन वैद्य र भट्टराई ले छुट्टाछुट्टै दस्तावेज पेस गरे । यद्यपि, कसैको पनि पारित भएन । पालुङटार विस्तारित बैठक सिद्धिएको एक महिनापछि प्रचण्डले वैद्यको दस्तावेज मिलाएर फेरि जनविद्रोहको कार्यदिशा ल्याए, जसमा भट्टराईले लिखित फरक मत दर्ज गरे । त्यसको चार महिनापछि प्रचण्डले फेरि भट्टराईकै लाइनमा दस्तावेजलाई घुमाए । उनीहरुको विवाद फेरि सामसुम भयो ।
विवाद नं. ९
    २०६८ को वैशाखतिर लाइनका हिसावमा प्रचण्ड भट्टराईसंग नजिकिए । तर संठनमा भट्टराई पक्षलाई खासै जिम्मेवारी दिएनन् । यसबाट भट्टराई निकै क्रोधित बनिरहेका थिए । उनको प्रचण्डसंगको पुरानै तुष बाँकी थियो । वैद्य पक्षलाई भने आफ्नो दस्तावेज चार महिनामै फेरेको झोक छँदै थियो । यसैमा नारायणकाजीको आफूलाई जिम्मेवारी नदिएको असन्तोष पनि त्यहीं पोखियो । तीन जनाले प्रचण्डको कार्यशैलीमाथि प्रश्नचिन्ह तेस्र्याउँदै प्रचण्डको पार्टीमा भएको एकाधिकार तोड्ने मोर्चा भयो र धोबीघाट गठबन्धन बन्यो । यसैले भट्टराईलाई प्रधानमन्त्रीको रुपमा अघि सार्‍यो । लगत्तै बसेको केन्द्रीय समिति मा पहिलो पटक प्रचण्ड अल्पमतमा परे । तरपनि प्रधानमन्त्री बनाउने खेलमा प्रचण्ड नै बढी सक्रिय देखिए । प्रधानमन्त्री भइसकेपछि प्रचण्ड र भट्टराईबीच कुरा मिल्न थाल्यो, वैद्य समूह भने प्रचण्ड–भट्टराई दुवैसंग झन्झन् टाढिंदै गयो ।
विवाद नं. १०
    भट्टराई प्रधानमन्त्री भएका हरेक गतिविधिप्रति विरोध जनाइरहेको वैद्य पक्षले आफ्नै सरकार र नेताविरुद्ध पुत्ला दहनदेखि सडक आन्दोलन समेत गर्‍यो । यसमा प्रचण्डले जहिले सरकार को पक्षपोषण गरिरहे । संविधान जारी नगर्दै पहिलो संविधानसभा विघटन भयो र भट्टराई नेतृत्वको सरकारले नयाँ संविधान सभाको चुनावको घोषणा
गर्‍यो । संविधान सभा विघटन भएको दुई सातामै वैद्य पक्षहरु औपचारिक रुपमा पार्टीबाट अलग्गिए । भट्टराई सरकारले निर्धारित मितिमा निर्वाचन गराउन नसकेको भन्दै राष्ट्रपति रामवरण यादवले नयाँ सरकार गठनको आव्हान गरे । राष्ट्रपतिको त्यो आव्हानमा प्रचण्डकै मिलेमतो रहेको भट्टराई पक्षको आरोप थियो । त्यसमा भट्टराईले आफ्नै पार्टी, खासगरी अध्यक्षप्रति तीव्र आक्रोश पोखे । यद्यपि, प्रचण्डले भट्टराई सरकारकै पक्षमा उभिने वचन दिएपछि उनीहरुबीच स्वत: कुरा मिल्यो ।
विवाद नं. ११
    भट्टराई प्रधानमन्त्री भएकै बेला एमाओवादीको सातौं महाधिवेशन भयो हेटौंडामा । भट्टराईले त्यहाँ कुनै फरक दस्तावेज दर्ज गरेनन्, बरु अध्यक्षकै लाइनमा समर्थन गरे । उनले आफ्नो पक्षका टोपबहादुर रायमाझीलाई महासचिवका रुपमा प्रस्तावित गरेका थिएभने अध्यक्ष प्रचण्डले कृष्णबहादुर महरालाई । त्यसमा दुवै सफल
भएनन् । पोष्टबहादुर बोगटी महासचिव भए । अध्यक्ष, उपाध्यक्षद्वयको पुरानै पद कायमै रह्यो र ९९ जनाको केन्द्रीय समिति बनाइयो । हेटौंडा महाधिवेशनले प्रधान न्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी सरकार प्रस्तावित गर्‍यो । त्यसको एक महिना नबित्दै प्रधान न्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष भए, भट्टराई सत्ताबाट बाहिरिए । महाधिवेशनको म्याण्डेट विपरित २ सय ३६ जनाको केन्द्रीय समिति विस्तार गरिएपछि व्यापक विरोध भयो । नयाँ प्रस्तावित सदस्यमा आफ्ना मान्छे नपरेको झोक भट्टराईलाई छँदै थियो, ठीक त्यही बेला अध्यक्ष