१३ लाख गरीब घरपरिवारको तथ्यांक संकलन

सुर्खेतपत्र संवाददाता 
धनगढी, ३ फागुन । 
    गरिबी न्यूनीकरण गर्ने उद्देश्यले संचालन गरिएको गरीब घरपरिवार पहिचान कार्यक्रम कार्यान्वयनको सिलसिलामा देशभरिका २५ जिल्लामा १३ लाख घरपरिवारको तथ्यांक संकलन गरिएको छ । नेपाल सरकार ले गत वर्षदेखि संचालन गरेको यो कार्यक्रमको कार्यान्वयनको क्रममा पहिलो चरणमा बढी गरिबीको समस्या देखिएका कैलालीसहित देशभरका २५ जिल्लामा गरिबी तथ्यांक संकलन भइसकेकामा संकलित तथ्यांकलाई आधार मानेर वास्तविक गरीबको पहिचानका थप कार्यक्रमका साथै जिल्लास्तरमा गुनासो सुनुवाइलगायतका गतिविधि सुरु गरिएको यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
    गरीब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण जिल्लाका समस्या र समाधान विषयक उक्त गोष्ठीमा गरिबको वास्तविक तथ्यांक प्राप्त भएपछि उनीहरूलाई परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको गरीब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको सचिवालयका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए ।
    परिचयपत्र वितरणपछि गरीब घरपरिवारलाई विभिन्न सेवा सुविधाहरू उपलब्ध गराउने लक्ष्य सरकारको रहेको छ । यस क्रममा परिचयपत्र प्राप्त गरिबलाई कृषि, पशुपालन, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रममार्फत गरीबको गरिबी घटाउन प्रयाससमेत गरिने जनाइएको छ । गोष्ठीको शुभारम्भ गर्दै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव लालमणि जोशीले लक्ष्यमुखी कार्यक्रम कार्यान्वयनले मात्रै देशको गरिबी कम गर्न सकिने बताए ।
    अहिले सरकारका गरीब लक्ष्यित २ सय ९३ वटा कार्यक्रम तथा योजना संचालनमा रहेकामा यी कार्यक्रमलाई ‘लिक’ मा ल्याउने प्रयास मन्त्रालय अन्तर्गतको यो बोर्डले गरिरहेको जोशीले बताए । द्वन्द्वको प्रमुख कारणमा गरिबीलाई नै लिइने गरिएको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०११ को तथ्यांकका अनुसार नेपालमा २५ दशमलव २ प्रतिशत व्यक्ति गरिबीको रेखामुनी रहेका छन् ।
 
 

No comments:

Post a Comment