ओलीलाई फकाउने कांग्रेसको प्रयास असफल

सुर्खेतपत्र संवाददाता 
काठमाडौं, ३ फागुन ।
    नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गृहमन्त्रालयमा वामदेव गौतमको विकल्प खोज्न नसकिने प्रष्ट पारेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले वार्तामा बस्न गरेको आग्रह अस्वीकार गरेका ओलीलाई मनाउन शुक्रवार बालकोट पुगेका कांग्रेस नेता रित्तो हात लिएर फर्किएका छन् ।  कांग्रेस र एमालेका शीर्ष नेताबीच वार्ता गराउने प्रयास स्वरुप ओली निवास बालकोट पुगेका कांग्रेस नेता दीपकुमार उपाध्यायलाई ओलीले पूर्वसहमति कार्यान्वयन नभएसम्म वार्ता नगर्ने जवाफ दिएर फर्काएका हुन् ।
    विहीबार प्रधानमन्त्री कोइरालाले टेलिफोन गरेर ओलीलाई वार्तामा बस्न आग्रह गर्दा उनले अस्वीकार गरेपछि शुक्रवार प्रधानमन्त्रीको दुत बनेर उपाध्याय ओली निवास पुगेका थिए । स्रोतका अनुसार कांग्रेस नेता उपाध्याय गृहबाहेकको मन्त्रालय रोज्न वा गृह नभइ नहुने होभने उपाध्यक्ष वामदेव गौतमको विकल्प खोज्ने सहितको प्रस्ताव लिएर ओली निवास पुगेका थिए । ‘गृहमा विकल्प वा गृहको विकल्पबारे कुनै प्रस्ताव स्वीकार्य हुँदैन’ ओलीको भनाइ उदृत गर्दै एक नेताले भने, ‘गृह मन्त्रालय दिने र वामदेवले गृहमन्त्री बन्ने सहमति कार्यान्वयन नभएसम्म वार्ता हुँदैन ।’ एमाले सचिव विष्णु पौडेलले पनि पूर्वसहमति कार्यान्वयन नभएसम्म कांग्रेससंग वार्ता हुननसक्ने बताएका छन् ।
    ‘पूर्वहमति जे थियो, त्यो कार्यान्वयन नगरुन्जेल वार्तामा बस्दैनौं, यही कुरा लगिदिनु भनेर संसदीय दलका नेता केपी ओलीले कांग्रेसका प्रतिनिधिलाई भन्नुभएको छ’ पौडेलले भने । कांग्रेस नेता उपाध्यायले भने शीर्षनेताहरुबीच छलफल गराउने प्रयास जारी रहेको बताएका छन् । कांग्रेस वार्ताकार उपाध्यायले हालै दिएको अन्तर्वार्तामा एमालेलाई गृह दिने सहमति नभएको भन्दै एमाले उपाध्यक्ष वामदेव गौतमपछि हटे सहमति हुने दाबी गरेका थिए ।
    एमालेलाई गृह मन्त्रालय नदिन प्रधानमन्त्री सुशील कोइरालालाई पार्टीभित्रबाटै दबाव चर्को छ । एमालेलाई गृह दिएको अवस्थामा पनि वामदेव गौतम स्वीकार्य नहुने कांग्रेस नेताहरुले कोइरालालाई भेटेरै भनेका छन् ।
    विहीबार मात्रै जिल्ला सभापति समेत रहेका २५ सभासदले स्थानीय निकायको चुनावको मुखमा वामदेवलाई गृहमन्त्री नदिन दबाव दिएका थिए । कांग्रेसको संस्थापन पक्षकै नेताहरुले कुनै हालतमा एमालेलाई गृह नदिन पार्टी सभापतिसमेत रहेका कोइराला लाई दबाव दिएका छन् ।

No comments:

Post a Comment