अन्न लगाउन छोडी सुन्तला खेती

सुर्खेतपत्र संवाददाता 
दैलेख, ४ माघ ।
    दैलेखको पूर्वमा पर्ने कालभैरव गाविस–६ पाल्तका खड्कबहादुर मल्लले यो वर्ष सुन्तला उत्पादनबाट रु. ७ लाख आम्दानी गर्नुहुने भएको छ । सुन्तलाको मौसम सकिंदै गर्दा अहिले जिल्ला मै सुन्तलाले राम्रो मूल्य पाएपछि सुन्तला टिपेर भण्डारण गरेका कृषकहरू निकै खुशी देखिएका छन् ।
    १७ पाथी बीऊ लाग्ने क्षेत्रमा अन्न लगाउन छोडेर २०३६ सालदेखि सुन्तला उत्पादन सुरु गरेका उनीसंग अहिले ५०० भन्दा बढी सुन्तलाका बोट रहेका छन् ।
    चौंतीस वर्ष अघिदेखि सुरु गरेको यो व्यवसायले घरखर्च, छोराछोरीको पठनपाठनलगायतमा सजिलो भएको मल्लले बताए । घर नजिकैको विद्यालयमा शिक्षकसमेत रहेका मल्लले बिहानबेलुकाको समय सुन्तला बगैंचाको हेरचाहमा खर्च गर्ने गर्नुभएको छ । रोगको उपचार, बीऊ र सुन्तलाका लागि चाहिने सबै कुराको उनी आफैं व्यवस्थापन गर्छन् ।
    विगतमा गासबासको समस्यामा परेका उनले अहिले सुन्तला व्यवसायबाटै काठमाडौंसम्म छोराछोरीलाई पठनपाठन गराउन सजिलो भएको बताए । उनीमात्र हैन विगत ३५ वर्षदेखि सुन्तलाखेती गरिरहेका छिउडीपुसाकोटका टेकबहादुर खड्काले वार्षिक रु. २ लाखको सुन्ताला बिक्री गर्ने गरेको बताए ।
    हाल उनको बगंैचामा २०० सुन्तलाका बोटमा लटरम्म सुन्तला फलेका छन् । उत्पादनसंगै राम्रो मूल्य पाएपछि कृषक खुशी देखिएका छन् । दैलेखको दुल्लु क्षेत्रका गमौडी, कालभैरव, भैरीकालिकाथुम, छिउडीपुसाकोट र क्षेत्र नं. १ का लाँकुरी, अवलपराजुल लगायतका कृषकले विगत दसौं वर्षदेखि
सुन्तला उत्पादनलाई मुख्य पेसा बनाएका छन् ।
    गतवर्ष असिना र बगौचा व्यवस्थापन सुधार नभएकाले उत्पादन घटेको भएपनि यो वर्ष जिल्ला कृषि विकास कार्यालयले बगैंचा सुधारलाई महत्वका साथ हेरेको र असिना पनि नपरेका कारण १२ प्रतिशत सुन्तला उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ ।
    दैलेखमा उत्पादन गरिएको सुन्तला सदरमुकाम दैलेख बजार, सुर्खेत र नेपालगन्ज लगायतका बजारसम्म बिक्री हुने गर्दछ ।
 

No comments:

Post a Comment