अभिभावकबाटै बालिका र किशोरीप्रति भेदभाव

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, १ माघ ।
    बाँके जिल्ला इन्द्रपुर गाविसका मुस्लिम तथा मधेशी समुदायका अधिकांश बालिका किशोरी अवस्थामा पुग्नासाथ तिनका परिवारले विद्यालय जान रोक लगाउने गरेको पाइन्छ । किशोरीलाई विद्यालय नपठाउने प्रमुख कारणमध्ये त्यस गाउँका परिवारमा बाल्य तथा किशोरी अवस्थामा विवाह गरिदिने प्रचलन हो ।         नेपालगन्जस्थित फातिमा फाउन्डनेशन ले इन्द्रपुर गाविसका गरेको अध्ययन–अनुसन्धानले त्यस गाउँका ९० प्रतिशत भन्दा बढी बालिकाको १२ देखि १४ वर्षको उमेरमै विवाह भएको डरलाग्दो तथ्याङ्क प्रस्तुत गरेको छ । त्यस गाउँका ३० जना किशोरीमध्ये १५ ले अभिभावकले विद्यालय नपठाएको, आठले छात्रवृत्ति नपाएको, पााचले विद्यालयमा शौचालयको समुचित प्रबन्ध नभएको र दुई जनाले शिक्षिका नभएकाले विद्यालय जान नसकेको दु:खेसो पोखेका थिए ।
    करिब १० हजार जनसंख्या रहेको सो गाविसको तीन प्राथमिक, एक निम्नमाध्यमिक विद्यालय तथा तीनवटा मदरसामा हाल १ हजार ४ सय ७४ जना विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये छात्राको संख्या ७ सय १० जना रहेको देखाएपनि आधा छात्राले बीचमै अध्ययन छाडेको शिक्षकहरू बताउँछन् । किशोरीलाई विद्यालय नपठाउने अर्को कारण त्यस गाउँका अधिकांश परिवारको कमजोर आर्थिक अवस्था हुनु, विद्यालय तथा मदरसाको भौतिक पूर्वाधार जीर्ण हुनुपनि बालिका विद्यालय नआउनुको प्रमुख कारणमध्ये रहेको सरोकारवालाहरू बताउँछन् ।
    अर्कोतर्फ छोरीको बाल्य अवस्थामा विवाह गरिदिने, छोरी ठूली भइ भने बिग्रिन्छे, अर्काकी सम्पत्ति हो छोरीमा किन लगानी गर्ने भन्ने त्यस गाउँका अभिभावकको मान्यतालाई परिवर्तन नगर्दासम्म शिक्षा पाउने बालिकाको अधिकारलाई स्थापित गर्न ग्राहो हुने गरेको छ । यिनै कुरालाई दृष्टिगत गरी अहिले फातिमा फाउन्डेशनले सो गाविसका अभिभावक, शिक्षक, बालिका, नागरिक समाजका अगुवा, अधिकारकर्मी तथा सरोकारवाला निकायका पदाधिकारीलाई एकै थलोमा राखेर बालिका शिक्षाको विषयमा संवाद कार्यक्रम संचालनको अभियान नै थालेको छ ।
    अभियानले ती पक्षबीच साझा अवधारणा तयार गर्न मद्दत पुर्‍याउनुका साथै लैंगिक विभेदलाई दुरुत्साहन गर्न, माहिलामाथि कुनै पनि प्रकारको हिंसा नगर्न, विद्यालयमा बालमैत्रीपूर्ण व्यवहार गर्न, शिक्षा कार्यालयले प्रभावकारी अनुगमन तथा विद्यालयको सुधार गर्नेलगायत सातबुँदे साझा प्रतिबद्धतासमेत तय गरेको छ । फातिमा फाउन्डेसनका कार्यवाहक अध्यक्ष मैमुना सिद्धिकीका अनुसार संस्थाले हाल बाँके जिल्लाको परसपुर, जैसपुर, खजुराखुर्द, पुरैना, पुरैनी, उदयपुर, गनापुर, रझेना, कोहलपुर, मनिकापुर र नेपालगन्ज नगरको गोसाइागाउामा बालिका शिक्षा तथा घरेलु हिंसाविरुद्ध अभियान संचालन गर्दै आएको छ । 
 

No comments:

Post a Comment