सडक निर्माणमा जुटे महिला

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, ४ माघ ।
    घरको चुल्होचौकोमा मात्र सीमित रहने बाँके जिल्ला उढरापुर गाविसका महिलाहरू अहिले विकास निर्माणको काममा पनि त्यत्तिकै सक्रिय छन् ।
    तिहारमा खेलिएको देउसी, भैलोबाट उठेको रु. ५० हजार रकमका साथै आफ्नो श्रम खर्चेर त्यस गाविसका महिलाहरू जिल्लाको परसपुर–गौघाट सडकखण्डमा पर्ने एल गाउँदेखि उढरापुर गाविस जाने करिब दुई किलोमिटर बाटो निर्माण कार्यमा जुटेका छन् ।
    वर्षातको समयमा त्यस क्षेत्रका जनताले आवागमनमा अत्यन्तै कठिनाइ भोग्नुपरेपछि जागृति युवा क्लब र सिर्जना टोल महिला समूहको सक्रियतामा बाटो निर्माण कार्य थालिएको हो ।
    यसैबीच, जिल्लाको बैजापुर गाविसका नागरिकले विद्यालय र गाउँलाई खुला दिसामुक्त बनाउन सामूहिक प्रयास थाल्ने अठोट गरेका छन् । सो गाविसलाई खुल्ला दिसामुक्त गाविस बनाउन र विद्यालयको सरसफाई गर्न आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बैजापुरका १८० जनाले गाविसलाई खुल्ला दिसामुक्त बनाउन आफैंबाट अभियान थाल्ने प्रतिबद्धता जनाएका हुन् ।
    ‘संगै सिकौं, संगै बढौं’ परियोजना अन्तर्गत बेस बाँकेले आयोजना गरेको अभिमुखीकरणमा उनीहरूले व्यक्तिगत, घर, विद्यालय र गाउँको सरसफाई गर्ने उद्घोष पनि गरे । फोहोरले वातावरण दुर्गन्धित भइ विभिन्न रोग लाग्ने भएकाले फोहोर व्यवस्थापनमा सामूहिक पहल थालेको माहुस्थित जनभावना प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम चौधरीले बताए । 
 

No comments:

Post a Comment