सधैं औषधि आपूर्ति तर संस्थाहरु रित्तै

सुर्खेतपत्र संवाददाता 
मुगु, ७ फागुन ।
    जिल्ला स्वास्थ्य कार्यालय मुगु मातहत रहेका जिल्लाभरिका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव देखिएको छ । जिल्लाका लागि कार्यालयले वार्षिक रु. २० लाखको औषधि खरिद गर्ने गरिरहेको छभने मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले पनि लाखौं रकमको औषधि पठाउने गरेको छ । कार्यालय, विभागले समयसमयमा औषधि पठाउने गरेको भएपनि मुगु जिल्लाका दुई दर्जन बढी स्वास्थ्य संस्थामा औषधि नपुगेर सर्वसाधारणले स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय मुगुले भेक क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूका लागि थोरै मात्र औषधि पठाउने गरेका कारण औषधि स्वास्थ्य संस्थामा पुगेकै दिन सकिने गरेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा रहेको स्टोरमा के कति औषधि छ भन्ने जानकारी पाउन कठिन छ । स्टोर किपर धान्ने बुढा कार्यालयमा कहिलेकाहीं मात्र बिहानपख जाने गरेका कारण प्राय: जिल्ला स्वास्थ्य कार्यालयको औषधि स्टोर बन्द रहने गरेको कार्यालयले जनाएको छ ।
    स्वास्थ्य कार्यालय स्रोतका अनुसार जिल्ला स्वास्थ्य कार्यालयका अलावा सदरमुकाम गमगढीमा समेत गोप्यरूपमा अर्को छुट्टै स्टोर रहेको
छ । कार्यालयले आव २०६९/०७० मा खुल्ला सूचनाद्वारा अत्यावश्यक औषधि खरिद तथा ढुवानी गरेपनि आव २०७०/०७१ को औषधि सार्वजनिक सूचना नै नगरी कार्यालय प्रमुख र स्टोर किपरको मिलेमतोमा कागजात मात्र मिलाउने गरेकाले कार्यालय तथा मातहतका संस्थाहरूमा औषधि अभाव भएको हो ।
    जिल्लाभर रहेका दुई दर्जन बढी स्वास्थ्य संस्थामा औषधिको अभाव रहेपनि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाएको छैन । स्वास्थ्य संस्थाहरूमा औषधि नभएपछि त्यहाा कार्यरत स्वास्थ्यकर्मी स्वास्थ्य संस्था पनि जान छोडेका छन् । स्वास्थ्यचौकी नार्थपुमा कार्यरत अहेव मिहिन्द्र शाहीले भने, ‘स्वास्थ्य संस्थामा औषधि छैन, घाम ताप्न मात्र किन जानु ?’ त्यस्तै स्वास्थ्यचौकी
कच्चेका अनमि निर्मला बानियाँले पनि त्यस्तै अवस्था रहेको बताइन् । उनी भन्छिन्, ‘यता औषधि खोज्न धेरै मान्छे आउँछन्, औषधि छैन, कार्यालयले पठाउँदैन । हामीले के दिने ?’ एक त ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भइरहने र स्वास्थ्यकर्मी समेत गाउँमा नजाने कारणले ग्रामीण क्षेत्रका सर्वसाधारण सामान्य रुघाखोकी लाग्दापनि स्वास्थ्य सेवाबाट वञ्चित हुने गरेका छन् । स्वास्थ्य संस्थामा औषधि नभएको भन्दै स्वास्थ्यकर्मी आउँदैनन्, हामीलाई रुघा लाग्दा पनि एउटा गोली पाउन मुश्किल छ, जिमा गाविस–६ का टेकबहादुर विष्टले गुनासो गरे ।
    सदरमुकाम बाहिरका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको भनिएपनि ती स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले नै औषधि माग नगर्दा औषधि पठाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका स्टोरका लागि काजमा रहेका यमबहादुर मल्लको भनाइ छ । गएको पुस र मंसिरमा जिल्लाको सोरु भेकका फैलिएको रुघाखोकीको प्रकोप नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालय मुगुमा औषधि नभएको तथा स्टोरसमेत बन्द हुँदा गमगढीमा रहेका निजी मेडिकलबाट औषधि लिनुपरेको महामारी नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति जंगलाल बुढाले बताए । गमगढीमा रहेका मल्ल मेडिकल हल, चन्द्र मेडिकल हल, शिवशक्ति मेडिकल हल र रारा फार्मेसीबाट ठूलो परिमाणमा औषधि किनिएको थियो । स्टोरकिपर यमबहादुर मल्लले कार्यालयमा नभएको औषधि मात्र खरिद गरेको बताउँछन् । रारा फार्मेसीबाहेक अरु औषधि पसलका संचालकहरू जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी हुन् । 
 

No comments:

Post a Comment