प्रचण्डसंग उनकै मान्छे पनि चिढिएका थिए । भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा मात्र दिएनन्, ढिलोचाँडो अध्यक्षले पनि राजीनामा गर्ने उद्घोष गरे । विवाद लम्बिंदै गएपछि अध्यक्ष वाहेक सबैको राजीनामा मागेर केन्द्रीय समितिमा झारियो । भट्टराईले सोचेका थिए, उनको राजीनामापछि पार्टीको जिम्मेवारी अध्यक्षले वहन गर्दछन् र निर्वाचनको कमाण्डर आफूलाई बनाउँछन् । तर, त्यसो भएन । केन्द्रीय समितिले निर्वाचनको कमाण्डर पनि अध्यक्षलाई बनायो । पार्टीलाई निर्वाचनको अवधिसम्म एकजुट भएर होमिन निर्देशन गरियो । निर्वाचनको वहानामा पार्टीभित्रको अन्तरद्वन्द्व केही समयका लागि टर्‍यो ।
विवाद नं. १२
    संविधानसभा–२ को परिणाम एमाओवादीले सोचे जस्तो भएन । पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै समग्र प्रक्रियाको बहिस्कार घोषणा गर्‍यो । यद्यपि, सवंविधानसभा प्रक्रियालाई वहिस्कार गर्ने भनिरहेका बेला भट्टराईले फेसबुकमार्फत जनताको मतलाई कदर गर्ने भनेर घुमाउरो तवरमा संविधानसभामा जाने संकेत गरेका थिए । नभन्दै त्यसको एक सातापछि पार्टीले पुरानो निर्णयलाई सम्यायो । भट्टराईले एकाएक फेसबुकमा पार्टीभित्र आन्तरिक लोकतन्त्रको माग गर्दै स्ट्याटस लेखे । त्यसले पार्टीभित्रको अन्तरद्वन्द्वलाई पुन: चर्काइदियो । त्यसको स्वरुप समानुपातिक सूचीमा देखा पर्‍यो । अहिले भट्टराई भन्दैछन्, ‘अध्यक्षले निर्णय सच्चाउने चाहना समेत राखेनन्, अब यसको छिनोफानो केन्द्रीय समितिमै हुन्छ ।’ अब यो द्वन्द्व २५ पुसदेखि हुने एमाओवादी केन्द्रीय समितितिर आकर्षित भएको छ । माओवादी नेताहरुको विश्लेषणमा प्रचण्ड–भट्टराईबीच कुनै वैचारिक झगडा होइन, व्यक्तिगत इगो हो । दुवैको अति महत्वकांक्षा, दुवैले आफूलाई सुपर म्यान ठान्ने प्रवृत्ति हो । ‘दुवैको आफ्नो स्वार्थलाई धुरीमा राखेर सम्झौतामार्फत समाधान गर्ने प्रवृत्ति
हो । यसमा सैद्धान्तिक, राजनीतिक, सांस्कृतिक मूल्य र मान्यता न्यून छ’ पूर्वपोलिटब्यूरो सदस्य मणि थापा भन्छन्, ‘यसले विचारधारात्मक प्रतिस्पर्धा दिने भन्दा पनि यथास्थितिलाई मलजल गरिरहेको छ । यो सिद्धान्तको जगमा भन्दा पनि व्यक्तिगत इगोको जमा खडा छ ।’ हुनपनि द्वन्द्वकालमा प्रचण्ड–भट्टराईको अन्तरसंघर्षलाई विचारसंग जोडेर हेरिन्थ्यो । देखावटी सही, उनीहरुबीच लाइनकै विवाद थियो, अब त्योपनि रहेन । अहिले उनीहरु दुवै शान्ति र संविधानको एउटै लाइनमा हिंडेका छन् ।’ थापा भन्छन्, ‘आखिर उनीहरुलाई चाहिएको पद र प्रतिष्ठा मात्र रहेछ । राजनीतिक मोलतोलको झगडा प्रष्टै उदांगियो । अहिले उनीहरुको लडाई पार्टीबाहिर ट्वीटर र फेसबुकमा छताछुल्ल हुँदैछ ।’ एमाओवादीका केन्द्रीय सदस्य विश्वभक्त दुलाल ‘आहुती’ अहिले उठेका विवादहरु सहमतिमै थाती राखेका विषयहरु भएको जिकिर गर्छन् । उनका विचारमा झगडाका सबै विषयहरु थाती रहेका थिए । निर्वाचनको मितिसम्मका लागि सबै कुरालाई ताला लगाइएको हो । परिणाम त्यति राम्रो नआउँदाखेरी अलि उग्र भएको मात्रै हो । भन्छन्, ‘यसलाई उचित तवरमा हल गरिनुपर्छ हिजो जस्तो सजिलै गरी मिल्यो भनेका आधारमा पार्टी निर्माण हुन सक्दैन । भित्रचाहिं केही पनि नमिल्ने, बाहिर प्रवक्ताले सबै कुरा मिल्यो भन्ने ढंगले अब पार्टी चल्दैन ।’
(अनलाइनबाट साभार)

 

No comments:

Post a Comment