‘चेतना र विकासका लागि सञ्चार’

सुर्खेतपत्र संवाददाता 
 सुर्खेत १ माघ ।
    नेपाली कांग्रेसका सहमहामन्त्री एवं सभासद पूर्णबहादुर खड्काले नेपालको विकास र जनताको चेतनाको स्तरलाई उठाउन संचार क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । रेडियो सुर्खेतको जर्वुटास्थित सिद्धापाइलामा स्थापना गरेको प्रसारण केन्द्रको बुधवार उद्घाटन गर्दै उनले संचारमाध्यमले नेपाली राजनीतिको ठूला परिवर्तनमा नेतृत्वदायी भूमिकासमेत निर्वाह गरेको जनाए ।
    पूर्व संचारमन्त्रीसमेत रहेका खड्काले स्थानीयस्तरमा संचालन भएका छापा तथा विद्युतीय माध्यमलाई टिकाउनका लागि ऐन कानुन संशोधन गरी समस्या समाधानको प्रयास गर्ने बताए ।         यस्तै उनले दलहरुको आपसी सहमतिको अभावका कारण पहिलो संविधानसभाले संविधान दिन नसकेपनि दोस्रो संविधानसभाले एक वर्षमा संविधान दिने जनाए । उनले नेपाली जनताले फेरि एक पटक राजनीतिक दलहरुलाई शंकाको घेरामा राखेर विश्वास गरेको उल्लेख गरे । संविधानसभा सदस्यहरुले व्यक्तिगत महत्वकांक्षा र दलीय संकीर्णतालाई बिर्सेर एक वर्षभित्र लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गर्नुपर्ने उनको भनाइ छ । पहिलो संविधासभामा राजनीतिक दलका विभिन्न अडान र विचारलाई समेत मूल्यांकन गरेर नेपाली जनताले नयाँ जिम्मेवारी दिएको उनले बताए । मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर सुर्खेतलाई संघीय राजधानी बनाउन सवै राजनीतिक दलहरुले प्रतिवद्ध भएको उनले बताए ।
    कार्यक्रममा पूर्व राज्यमन्त्री एवं सभासद खड्कबहादुर बस्यालले सवै राजनीतिक दलहरुले हातेमालो गरी संविधानसभाबाट जनताले चाहेको संविधान जारी गर्नुपर्ने बताए । उनले पहिलो संविधानसभाबाट संविधान वनाउन नसकेपनि दोस्रो संविधान सभाको निर्वाचनबाट दिएको मतलाई सम्मान गर्दै संविधान बनाउनुपर्ने जिकिर गरे । अर्का सभासद लालबहादुर घलेले संचारमाध्यमले जनताको मनोवललाई उच्च राख्न भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।
    रेडियो सुर्खेतका अध्यक्ष नारायणप्रसाद सापकोटको अध्यक्षतामा भएको कार्यक्रममा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दिपकराज जोशी, नेपाली कांग्रेस नगर सभापति देवकुमार सुवेदी, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, रेडियोका सचिव रामकृष्ण लामिछाने, कोषाध्यक्ष शम्भू पन्तलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
    रेडियो सुर्खेतले आफ्नो क्षमता विस्तार गरेपछि अव मध्य तथा सुदूरपश्चिमका १२  जिल्लाहरुमा रेडियो सुर्खेत एफएम सुन्न सकिनेछ ।
    २०६५ मंसिर १४ गतेदेखि प्रत्येक दिन विहान ५ वजेदेखि राती १० वजेसम्म सूचना, शिक्षा र मनोरञ्जनका
विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको रेडियो सुर्खेतले अवदेखि विहान ५ वजेदेखि राती ११ वजेसम्म दैनिक १८ घण्टा प्रसारण गर्ने भएको छ । रेडियो सुर्खेतले सिद्धापाइलमा राखेको प्रसारण केन्द्रबाट सुर्खेत, बाँके, वर्दिया, जाजरकोट, अछाम, कालिकोट, रुकुम, दाङलगायतका जिल्लाहरुमा सुन्न सकिने रेडियो सुर्खेतका अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।
 

No comments:

Post a Comment