‘माथिल्लो कर्णाली आफै बनाउन सक्छौं’

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ फागुन ।
    नेकपा–माओवादीका पोलिटव्युरो इन्चार्ज धर्मेन्द्र बास्तोलाले माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतलाई नदिएर आफै बनाउन सकिने दावी गरेका छन् । अहिलेसम्मकै सवैभन्दा सस्तो आयोजना मानिने उक्त आयोजना सरकारले पहल गरे नेपालीले नै बनाउन सक्ने उनले जिकिर गरे ।
    कर्णाली जलाधार संरक्षण समाज सुर्खेतले आयोजना गरेको नेपालको जलस्रोत विकासमा स्थानीय सरोकार विषयक कार्यक्रममा उनले भारतीय जीएमआर कम्पनीलाई नेपाल सरकारले राष्ट्रघात सम्झौता गरेर जिम्मा दिएकोले आफूहरुलाई त्यो अमान्य भएको अडान दोहोर्‍याए । उनले आयोजना बनाउन बजेट अभाव देखाउने सरकारले नेपालमा भित्रिने रेमिट्यान्सबाटै उक्त आयोजना बनाउन सकिने खुलासा गरे । उनले पछिल्लो समय माथिल्लो कर्णालीबाट ५ हजार ४०० मेगावाट विद्युत निकाल्न सकिने पत्ता लागेको र खर्च करिव ३०० अर्व लाग्ने हुँदा त्यो रकम नेपालबाटै उठ्ने बताए । अति सस्तो आयोजना नेपालीले नै बनाउन नसकेर हामीले भारतलाई दिनु भनेको लाचारीपन भएको उनको भनाइ छ । उक्त लगानी आयोजना बनेको तीन बर्षमै असुल गर्न सकिने उनले बताए ।
    भारत अहिले नेपालको प्राकृतिक सम्पदाहरुमाथि कव्जा गर्ने रणनीतिमा लागेको आरोप लगाउँदै नेता बास्तोलाले नेपालका २८ वटा आयोजनाहरुको निर्माण जिम्मा पनि भारतीयहरुलाई नै दिइएको उल्लेख गरे । अरुण–३, माथिल्लो कर्णाली, माथिल्लो मस्र्यांगदी, लिखु–४, मुगु कर्णाली, तिला–१, तिला–२, भेरी–१, भेरी–२, भेरी–३ लगायतका २८ वटा आयोजनाहरु भारतलाई दिइएको उल्लेख गर्दै उनले नेपालको प्राकृतिक सम्पदा विदेशीलाई सुम्पनु राष्ट्रघात भएको दावी गरे ।
    कर्णाली जलाधार संरक्षण समाजका अध्यक्ष चक्रपाणि शर्माले माथिल्लो कर्णाली आयोजना उपभोगमुखी नबनेसम्म, बराबर प्रतिफल नभएसम्म, जलाशययुक्त नबनाएसम्म कामै गर्न नदिने चेतावनी दिए । उनले नेपालको पानीबाट विजुली निकाल्ने तर १२ प्रतिशतमात्रै पाउने भनी प्रश्न गर्दै उनले कम्तीमा पनि बराबर हिस्सा पाउनुपर्ने माग गरे । माथिल्लो कर्णाली बनाउन भारतीय कम्पनी गुहार्नु नपर्ने बताउँदै उनले नेपालीले नै गराउन सक्ने जिकिर गरे । नेपालमा जलस्रोतको स्पष्ट नीति नहुँदा नेपाल पानीमा ठगिएको उनको भनाइ छ ।
    कार्यक्रममा अधिवक्ता एकराज भण्डारी, वाम बुद्धिजीवि देवेन्द्र विसी, नेकपा–माओवादीका भेरी कर्णाली इन्चार्ज मायाप्रसाद आचार्यले भारतले नेपालको प्राकृतिक सम्पदा एक–एक गरी लिन लागेकोले सम्पूर्ण नेपालीहरु राष्ट्रिय स्वाधिनताका लागि जाग्नुपर्नेमा जोड दिएका थिए । 
 

No comments:

Post a Comment