संघीय समाजवादीपनि फुटको संघारमा

सुर्खेतपत्र संवाददाता 
काठमाडौ, ८ फागुन ।
    संघीय समाजवादी पार्टी नेपालको नेतृत्व पंक्तिमा ‘टुटफुट’ को स्थिति देखिएको छ । संविधानसभामा प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेपछि एक–अर्कालाई दोष दिने क्रम बढिरहेकै बेला समानुपातिकबाट सभासद बन्न अध्यक्ष अशोक राई नै अघि सरेपछि असन्तुष्ट शीर्ष नेताहरु पार्टीमा पूर्ण: निष्क्रिय बनेका हुन् । संघीय समाजवादीले समानुपातिकमा ५ सिट पाएको छ ।
    स्रोतका अनुसार ‘तितरवितर हुने क्रममा’ निष्क्रिय मध्येका एक उपाध्यक्ष मोहम्मद रिजवान अन्सारी एमालेमै फर्कने तयारीमा छन् । अन्सारीका साथै अन्य उपाध्यक्ष गोपाल ठाकुर, विजय सुब्बालगायत नेताहरु फरक मत प्रस्तुत गर्दै पार्टी गतिविधिबाट निष्क्रिय भएका हुन् । पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले गत पुसमा संगठन विस्तार, जनजागरण तथा जनताको पक्षमा नयाा संविधान निर्माणका लागि ब्यापक जनदवाव सिर्जना गर्ने उद्देश्यसहित ‘पार्टी विस्तार तथा जनजागरण अभियान’ (वीज अभियान) को निर्णय गरेको थियो । तर तीनमहिने अभियान सुरु नहुँदै पार्टी नेतृत्वमा ‘टुटफुटको स्थिति’ आएको हो । ‘पार्टीको वीज अभियान चलिरहेको छ,’ अन्सारीले घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘तर म सक्रिय छैन । सन्चो नभएकाले आराममा छु ।’ उनी एमालेमै फर्किन लागेकोबारे संघीय समाजवादी र एमाले दुवै पार्टीमा चर्चा रहेको एक नेताले बताए ।
    उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख गोपाल ठाकुरले नेतृत्वपंक्तिको कार्यशैलीबाट दिकदार भएको
बताए । ‘म अब गुप्तवासतिर लागें,’ पार्टी अध्यक्षप्रति असन्तुष्ट उनले भने, ‘जुन उद्देश्यसहित पार्टी गठन भो, त्यसै अनुसारको नेतृत्व नै नरहेपछि जाँगर सेलाउँदोरहेछ ।’ अर्का उपाध्यक्ष विजय सुब्बाले ब्राह्मणवाद र उच्च जातीय अहंकारवाद विरुद्ध लड्न पार्टीको जन्म भएपनि स्थापनाकालदेखि नै प्रष्ट बोल्न र लेख्न नसकिएप्रति आफू असन्तुष्ट रहेको बताए । ‘साम्प्रदायिकताविरुद्ध जुध्ने पार्टीको गति धारिलो बन्न सकेन,’ पार्टी सामूहिक नेतृत्व भएर पनि प्रमुखले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै सुब्बाले भने, ‘तर अध्यक्षमै त्यो क्षमता रहेन । इस्युलाई बेलैमा पक्रिन नसकेको स्थितिले निराशा छाएको छ ।’
    ‘समानुपातिक सभासद बनेका अध्यक्ष राईले संविधानसभाको प्रारम्भिक चरणमै आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन नसकेको उपाध्यक्ष सुब्बाको गुनासो छ । ‘म यो किसिमको अयोग्यतामा रहिरहन सक्दिनँ,’ उनले भने, ‘यसरी संगै रहिरहनु समय खेर फाल्नु मात्र हो ।’ पार्टीको वीज अभियानमा गृह जिल्ला भोजपुरमा रहेका उपमहासचिव अजम्बर राई काङमाङले जीवन्त पार्टीभित्र वैचारिक मतान्तर भइरहने बताए । ‘सबै जीवन्त पार्टीमा यस्ता मतान्तर रहन्छ,’ विचार समूह स्थायी प्रकृतिको हुने उल्लेख गर्दै उनले टेलिफोनमा भने, ‘समाधान गर्नसकिने परिधिभित्र छ । हामी त्यसलाई समाधान गर्नसक्छौं ।’ महासचिव राजेन्द्र श्रेष्ठले भने पार्टीमा त्यस किसिमको मतान्तरको स्थिति नरहेको दाबी गरे ।
 

No comments:

Post a Comment