बाजुरामा मदिरा पसल धेरै

सुर्खेतपत्र संवाददाता 
बाजुरा, १ माघ ।
    पछिल्लो समय बाजुरामा मदिरा बिक्रीवितरणको बिगबिगी बढ्दो क्रममा रहेको छ । बाजुरामा व्यवसाय गर्ने उद्योग दर्ताभन्दा पनि मदिरा बिक्री–वितरणका इजाजत लिने व्यापारीको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको देखिएको छ । २०६६ साल जेठ महिना देखि बाजुराबाट मदिरा बिक्रीको इजाजत दिइएयता ४४३ व्यवसायीले मदिरा बिक्रीको इजाजत लिएको जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
    बाजुरामा अन्य उत्पादन र आयआर्जनभन्दा पनि मदिरा बिक्रीको कारोबारमा वृद्धि भएको र मदिरा इजाजत लिएका विभिन्न मदिरा स्टोरबाट बाजुरामा डेढ करोड राजश्व संकलन हुने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त कार्यालय प्रमुख श्रीप्रसाद शर्माले बताए ।
    चालु आर्थिक वर्ष २०७०/७१ को हालसम्म व्यवसाय संचालनका लागि इजाजत लिएका १ सय ११ पसलमध्ये ७९ पसलले मदिरा बिक्री–वितरणको इजाजत लिएको घरेलु तथा साना उद्योग व्यवसायी समिति बाजुराका प्रमुख प्रशिक्षक विक्रमबहादुर कटुवालले बताए । मदिरा बिक्री–वितरणका लागि इजाजतपत्र दिइन थालेपछि बाजुरामा ५० प्रतिशतभन्दा बढीले मदिरा बिक्री–वितरणको इजाजत लिएका छन् ।
    बाजुरा उद्योग वाणिज्य संघबाट प्यान नम्बर लिएका ९८ व्यापारीमध्ये अधिकांशले मदिरा पसलको प्यान नम्बर लिएका छन् । बाजुराका स्थानीय बजारहरूमा पछिल्लो समय मदिरा बिक्री–वितरण सेवनको दर वृद्धि हुँदा समाजमा विभिन्न किसिमका कलह र घरेलु हिंसाका घटनाको दरमा वृद्धि भइरहेको जानकारको भनाइ छ ।
    जिल्लाका सबैजसो गाउँमा गैर कानुनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्रीवितरण पनि तीव्र हुँदा सरोकारवाला भने मौन बसिरहेका देखिन्छन् । जिल्ला सदरमुकामलगायत जिल्ला स्थानीय बजारमा नियमित अनुगमन नहुादा मदिरा बिक्रीको इजाजत लिएका पसले सम्पूर्ण सामग्री वितरण गर्नुका साथै समय गुज्रिएका सामान बिक्री गरिरहँदापनि बजार अनुगमनसमेत नहुँदा उपभोक्ता अझै मारमा परेका छन् ।
    स्थानीय प्रशासनले प्रत्येक महिनाको दुईपटक बजार अनुगमन गर्नुपर्ने प्रावधान भएपनि त्यो कार्यान्वयन हुन नसकेको कतिपय उपभोक्ताको भनाइ छ । प्रशासनबाट नियमित अनुगमन नहुँदा बाजुरामा कमसल र म्याद गुज्रिएका उपभोग्य वस्तु उपभोग गरिरहनुपरेको छ ।
 
 

No comments:

Post a Comment