एमाओवादी सभासद्लाई १२ हजार लेवी

सुर्खेतपत्र संवाददाता 
काठमाडौं, ३ फागुन ।
    
एकीकृत नेकपा (माओवादी)ले प्रत्येक सभासद्बाट मासिक रु. १२ हजार मासिक लेवी उठाउने भएको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
    अघिल्लो संविधानसभामा एमाओवादीले प्रत्येक सभासद्बाट जनही रु. १० हजार लेवी लिने गरेको थियो । यस पटक जनही रु. २ हजार बढाइएको हो । गत माघमा सम्पन्न केन्द्रीय समितिको बैठकले सभासद्बाट जनही रु. १२ हजार लेवी उठाउने निर्णय गरेको थियो ।
    यसरी सभासद्बाट पार्टीले मासिक रु. ९ लाख ६० हजार रकम उठाउनेछ । यस्तै बैठकले संसदीय दलको विधान परिमार्जनको लागि सभासद् हितराज पाण्डेको संयोजकत्व मा एक कार्यदल र आचारसंहिता चयन गर्नका लागि सभासद् डोरप्रसाद उपाध्यायको संयोजकत्वमा अर्को कार्यदल गठन गरेको छ ।
    पाण्डेको संयोजकत्वमा गठित कार्यदलमा रेखा शर्मा, डिआर पौडेल र जाकिर हुसेन रहेका छन्भने उपाध्यायको संयोजकत्वमा गठित कार्यदलमा जेबी टुहुरे, सत्यनारायण भगत र सीता नेपाली रहेका छन् ।         यसैगरी संविधानसभा र व्यवस्थापिका संसद्मा गठन हुने विभिन्न समितिमा बस्न चाहने सभासद्हरूलाई फर्म भरेर ल्याउन समेत निर्देशन दिएको एमाओवादी नेता एवं सभासद् अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
    बैठकमा संसदीय दलका नेता पुष्पकमल दाहालले दलको उपनेतामा बस्न नेता डा. बाबुराम भट्टराईलाई आग्रह गरेपनि उनीले अस्वीकार गरेको बुझिएको छ । एमाओवादीले संसदीय दलको नेता चयन गरेपनि उपनेता, प्रमुख सचेतक, सचेतक लगायतको पदमा भने कोही पनि चयन भएका छैनन् । एमाओवादीको संसदीय दलमा कूल ८० सभासद् रहेका छन् ।
 

No comments:

Post a Comment